२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

मेजर शान्ति मोक्तान लामा : साहस, नेतृत्व र प्रेरणाको प्रतीक

Nada
राजकुमार भुजेल
२०८३ साउन ४ गते १४:१८
Shares
मेजर शान्ति मोक्तान लामा : साहस, नेतृत्व र प्रेरणाको प्रतीक

काठमाडौं : नेपाली सेनाको इतिहासमा पहिलो तामाङ महिला अधिकृत बन्न सफल मेजर शान्ति मोक्तान लामाले साहस, नेतृत्व र समर्पणमार्फत महिला सशक्तीकरणको प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन् ।

ncell

नेपालको करिब ५.६ प्रतिशत जनसंख्या ओगटेको तामाङ समुदायबाट शिक्षा, रोजगारी र नेतृत्वका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने महिलामध्ये मेजर लामा अग्रपंक्तिमा रहेकी छन् । उनको सफलता तामाङ समुदायका महिलाका लागि मात्र नभई सम्पूर्ण नेपाली महिलाका लागि प्रेरणाको स्रोत बनेको छ ।

मेजर लामाले सन् २००६ मा नेपाली सेनाको महिला पैदल सेना सेवामार्फत सैनिक जीवन सुरु गरेकी थिइन् । अनुशासन, लगनशीलता र नेतृत्व क्षमताका कारण उनी छोटो समयमै सेनाभित्र विशिष्ट पहिचान बनाउन सफल भइन् ।

सैनिक सेवासँगै उनी नेपाली सेनाको सञ्चार क्षेत्रमा योगदान पुर्‍याउने पहिलो महिला अधिकृतमध्ये पनि पर्छिन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै उनले व्यावसायिक दक्षताको परिचय दिएकी छन् ।

सन् २०१४ तथा २०१८–२०१९ मा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत रहँदा उनले नागरिक सुरक्षा, गस्ती परिचालन, महिला समन्वय तथा लजिस्टिक व्यवस्थापनजस्ता महत्वपूर्ण जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेकी थिइन् ।

त्यसैगरी, वुमन, पिस एन्ड सेक्युरिटी, चाइल्ड प्रोटेक्सन तथा महिला नेतृत्व विकाससँग सम्बन्धित कार्यक्रमहरूमा पनि उनको उल्लेखनीय योगदान रहेको छ । फिमेल फोकल पोइन्ट अफिसरका रूपमा कार्य गर्दै उनले महिला सहभागिता, सुरक्षा र नेतृत्व प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

मेजर शान्ति मोक्तान लामाको सफल यात्राले तामाङ समुदायमा महिला सशक्तीकरणको सकारात्मक सन्देश प्रवाह गरेको छ । उनकै प्रेरणाबाट उनकी बहिनी शिचान मोक्तान पनि नेपाली सेनामा मेजर पदमा कार्यरत छिन् । पछिल्ला वर्षहरूमा नेपाली सेनाको अधिकृत तहमा तामाङ महिला अधिकृतहरूको बढ्दो सहभागिताले समुदायमा महिलाको नेतृत्व र अवसर विस्तार हुँदै गएको संकेत गरेको छ ।

समर्पण, व्यावसायिक दक्षता र उल्लेखनीय उपलब्धिका कारण मेजर शान्ति मोक्तान लामा आज तामाङ समुदाय मात्र होइन, सम्पूर्ण नेपाली महिलाका लागि साहस, नेतृत्व र प्रेरणाको प्रतीकका रूपमा स्थापित भएकी छन् ।

ताजा खबर

सम्बन्धित खबर