
काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामस्थित जानकी मन्दिर भ्रमणका क्रममा मंगलबार तनाव उत्पन्न भएको छ । हिन्दु सम्राट सेनाको विरोधपछि मन्दिर परिसरमा साम्पाङ समर्थक र विरोधी समूहबीच धकेलाधकेलको अवस्था सिर्जना भएपछि प्रहरीले सुरक्षा संवेदनशीलता देखाउँदै साम्पाङलाई मन्दिर प्रवेश गर्न दिएन ।
साम्पाङ जनकपुरमा आयोजित श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पुगेका थिए । कार्यक्रमअघि जानकी मन्दिर दर्शन गर्ने उनको कार्यतालिका थियो । तर उनी मन्दिर पुग्नुअघि नै स्वागतका लागि पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका थिए । त्यसपछि मन्दिर परिसरमा दुवै पक्षबीच तनाव बढेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सम्भावित झडप हुन सक्ने अवस्था देखिएपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै साम्पाङलाई मन्दिरभित्र प्रवेश गर्न रोकिएको हो । प्रहरीले दुवै पक्षलाई संयमित बनाउँदै स्थिति नियन्त्रणमा लिएको जनाएको छ । घटनापछि केहीबेर मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
हिन्दु सम्राट सेनाले साम्पाङले विगतमा गाई काटेर खानुपर्ने अभिव्यक्ति दिएको र आफूलाई 'क्रिश्चियन धर्मको प्रचारक'को रूपमा प्रस्तुत गरेको आरोप लगाउँदै उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने निर्णय यसअघि नै सार्वजनिक गरेको थियो । सोही निर्णयअनुसार बिहानैदेखि मन्दिर क्षेत्रमा विरोध प्रदर्शन गरिएको थियो ।
घटनापछि साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाएका छन् । उनले, 'गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें । यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ? जय जानकी मन्दिर !' भन्दै टिप्पणी गरेका छन् ।
यसअघि अर्को फेसबुक स्टाटसमा उनले 'जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ !' भनेर लेख्दै घटनाप्रति असन्तुष्टि व्यक्त गरेका थिए । उनले पुराना अभिव्यक्ति र धर्मको विषयलाई लिएर विवाद सिर्जना गरिएको आरोप लगाउँदै आफ्ना समर्थकलाई संयमित रहनसमेत आग्रह गरेका छन् ।