
काठमाडौं : रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
गाउँपालिकाको वडा नं. ३ मत्सरीमा वृद्ध भत्ता, दलित तथा विधवा भत्ता वितरणका क्रममा व्यापक अनियमितता भएको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा सार्वजनिक सम्पत्तिको बदनियतपूर्ण ढंगले हिनामिना गरेको पुष्टि भएपछि मुद्दा चलाइएको आयोगले जनाएको छ [२] ।
३२ लाखभन्दा बढीको बिगो दाबी अख्तियारका अनुसार वडा अध्यक्ष धर्मेन्द्र कुमार झा र वडा सचिव उमेश चौधरीले आपसी मिलोमतोमा ३२ लाख २४ हजार १ रुपैयाँ हिनामिना गरेको पाइएको छ । सोही रकम बराबरको बिगो कायम गरी उनीहरूविरुद्ध कैद र जरिवानाको मागदाबी गरिएको छ । यस्तै, गाउँपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोद कुमार ठाकुरविरुद्ध २९ लाख ४४ हजार १ रुपैयाँ बिगो कायम गरिएको छ ।
अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७४/०७५ देखि २०८१/०८२ सम्म गैरकानुनी ढंगले भत्ता वितरण गरिएको पाइएको छ । योग्यता नपुगेका व्यक्तिहरूलाई सरकारी अभिलेखमा लाभग्राहीका रूपमा समावेश गर्ने गरिएको, श्रीमान् जीवितै रहेका महिलाहरूलाई समेत एकल महिला/विधवा भत्ता खुवाउने गरिएको, एउटै व्यक्तिको औंठा छाप विभिन्न लाभग्राहीको भरपाईमा प्रयोग गरी रकम निकासा गरिएको, बैंक प्रणाली लागू भएपछि पनि झुट्टा विवरणका आधारमा परिचयपत्र जारी गरी भत्ता दिने गरिएको तथा व्यवस्थापन सूचना प्रणालीमा झुटा विवरण प्रविष्ट र अद्यावधिक गरी सरकारी रकमको दुरुपयोग गरिएको अख्तियारको दाबी छ ।
अख्तियारले सरकारी कर्मचारीका अतिरिक्त गैरकानुनी रूपमा भत्ता बुझ्ने दर्जनौं व्यक्तिहरूलाई पनि प्रतिवादी बनाएको छ । कतिपय प्रतिवादीहरूको मृत्यु भइसकेको अवस्थामा उनीहरूका हकवालाहरूबाट बिगो असुल उपर गर्नका लागि समेत मागदाबी गरिएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफाअनुसार सजाय र बिगो असुलको माग गर्दै आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।