
काठमाडौं : नेपाल पत्रकार महासंघले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सञ्चारकर्मीका माग सम्बोधनको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति र मातहतका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला शाखाको आयोजनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चार जगतका अत्यावश्यक मागहरुको सम्बोधन, सञ्चारगृहहरुको सुरक्षा र नागरिक अधिकार रक्षा लागि भन्दै शनिबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम गर, समानुपातीक बिज्ञापन नीति तुरुन्त लागू गर, प्रेस स्वतन्त्रता कुनै सुविधा होइन, मौलिक अधिकार हो लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा महासंघका उपाध्यक्ष नितु पण्डितले सरकारले मिडियालाई प्रोत्साहन गर्नुको साटो अंकुश लगाउने काम गरेको आरोप लगाइन् ।
उनले समाचार लेखेकै आधारमा सञ्चारकर्मीलाई धम्की दिने र पक्राउ गर्ने कार्य स्वीकार्य नभएको बताइन् ।
सूचनाको पहुँचमा नियन्त्रण÷अंकुश लगाउनु र समाचार लेखेकै आधारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धम्की दिइनु र पक्राउ गरिनु स्वीकार्य नभएको उनको भनाइ छ ।
उनले मिडिया गृहको ढोकामै गाडी रोकेर सूचना र प्रेसमाथि अवरोधको घटनामा दोषीमाथि कुनै छानबिन र कारबाही नभएकोमा दुःखद भएको उल्लेख गरिन् ।