
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सडक र संसद् दुवै क्षेत्रलाई संघर्षका प्रमुख माध्यमका रूपमा प्रयोग गर्ने बताएका छन् ।
आइतबार एमालेका सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै ओलीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टीले दुवै मोर्चालाई प्रभावकारी बनाउँदै अघि बढ्ने चेतावनी दिएका हुन् ।
उनले एमाले अहिले दुई प्रकारका राजनीतिक संघर्षमा रहेको उल्लेख गर्दै सडक स्तरको गतिविधि र संसदीय भूमिकालाई एक अर्कासँग जोडेर अघि बढाउनुपर्ने बताए । सडक संघर्षका क्रममा केही कमजोरी देखिएको स्वीकार गर्दै उनले धक्काले कुनै पनि पक्षको मनोबलमा असर पर्न सक्ने भए पनि त्यसबाट पुनः सक्रिय भएर अघि बढ्नुपर्ने धारणा राखे ।
ओलीले सडक आन्दोलन र संसद्भित्रको भूमिका एक अर्काका सहयोगी माध्यम भएको उल्लेख गरे । उनका अनुसार दुवै क्षेत्रलाई सुदृढ बनाउँदै पार्टीले आफ्नो राजनीतिक गतिविधि विस्तार गर्नेछ ।
अध्यक्ष ओलीले मुलुकको पछिल्लो राजनीति स्पष्ट नीति, दिशा र प्रणालीको अभावमा अघि बढिरहेको टिप्पणी गरे । उनले एमालेले संघर्षमार्फत राजनीतिक अवस्थालाई सही दिशामा ल्याउने दाबी गरे ।
उनले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संविधान र कानुनले निर्धारण गरेका संसदीय प्रक्रिया रहेको उल्लेख गर्दै हिंसा, तोडफोड, आगजनी, बल प्रयोग वा जबरजस्तीका माध्यम स्वीकार्य नहुने बताए ।
वर्तमान सत्ता परिवर्तनको प्रक्रियामाथि प्रश्न उठाउँदै ओलीले राजनीतिक वातावरणमा अराजकता बढेको दाबी गरे ।