२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी

Nada
२०८३ साउन ६ गते १५:१८
Shares
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी

काठमाडौँ : दाइजो प्रथा अन्त्यका लागि देशव्यापी जनचेतनामूलक अभियान सञ्चालन गर्ने विषयमा महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीबीच छलफल भएको छ ।

ncell

मन्त्रालयमा भएको भेटवार्तामा दाइजो प्रथाविरुद्धको अभियान मधेश प्रदेशबाट सुरु गरी क्रमशः देशभर विस्तार गर्ने विषयमा छलफल भएको हो । अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, शैक्षिक संस्था, समुदाय, सामाजिक तथा धार्मिक अगुवा, युवा, महिला समूह र नागरिक समाजलाई सहभागी गराउने विषयमा समेत विचार विमर्श भएको जनाइएको छ ।

छलफलका क्रममा दाइजो प्रथा महिला हिंसा, लैंगीक असमानता र सामाजिक विभेदसँग जोडिएको समस्या भएकाले यसको नियन्त्रणका लागि कानुनी व्यवस्था कार्यान्वयनसँगै व्यापक सामाजिक जागरण आवश्यक रहेकोमा जोड दिइएको छ ।

मन्त्री सिता बादीले दाइजो प्रथाको अन्त्य कानुनी प्रयासले मात्र सम्भव नहुने भन्दै सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउने अभियान आवश्यक रहेको बताइन् । उनले राज्यका निकाय, स्थानीय तह, शैक्षिक संस्था, सञ्चारमाध्यम, नागरिक समाज र समुदायबीच सहकार्यबाट मात्रै दिगो सुधार सम्भव हुने धारणा व्यक्त गरिन् ।

उनले कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमलाई सँगसँगै अघि बढाउनुपर्ने बताइन् ।

उपसभामुख रुबी कुमारीले मधेश प्रदेशबाट सुरु गरिने अभियानले दाइजोविरुद्ध राष्ट्रियस्तरमा प्रभावकारी सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिन्। उनले दाइजोमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताइन् ।

ताजा खबर

सम्बन्धित खबर