२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सिलाइ कटाइ व्यवसायबाट आत्मनिर्भर बन्दै पातारासीका महिला

Nada
दिलमाया शाही
२०८१ साउन २२ गते १२:२९
Shares
सिलाइ कटाइ व्यवसायबाट आत्मनिर्भर बन्दै पातारासीका महिला

जुम्ला : जुम्लाको पातारासी गाउँपालिका-५ की सरिता बुढा सिलाइ कटाइको काम गर्न थालेकी छन् । आत्मनिर्भर बन्नका लागि आफूले सिलाइ कटाइको काम गर्न थालेको बताइन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा पुनर्ताजगी तालिम लिएपछि उनले सिलाइ कटाइको काम गर्न थालेकी हुन् ।

ncell

उनी मात्रै नभइ अहिले १४ जना महिलाले विद्युतीय मेसिनबाट सिलाइ कटाइ व्यवसाय शुरु गरेका छन् । सरिताले सिलाइ कटाइबाटै मासिक १५ हजार रुपैयाँ आम्दानी हुन थालेको बताइन् । यसअघि आधारभूत तालिम पाएका महिलाहरुलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा पुनर्ताजगी तालिम दिएपछि पातारासी गाउँपालिकाको लासी बजारमा उनीहरुले व्यवसाय गर्न थालेका हुन् ।

 त्यस्तै गाउँपालिकाको केन्द्र भएको लासी बजारमा पसल गरिरहकी गुठीचौर-२ की तारादेवी ऐडी ३ वर्षदेखि सामान्य सिलाइ कटाइ व्यवसाय गर्दै आएकी  थिइन् । अहिले उनी १५ दिने पुनर्ताजगी तालिम लिएपछि व्यवसाय राम्रो हुन थालेको बताउँछिन् । ऐडीले वैकल्पिक ऊर्जाले सो तालिम दिएपछि थप ऊर्जा बढेको बताइन् । उनले विद्युतबाट सञ्चालन हुने सिलाइ कटाइ मेसिन नि:शुल्क प्राप्त भएको र उक्त मेसिनबाट कपडा सिलाउन सहज र छिटो हुने भएकाले व्यवसाय राम्रो हुँदै गएको बताइन् ।

नर्वे सरकार र संयुक्त राष्ट्रसंघको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र कृषि खाद्य कार्यक्रमका लागि नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत १४ जना महिलालाई सुर्खेतमा १५ दिने सिलाइ कटाइसम्बन्धी सीप विकास तालिमसहित बिजुलीबाट सञ्चालन हुने आधुनिक मेसिन वितरण गरिएको फिल्ड संयोजक पृथ्वीबहादुर शाहीले जानकारी दिए । उनले प्रतिव्यक्ति ४८ हजार रुपैयाँ पर्ने विद्युतीय मेसिन उपलब्ध गराइएको बताए ।

चार वर्षदेखि यही व्यवसाय गर्दै आएका गुठीचौर-२ का गोरबहादुर ऐडीले वैकल्पिक ऊर्जाले श्रीमती तारालाई पुनर्ताजगी तालिम दिएर विद्युतीय मेसिन उपलब्ध गराएकाले व्यवसाय गर्न थप मद्दत्त पुगेको बताए । उनले आफ्नी श्रीमतीले अहिले सिलाइ कटाइको कामबाटै मासिक ३५ हजार आम्दानी गरिरहेको बताए । अहिले विद्यालयका पोषाक, भोटो, सुरुवाल, ब्लाउज, सट पइन्ट, कुर्ता सुरुवाल सिलाउन थालिएको उनले बताए ।

यसअघि पातारासीका मानिसहरु सामान्य कपडा सिलाउन एक दिन लगाएर जुम्ला बजार आउने गरेका थिए । लासी बजारमै सिलाइ कटाइ व्यवसाय राम्रोसँग सञ्चालन गर्न सकेको खण्डमा यहाँका नागरिकलाई सहज हुने देखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर