२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

भूमि प्रदूषण : चुनौती र समाधान

Nada
गम्भीरबहादुर हाडा
२०८३ जेठ २५ गते ०६:०५
Shares
भूमि प्रदूषण : चुनौती र समाधान

क्षमताअनुसार जमिनको उपयोग गर्न सकिएमा उत्पादन वृद्धि हुनुका साथै माटोको गुणस्तर पनि कायम रहन्छ र कृषि उत्पादनमा निरन्तरता आउँछ । गहिरो, समथर र उर्वर माटो भएको जमिनलाई कृषि प्रयोजनमा प्रयोग गर्नुपर्छ भने भिरालो जमिनमा आली–कान्ला निर्माण गरी खेती गर्ने वा अन्य उपयुक्त उपयोगमा ल्याउनुपर्छ । भूक्षय र भू–स्खलन रोक्न तटबन्ध निर्माण, वृक्षारोपण तथा संरक्षणका उपाय अपनाउनु आवश्यक छ । त्यसैगरी रासायनिक मल र विषादीको न्यूनतम प्रयोग गरी प्रांगारिक मललाई प्राथमिकता दिनुपर्छ । प्लास्टिकजस्ता नसड्ने पदार्थको अव्यवस्थित प्रयोगलाई नियन्त्रण गर्नुपर्छ । स्थानीय ज्ञान, सीप र सामग्रीमा आधारित मौलिक कृषि प्रविधिको संरक्षण र प्रवर्धनका लागि अनुसन्धान तथा अभिलेखीकरण आवश्यक देखिन्छ ।

ncell

भूक्षय नियन्त्रणका लागि भिरालो जमिनमा माटोलाई ढाकेर राख्ने बाली लगाउनु उपयुक्त हुन्छ । यसले वर्षाका थोपा सिधै माटोमा पर्न नदिई माटोको क्षय कम गर्छ । वर्षायाम सुरु हुनुअघि नै बालीले जमिन ढाकिसकेमा भूक्षय उल्लेखनीय रूपमा घट्न सक्छ । अम्लीय वा क्षारीय प्रकृतिका माटोमा आवश्यकताअनुसार कृषि चुन वा जिप्सम प्रयोग गरी माटोको गुणस्तर सुधार गर्न सकिन्छ । कीटनाशक औषधिको प्रयोग घटाउने, रासायनिक मलको सन्तुलित उपयोग गर्ने, पानी जम्न नदिने तथा भूमिको वैज्ञानिक व्यवस्थापन गर्ने कार्यले भूमि संरक्षणमा टेवा पुर्‍याउँछ ।

विशेषज्ञहरूका अनुसार भूमि प्रदूषण कम गर्न वा प्रदूषित भूमि सुधार्न सुरुमा माटो सुधार गर्ने प्रकृतिका बाली लगाउनुपर्छ । त्यसपछि रुख तथा बुट्यान रोपेर भूमिको पुनःस्थापना गर्न सकिन्छ । यस्ता क्षेत्रलाई कृषि–वन प्रणाली, जलसञ्चय केन्द्र वा मनोरञ्जनस्थलका रूपमा विकास गर्न सकिन्छ । उद्योगबाट निस्कने फोहोर तथा अनुपयोगी वस्तुको उचित व्यवस्थापन गरिनुपर्छ । यस्ता पदार्थ जलाउँदा वातावरणमैत्री प्रविधि अपनाउन आवश्यक हुन्छ ।

देशमा खाद्यान्न उत्पादन वृद्धि गर्न कम्पोस्ट मलको प्रयोगलाई प्रोत्साहन गर्नु जरुरी छ । कम्पोस्ट बनाउने तरिका मात्र सिकाउने होइन, प्राकृतिक स्रोतमा प्रतिकूल असर नपर्ने गरी बढी मात्रामा कम्पोस्ट उत्पादन गर्न सकिने उपायको खोजी र कार्यान्वयन आवश्यक छ । वन क्षेत्र टाढा रहेका स्थानका कृषकले आफ्नै खेतबारीमा उपलब्ध स्रोत–साधन प्रयोग गरी कम्पोस्ट उत्पादन गर्न सक्ने वातावरण निर्माण गरिनुपर्छ । यसबाट वनमा पर्ने दबाब कम हुने र जैविक मल उत्पादन बढ्नेछ । साथै, जमिन सम्याउने, सिँचाइ सुविधा विस्तार गर्ने तथा माटो बग्न नदिने व्यवस्थाले भू–संरक्षणमा सकारात्मक योगदान पुर्‍याउँछ ।

भू–प्रदूषण रोकथामका लागि उचित प्रविधि र ज्ञान गाउँ–गाउँमा पुर्‍याउनुपर्छ । प्रत्येक घरमा कम्पोस्ट मल बनाउने र त्यसको प्रयोग तथा संरक्षण गर्ने संस्कार विकास गर्नु आवश्यक छ । सरकारी प्रयास मात्र पर्याप्त नहुने भएकाले जनसहभागितालाई प्राथमिकता दिनुपर्छ । भू–संरक्षण, वन विकास, जलाधार व्यवस्थापन तथा कृषि प्रणालीसँग प्रत्यक्ष सम्बन्धित कार्यक्रममा स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्छ ।

कृषियोग्य जमिनमा रासायनिक मल र कीटनाशक औषधिको प्रयोग प्राविधिक परामर्शअनुसार आवश्यक मात्रामा मात्र गर्नुपर्छ । खेतमा राम्रो निकासको व्यवस्था गरी नाइट्रोजन, फस्फोरसजस्ता रसायन तथा उर्वर माटो बगेर जलस्रोतमा पुग्ने अवस्थालाई रोक्नुपर्छ । फोहोरमैला जथाभावी फाल्ने प्रवृत्ति अन्त्य गरी त्यसलाई प्रांगारिक मलमा रूपान्तरण गर्ने अभियान सञ्चालन गर्न सकिन्छ । यसले उत्पादन वृद्धि गर्नुका साथै वातावरण संरक्षणमा पनि सहयोग पुर्‍याउँछ ।

भू–प्रदूषण नियन्त्रणका लागि पत्रकार, वातावरणविद् र विशेषज्ञहरूको टोलीले प्रदूषणको समस्या गम्भीर भएका क्षेत्रमा अध्ययन गरी समाधानका उपाय सुझाउनुपर्छ । सञ्चारमाध्यमले वातावरण संरक्षणसम्बन्धी सामग्रीलाई प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्न आवश्यक छ ।

मानव जीवन र वातावरणबीच घनिष्ठ सम्बन्ध रहेको छ । आज विकासका हरेक प्रयासलाई वातावरणीय सन्तुलनसँग जोडेर हेर्नुपर्ने आवश्यकता बढेको छ । विशेषज्ञहरूका अनुसार प्राकृतिक रूपमा तीन सेन्टिमिटर उर्वर माटोको तह बन्न करिब एक शताब्दी लाग्छ । तर मानिसका आधारभूत आवश्यकता पूरा गर्ने यही माटो आज प्रदूषणको चपेटामा परेको छ । रासायनिक मल, घरेलु फोहोर, औद्योगिक फोहोर तथा कीटनाशक औषधिको अत्यधिक प्रयोगले माटो प्रदूषित भइरहेको छ । उत्पादन बढाउने उद्देश्यले प्रयोग गरिने यी रसायनको अत्यधिक प्रयोगले माटोको उत्पादन क्षमता घटाउनुका साथै खाद्य शृंखलामार्फत मानव तथा अन्य जीवजन्तुको स्वास्थ्यमा समेत नकारात्मक असर पुर्‍याउने तथ्य प्रमाणित भइसकेको छ । यस्ता रसायनले भूमिगत जलसमेत प्रदूषित गर्न सक्छन् ।

भूमि वा माटो प्रदूषण भन्नाले भौतिक तथा मानवीय कारणले माटोको गुणस्तर र उत्पादनशीलता घट्नु हो । माटोमा अनावश्यक तथा हानिकारक तत्वको अत्यधिक मात्रा मिसिँदा यसको प्राकृतिक अवस्था बिग्रन्छ । रासायनिक पदार्थ, कीटनाशक औषधि तथा रासायनिक मलको अत्यधिक प्रयोगले माटोको गुणस्तर ह्रास भई प्रदूषण उत्पन्न हुन्छ ।

धातु पगाल्ने उद्योगबाट निस्कने सूक्ष्म कण, धागो, कागज, तेल प्रशोधन, ऊर्जा, रासायनिक पदार्थ, मल, फलाम, स्टिल, प्लास्टिक तथा अन्य औद्योगिक उत्पादनसँग सम्बन्धित उद्योगहरू भूमि प्रदूषणका प्रमुख स्रोत हुन् । आधुनिक कृषि प्रणालीमा रासायनिक मल र विषादीको अविवेकी प्रयोगले पनि प्रदूषण बढाएको छ । दैनिक घरायसी क्रियाकलापबाट निस्कने जुठो, सागसब्जीका अवशेष, खरानी, प्लास्टिक, धातुजन्य सामग्री तथा अन्य फोहोरले समेत भूमि प्रदूषणमा योगदान पुर्‍याउँछन् ।

भूमिको बाहिरी वा भित्री तहको विनाश तथा प्रदूषणलाई भू–प्रदूषण भनिन्छ । उद्योग, कलकारखाना, सडक निर्माण, खानी उत्खनन तथा विस्फोटनजस्ता गतिविधिबाट भू–प्रदूषण बढिरहेको छ । यसका कारण उर्वर भूमि क्रमशः बाँझो बन्दै गएको छ । विश्वभर प्रयोगमा रहेका हजारौं रसायनमध्ये ठुलो हिस्सा अन्ततः जमिनमै पुग्ने भएकाले भूमि प्रदूषण विश्वव्यापी चुनौती बनेको छ । यसको असर वनस्पति, जीवजन्तु र मानव स्वास्थ्यमा देखिन थालेको छ । कतिपय स्थानमा विषाक्त प्रदूषणका कारण ठुलो जनधनको क्षतिसमेत भएको छ ।

भूमि प्रदूषणका कारण दुर्गन्ध फैलिनु, रोगजन्य जीवाणु वृद्धि हुनु, बोटबिरुवा तथा पशुपन्छीको स्वास्थ्यमा असर पर्नु, जलस्रोत प्रदूषित हुनु तथा जलीय जीवजन्तु प्रभावित हुनुजस्ता समस्या देखिन्छन् । यसले माटोको प्राकृतिक गुण र उर्वराशक्ति घटाउँछ, जसका कारण कृषि उत्पादनमा कमी आउँछ । साथै, वातावरणीय सौन्दर्य, प्राकृतिक सम्पदा र सांस्कृतिक धरोहरसमेत प्रभावित हुन्छन् ।

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालले जलवायु परिवर्तनका सवाललाई सम्बोधन गर्न विभिन्न अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौतामा सहभागिता जनाएको छ । राष्ट्रिय जलवायु नीति, वातावरण संरक्षण ऐन तथा नियमावलीलगायतका नीतिगत तथा संस्थागत व्यवस्था कार्यान्वयनमा रहेका छन् । विश्व मौसम विज्ञान संगठनको प्रतिवेदन २०२३/२४ अनुसार पृथ्वीको औसत तापक्रम पूर्व–औद्योगिक कालको तुलनामा करिब १.४५ डिग्री सेल्सियसले वृद्धि भइसकेको छ । तापक्रम वृद्धि, जलवायु परिवर्तन र वातावरणीय असन्तुलनले नेपालजस्ता विकासोन्मुख मुलुकलाई थप चुनौती थपिरहेको छ ।

आर्थिक वर्ष २०८३/८४को बजेटमा चुरे तथा तराई–मधेश क्षेत्रको जलचक्र संरक्षण, पहिरो नियन्त्रण, तटबन्ध निर्माण तथा जलस्रोत संरक्षणका कार्यक्रमका लागि करिब एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ । जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको संरक्षण र प्रशोधनलाई पनि प्राथमिकतामा राखिएको छ ।

भूमि प्रदूषण पृथ्वीमा रहेका सम्पूर्ण जीवजन्तु र वनस्पतिका लागि गम्भीर खतरा हो । यसले कृषियोग्य जमिन नष्ट गर्नुका साथै विभिन्न रोगव्याधि फैलाउने सम्भावना बढाउँछ । त्यसैले स्वच्छ भूमि संरक्षण, दिगो कृषि उत्पादन र जैविक विविधताको रक्षा गर्न भूमि प्रदूषण नियन्त्रण अपरिहार्य छ । गाउँ तथा सहरबाट निस्कने ठोस फोहोरको उचित वर्गीकरण, पुनःप्रयोग र व्यवस्थापन गर्न सकिएमा प्रदूषण उल्लेखनीय रूपमा घटाउन सकिन्छ । जैविक फोहोरबाट बायोग्यास तथा कम्पोस्ट मल उत्पादन गरी स्रोतको अधिकतम उपयोग गर्न सकिन्छ ।

उद्योगबाट निस्कने विषाक्त पानी तथा फोहोरको पुनःप्रयोग, कम प्रदूषण गर्ने प्रविधिको प्रयोग र वातावरणमैत्री उत्पादन प्रणालीले पनि भूमि प्रदूषण कम गर्न सहयोग पुर्‍याउँछ । किसान तथा सर्वसाधारणलाई रासायनिक मल र विषादीको सही प्रयोगबारे जानकारी गराउनु आवश्यक छ । जैविक मल र जैविक विषादीको प्रयोगलाई प्रोत्साहन गर्न सकिएमा माटोको स्वास्थ्य जोगाउन सकिन्छ । खानीबाट निस्कने अवशेष तथा रसायनलाई अन्य उद्योगका कच्चापदार्थका रूपमा प्रयोग गर्ने व्यवस्था मिलाउन सके भूमि प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्नेछ ।

भूमि मानव सभ्यता र जीवनको आधार हो । यसको संरक्षण केवल वातावरणीय आवश्यकता मात्र होइन, खाद्य सुरक्षा, जनस्वास्थ्य र दिगो विकासको पूर्वसर्त पनि हो । त्यसैले सरकार, निजी क्षेत्र, समुदाय र नागरिक सबैले साझा जिम्मेवारीका साथ भूमि प्रदूषण नियन्त्रण र माटो संरक्षणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ ।

uae

सम्बन्धित खबर