
रौतहट : जबर्जस्ती करणी र बालिकाको हत्या आरोपमा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजाय ठहर भई कारागारबाट फरार रहेका एक व्यक्तिलाई प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. ७ साविक बगही गाविस वडा नं. ६ बस्ने ३० वर्षीय प्रभु माझी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार माझीले विक्रम संवत् २०६८ साल फागुन २५ गते बेलुकी करिब ७ बजेको समयमा साविक बगही-६ स्थिति बीरेन्द्र चौधरीको पोखरीको डिलमा स्थानीय ५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरी हत्या गरेका थिए ।
उक्त बीभत्स अपराधको कसुरमा सम्मानित सर्वोच्च अदालतले उनलाई दोषी ठहर गर्दै २० वर्ष कैद सजायको फैसला सदर गरेको थियो । अदालतको फैसलापश्चात् माझी गौरस्थित कारागार कार्यालयमा सजाय भुक्तान गरिरहेका थिए ।
सजाय भुक्तानकै क्रममा माझी गत २०८२ साल भदौ २४ गते देशव्यापी रूपमा भएको जेन-जेड आन्दोलनको समयमा सिर्जित असहज परिस्थितिको फाइदा उठाउँदै गौर कारागारबाट फरार भएका थिए । त्यसयता उनी प्रहरीको आँखा छलेर लुकिछिपि बस्दै आएका थिए ।
फरार अभियुक्त माझीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले निरन्तर निगरानी र खोजतलास जारी राखेको थियो ।
गोप्य सूचनाको आधारमा टोलीले मिति २०८३ साल साउन ८ गते राति करिब ११:३० बजे कटहरिया नगरपालिका–७ बगही क्षेत्रबाटै माझीलाई घेराबन्दी गरी पुनः नियन्त्रणमा लिन सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार पक्राउ परेका माझीलाई बाँकी कैद भुक्तानका लागि पुनः कारागार कार्यालय गौरमा बुझाउने प्रक्रिया अगाडि बढाइसकिएको छ ।
गम्भीर प्रकृतिका अपराधमा अदालतबाट सजाय तोकिएका फरार अभियुक्तहरूलाई कानूनी दायरामा ल्याउने अभियानअन्तर्गत नै प्रहरीले माझीलाई सफलताका साथ पक्राउ गरेको हो, डीएसपी गौतमले बताए ।