२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

गर्मीसँग खेलाँची नगर्ने कि !

Nada
शुक्रऋषि चौलागाईं
२०८३ जेठ २८ गते ०७:३३
Shares
गर्मीसँग खेलाँची नगर्ने कि !

केही दिनअघि टिकापुरमा नियमित दौडका क्रममा सातजना सशस्त्र प्रहरी जवान अचानक बेहोस भए । गर्मीकै कारण बेहोस भएको घटनाले सबैलाई आश्चर्य र चिन्तित मात्र तुल्याएन, सतर्कता अपनाउन समेत झकझक्यायो । अत्यधिक गर्मीका कारण उनीहरूलाई ‘हिट स्ट्रोक’ भएको बताइयो । शरीरको तापक्रम अत्यधिक बढेर अंगहरूले सामान्य रूपमा काम गर्न नसक्ने अवस्थालाई हिट स्ट्रोक भनिन्छ । उनीहरूको टिकापुर अस्पतालमा उपचार सम्भव नदेखिएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौं पु¥याइयो । यो घटना केवल एउटा समाचार मात्र होइन, बढ्दो गर्मीले मानव जीवनमा पारिरहेको गम्भीर प्रभावको संकेत पनि हो ।

ncell

वैज्ञानिक अध्ययनहरूका अनुसार नेपालको औसत तापक्रम विश्वव्यापी औसतभन्दा झन्डै दोब्बर गतिमा बढिरहेको छ । यसको असर सबैभन्दा बढी तराई क्षेत्रमा देखिएको छ । यतिबेला नेपालगन्ज, धनगढी, भैरहवा, वीरगन्ज र जनकपुरलगायत सहरमा गर्मी बढ्दो छ । कालोपत्रे सडक, भवन र सवारीसाधनको अत्यधिक प्रयोगले पनि सहरलाई थप तातो बनाइरहेको छ । दिउँसो तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेको छ । गर्मीको अवधि र प्रभाव दुवै बढिरहेका छन् । गर्मी सुरु हुने समय चाँडो र अन्त्य हुने समय ढिलो बन्दै गएको छ । गर्मी बढेसँगै तातो र सुक्खा हावा चलिरहेको छ, जसलाई ‘लु’ पनि भनिन्छ । गर्मीले सबै क्षेत्रलाई नराम्ररी प्रभावित पारेको छ तर सबैभन्दा बढी असर मानव स्वास्थ्यमा देखिन थालेको छ ।

‘लु’ र स्वास्थ्य
अत्यधिक गर्मी र ‘लु’ ठुलो चुनौतीका रूपमा देखापरेको छ । जलवायु परिवर्तनको प्रभावसँगै ‘लु’को अवधि, तीव्रता र असर बढ्दो छ । ‘लु’ जनस्वास्थ्यका लागि गम्भीर चुनौती हो । अत्यधिक तापक्रमले मानव शरीरमा प्रत्यक्ष असर पार्न थालेको छ । शरीरले पसिनामार्फत धेरै पानी गुमाउँदा डिहाइड्रेसन हुन्छ, जसले मानिसलाई कमजोर, थकित र अस्वस्थ बनाउँछ । ‘लु’ लागेका व्यक्तिमा टाउको दुख्ने, चक्कर लाग्ने, आँखा पोल्ने, बान्ता हुने, अत्यधिक पसिना आउने तथा शरीर कमजोर हुनेजस्ता लक्षण देखिन्छन् । गर्मीकै कारण शरीरमा घमौरा आउने, फुड प्वाइजनिङ हुने, आँखामा एलर्जी तथा संक्रमण देखिने जोखिम उच्च रहने भएकाले आवश्यक सावधानी अपनाउन पनि चिकित्सकले सुझाएका छन् । 

जनस्वास्थ्यविद्का अनुसार गर्मीका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, दीर्घरोगी तथा बाहिर काम गर्ने मजदुरहरू सबैभन्दा बढी जोखिममा छन् । दैनिक ज्यालादारी गर्ने मजदुरहरू लामो समय घाममा काम गर्नुपर्ने भएकाले उनीहरूमा ‘लु’ लाग्ने सम्भावना बढी हुन्छ । गर्मी बढेसँगै अन्य रोगहरूको जोखिम पनि बढ्ने गरेको छ । दूषित पानीका कारण डायरिया, हैजा जस्ता पानीजन्य रोग फैलिन सक्छन् भने तापक्रम वृद्धि र लामखुट्टेको संख्या बढ्दा डेंगु तथा मलेरिया जस्ता रोगको खतरा पनि बढ्ने सम्भावना रहन्छ ।

बढ्दो गर्मीले शिक्षा, कृषि र अर्थतन्त्रमा समेत असर पारिरहेको छ । विद्यालयहरूमा अत्यधिक गर्मीका कारण पढाइ प्रभावित भइरहेको छ भने खेतबारीमा उत्पादन घट्ने समस्या बढ्दो छ । दैनिक ज्यालादारी मजदुरहरू दिउँसो काम गर्न नसक्दा आम्दानीमा समेत असर परेको छ । साथै, बिजुली र खानेपानीको माग अत्यधिक बढ्न थालेको छ ।

शिक्षा, कृषि र अर्थतन्त्रमा असर
बढ्दो गर्मीले केवल स्वास्थ्यलाई मात्र होइन, अन्य क्षेत्रलाई पनि असर गरिरहेको छ । विद्यालयहरूमा अत्यधिक गर्मीका कारण पढाइ प्रभावित भइरहेको छ । धेरै विद्यालयले गर्मी बिदा थप गर्न थालेका छन् । तराईका अधिकांश विद्यालयमा टिनको छाना छन्, जसका कारण पनि विद्यार्थीलाई गर्मीले थप सकसपूर्ण बनाइरहेको छ । कतिपय कक्षाकोठामा पंखा छैन, भए पनि राम्ररी चल्दैन । अन्य शीतलताको पर्याप्त व्यवस्था छैन, तसर्थ पनि विद्यार्थीलाई अध्ययन गर्न कठिन भइरहेको छ । विशेषगरी साना बालबालिकामा गर्मीको असर चाँडै देखिन्छ ।
कृषि क्षेत्रमा पनि ‘लु’ले ठुलो समस्या निम्त्याइरहेको छ । धान, मकै, गहुँलगायतका बालीमा अत्यधिक तापक्रमले नकारात्मक असर पार्छ । माटोमा चिस्यान कम हुँदा उत्पादन घट्छ । पशुपालनमा पनि असर देखिन्छ । अत्यधिक गर्मीका कारण पशुहरू बिरामी पर्ने, दूध उत्पादन घट्नेजस्ता समस्या बढिरहेका छन् । दैनिक ज्यालादारी गरेर जीवन चलाउने मानिसहरूको अवस्था झन् कठिन बन्दै गएको छ । कतिपय क्षेत्रमा खानेपानीको अभावसमेत हुन थालेको छ ।

नेपालगन्जमा बढ्दो जोखिम
नेपालगन्ज अत्यधिक गर्मी हुने क्षेत्रका रूपमा परिचित छ । केही वर्षअघि मे महिनामा यहाँको तापक्रम ४४.२ डिग्री सेल्सियससम्म पुगेको रेकर्ड गरिएको थियो । यो तापक्रम केवल एउटा तथ्य मात्र होइन, यहाँको जनजीवनमा आएको संकटको संकेत पनि हो । यसपालि पनि गर्मी चुलिँदो छ । गर्मीकै कारण मानिस दिउँसो घरभित्र बस्न बाध्य भएका छन् । बजार क्षेत्र र सडकसमेत सुनसान बन्न थालेका छन् । विद्यालयहरू प्रभावित भएका छन् । अस्पतालमा गर्मीजन्य बिरामीको संख्या बढ्न थालेको छ । विशेषज्ञहरूका अनुसार आगामी वर्षहरूमा नेपालगन्जमा अत्यधिक गर्मी हुने दिनहरूको संख्या अझ बढ्ने सम्भावना छ । अहिले वर्षमा करिब ३६ दिन अत्यधिक गर्मी हुने अनुमान गरिए पनि आगामी दशकहरूमा यो संख्या ६० देखि ६८ दिनसम्म पुग्न सक्ने चेतावनी दिइएको छ । नेपालगन्जमा भएका तालतलैया र पानीका स्रोत अतिक्रमित र सुक्दै गइरहेको अवस्था छ । समयमै आवश्यक तयारी र व्यवस्थापन गर्न नसकिए यसले गम्भीर जनस्वास्थ्य संकट निम्त्याउन सक्छ ।

बढ्दो गर्मीसँगै विद्युत् र खानेपानीको माग पनि तीव्र रूपमा बढिरहेको छ । गर्मी बढ्दा विद्युत् अनियमित र लो भोल्टेजको समस्या पनि चुलिएको छ । एयर कन्डिसनर, पंखा, कुलर तथा अन्य विद्युतीय उपकरणको प्रयोग बढेको छ । अत्यधिक लोडका कारण विद्युत् आपूर्तिमा समस्या आउन थालेको छ । विशेषगरी दिउँसो र साँझको समयमा विद्युत् माग अत्यधिक बढ्ने भएकाले ट्रान्सफर्मर ओभरलोड हुने, लाइन ट्रिपिङ हुने तथा केही क्षेत्रमा विद्युत् अवरोधको समस्या देखिन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार अत्यधिक गर्मीका बेला विद्युत् माग उल्लेखनीय रूपमा बढ्ने गरेको छ र पुराना प्रसारण लाइन तथा वितरण प्रणालीले सबै भार धान्न कठिन हुने अवस्था सिर्जना हुन्छ । 
अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि अस्पतालहरूले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारेका छन् । गर्मीका कारण ‘हिट स्ट्रोक’ हुने जोखिम बढेपछि भेरी अस्पतालले इमरजेन्सी म्यानेजमेन्ट टिमलाई ‘हाई अलर्ट’मा राखेको छ । गर्मी बढेपछि कोहलपुरस्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमै एसी जडान गरिएको छ । तातो हावाको लहर (लु)को प्रभावबाट बचाउन नेपालगन्ज बसपार्कभित्र कुलिङ सेन्टर स्थापना गरिएको थियो, तर त्यसको पर्याप्त सदुपयोग हुन सकिरहेको छैन । गर्मी छल्न मानिसहरू स्विमिङ पुल र वाटर पार्कतिर धाउन थालेका छन् । पानीको अभाव हुन थालेपछि नेपालगन्जका केही युवाहरूले चरा–चुरुंगीलाई पानी व्यवस्थापन अभियान सुरु गरेका छन् ।

सावधानी र समाधान
गर्मी न्यूनीकरण गर्न त्यति सहज छैन, त्यसमाथि एकल प्रयासले झन् सम्भव छैन । ‘लु’को प्रभाव न्यूनीकरण गर्न र सजगता अपनाउन भने सकिन्छ । लु न्यूनीकरण गर्न व्यक्तिगत, सामुदायिक र सरकारी तहबाट संयुक्त प्रयास आवश्यक छ ।

व्यक्तिगत रूपमा मध्यदिउँसो अनावश्यक बाहिर ननिस्कने, प्रशस्त पानी पिउने, हल्का, खुकुलो र फिक्का रङका कपडा लगाउने, बाहिर निस्कँदा छाता, टोपी वा सनग्लास प्रयोग गर्ने, बासी वा खुला ठाउँमा राखिएको खाना नखाने, फलफूल र ताजा खाना बढी खाने, प्रशस्त पानी तथा झोलिलो पदार्थ पिउने, अत्यधिक गर्मी महसुस भए तुरुन्त छाया वा चिसो ठाउँमा आराम गर्ने आदि उपाय अवलम्बन गर्न सकिन्छ ।

मदिरा र धूम्रपानबाट टाढा रहने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्ने । यदि कसैलाई अत्यधिक कमजोरी, चक्कर वा बेहोस हुने समस्या देखिएमा तुरुन्त स्वास्थ्य संस्था जाने या लैजाने व्यवस्था मिलाइनुपर्छ । समुदायस्तरमा बिरुवा रोप्ने, हरियाली बढाउने, सार्वजनिक स्थल या भिडभाड हुने स्थानमा फ्यान राख्ने, चिसो खानेपानीको व्यवस्था गरिदिने आदि गर्न सकिन्छ । यस्तै, स्थानीय क्लब, विद्यालय र संघसंस्थाले जनचेतना अभियान सञ्चालन गर्नुपर्छ ।

स्थानीय सरकारको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । मौसम पूर्वानुमान र चेतावनी प्रणाली मजबुत बनाउनुपर्छ । अस्पतालहरूलाई आवश्यक औषधि र उपचार तयारीसहित सक्षम बनाइनुपर्छ । सहर विकास गर्दा हरित क्षेत्र र खुला स्थानलाई प्राथमिकता दिनुपर्छ । सुरक्षित खानेपानीको पहुँच विस्तार गर्नुपर्छ । बढ्दो गर्मीको वास्तविक समाधान जलवायु परिवर्तन न्यूनीकरणसँग जोडिएको छ । नेपालले पनि दिगो विकास, वन संरक्षण, स्वच्छ ऊर्जा प्रयोग र वातावरणमैत्री नीतिलाई प्राथमिकता दिन आवश्यक छ । वृक्षारोपण, सार्वजनिक यातायातको विकास, प्रदूषण नियन्त्रण तथा हरित सहर निर्माण दीर्घकालीन समाधानका महत्वपूर्ण आधार हुन् ।

नेपालमा तातो हावाको लहर क्रमशः बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । साथै, स्वास्थ्य जोखिम गम्भीर बन्दै गएको पनि निष्कर्ष निकालेको छ । अध्ययनअनुसार जलवायु परिवर्तन, तीव्र सहरीकरण र वायु प्रदूषण मुख्य कारण हुन् । तसर्थ अब समस्या बुझ्नु मात्र होइन, तत्काल व्यावहारिक कदम चाल्न पनि जरुरी छ ।

निष्कर्ष
बढ्दो गर्मी अब केवल मौसमको समस्या मात्र होइन, यो जनस्वास्थ्य, अर्थतन्त्र, कृषि, विकास र भविष्यसँग जोडिएको गम्भीर संकट पनि हो । नेपालगन्जजस्ता तराईका सहरहरू अहिले बढ्दो गर्मीको मारमा छन् । सचेतना, पूर्वतयारी, स्वास्थ्य सुरक्षा र वातावरण संरक्षणलाई प्राथमिकता दिन सके मात्र ‘लु’को प्रभाव कम गर्न सकिन्छ । यस समस्यासँग जुध्न सरकार, स्थानीय तह, समुदाय र नागरिक सबैको साझा प्रयास आवश्यक छ । यदि समयमै प्रभावकारी कदम चालिएन भने अवस्था अझै भयावह बन्न सक्छ । गर्मीलाई सामान्य मौसमी समस्या ठानेर बेवास्ता गरिनु हुँदैन । गर्मीलाई भविष्यको ठुलो चुनौतीका रूपमा स्वीकार गर्दै जिम्मेवार ढंगले समाधानतर्फ अघि बढ्नु नै अहिलेको प्रमुख आवश्यकता हो ।

uae

सम्बन्धित खबर