२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

Nada
२०८३ साउन ६ गते १३:५३
Shares
विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं : विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् । 

ncell

बुधबार विपक्षी दलहरुले सरकारको मनसुनजन्य विपद् व्यवस्थापन पूर्वतयारी कमजोर रहेको आरोप लगाउँदै प्रस्ताव दर्ता गराएका हुन् । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रुपमा प्रस्ताव दर्ता गराएका हुन् ।

सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेसँगै सञ्चारकर्मीहरुसँग बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक पदमबहादुर परियारले मनसुन शुरु भइसक्दासमेत सरकारले प्रभावकारी पूर्वतयारी गर्न नसकेको आरोप लगाए ।

उनले गत वर्ष मनसुनका कारण १ सय ४० भन्दा बढी नागरिकको ज्यान गएको र १४ हजारभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै यस्ता घटनाबाट हरेक वर्ष ठुलो जनधनको क्षति हुने गरेको बताए ।

हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समेत नेतृत्वविहीन रहेको उल्लेख गर्दै उनले विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने आशंका व्यक्त गरे । 

नेपाली कम्युनिस्ट पार्टीकी प्रमुख सचेतक मदनकुमारी शाहले जलवायु परिवर्तनका कारण यसवर्ष मनसुनबाट हुने क्षतिको जोखिम थप बढेको बताइन् । सरकारले राष्ट्रिय कार्ययोजना बनाएपनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको उनको भनाइ छ । उनले सरकारलाई जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गरिएको जानकारी दिइन् ।

उनले पनि विपद् व्यवस्थापनको नेतृत्व गर्ने संस्था हाल नेतृत्वविहीन रहेकोले पनि मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी फितलो हुन पुगेको बताइन् ।

नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले बाढीपहिरोको जोखिम बढ्दै गइरहेका बेला सरकारको तयारी पर्याप्त हुनुपर्नेमा जोड दिए । तर हाल सरकारको तयारी कमजोर रहेको उनको भनाइ छ । उनले मनसुनजन्य जोखिमहरु भदौमा बढी हुने गरेको उल्लेख गर्दै विपद् पूर्वतयारीका विषयमा सरकारको ध्यानाकर्षण गराउन सबै दलको तर्फबाट प्रस्ताव दर्ता गरिएको बताए ।

उनले देशका सबै भू–भागमा सम्भावित विपद्को समान रूपमा पूर्वतयारी, उद्धार र राहत व्यवस्थापन गर्न सरकारलाई आग्रह गरे । उनले काठमाडौंबाट हटाइएका भूमिहीन सुकुम्बासीहरू अहिले होल्डिङ सेन्टरमा बसिरहेकाले मनसुनका बेला उनीहरूको सुरक्षा सुनिश्चित गर्ने योजना पनि सरकारले ल्याउनुपर्ने बताए ।

नेपाली कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गरेको सार्वजानिक महत्वको प्रस्तावमा कांग्रेसकै प्रमुख सचेतक परियार, नेकपाकी प्रमुख सचेतक शाह, एमाले सांसद पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले सर्मथन गरेका हुन् ।

प्रस्तावमा मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढिरहेको र विगतका विपद्मा ठूलो जनधनको क्षति भएको तथ्यांक प्रस्तुत गरिएको छ । सरकारले हरेक वर्ष विपद् आएपछि मात्र उद्धार र राहतमा ध्यान दिने गरेको भन्दै विपक्षी दलहरुले समयमा नै पूर्वतयारी गर्न माग गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर