
अभिभावक शिक्षा बालबालिकाको समग्र विकासका लागि महत्वपूर्ण आधार हो । बालबालिकाले आमा, बुवा तथा घर परिवारका सदस्यबाट जीवनोपयोगी ज्ञान तथा सीप आर्जन गर्दछन् । आफ्नो भाषा, धर्म, संस्कृति, संस्कारका साथै अनुशासन, दृष्टिकोण, व्यवहारलगायत मानवमूल्यहरू सिक्ने पहिलो विद्यालय हो, घर । अभिभावकको महत्वको बारेमा धार्मिक नेता तथा विचारक पोप जोन तेइसौंले भनेका छन्, ‘परिवार मानव समाजको सबैभन्दा पहिलो र आधारभूत इकाई हो ।’ अभिभावकको शिक्षा–दीक्षा कमजोर भएमा बालबालिकाको सर्वांगीण विकास हुन सक्दैन । यस अर्थमा अभिभावक शिक्षा आवश्यक ठानिन्छ ।
हाम्रो देशमा अझै पनि ठुलो संख्यामा नागरिक अपठित छन् । अपठित अभिभावकले आफ्ना छोरीछोरीको चौतर्फी विकासमा खेल्नुपर्ने भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सक्दैनन् । आजको बदलिँदो सामाजिक संरचना, प्रविधिको तीव्र विकास तथा बढ्दो प्रतिस्पर्धाको युगमा बालबालिकालाई अभिभावकको शिक्षा, दीक्षा, उपदेश तथा दिशानिर्देश आवश्यक ठानिन्छ ।
शिक्षा आर्जनका लागि अभिभावक, विद्यालय र शिक्षकको त्रिकोणात्मक भूमिका आवश्यक हुन्छ । हाम्रो देशमा अभिभावक शिक्षालाई त्यति महत्व दिएको पाइँदैन । त्यसो त सहरी क्षेत्रका कतिपय विद्यालयले अभिभावकको शैक्षिक पृष्ठभूमिलाई समेत विद्यार्थी भर्नाको मापदण्ड बनाएको पाइन्छ । तथापि, समग्रमा अभिभावक शिक्षालाई त्यति महत्व दिएको पाइँदैन । कतिपय अभिभावकले छोराछोरीलाई विद्यालयमा भर्ना गरिदिएपछि आफ्नो जिम्मेवारी पूरा भएको ठान्दछन् । आफ्ना बढ्दै र पढ्दै गरेका बालबालिकाहरूसँग उमेरअनुरूप गर्नुपर्ने मनोवैज्ञानिक व्यवहारका लागि अभिभावक स्वयं आधारभूत ज्ञानबाट प्रशिक्षित हुनु अनिवार्य ठानिन्छ ।
समाज परिवर्तनशील छ । विकास र परिवर्तनले मानव जीवनमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पारेको हुन्छ । समाजका पुराना सबै कुरा नराम्रा हुँदैनन् र नयाँ सबै राम्रा पनि हुँदैनन् । अहिले विज्ञान तथा प्रविधिको विकासले विश्व एउटा गाउँजस्तो भएको छ । यो भूमण्डलीकरणको युगमा नयाँ पुस्ताले आफ्नो मौलिक पहिचान गुमाउँदै गएको अवस्था छ । यस सन्दर्भमा अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई वैज्ञानिक तर्क, शास्त्रहरूको शास्त्रार्थ तथा व्यावहारिक पक्षका आधारमा परम्परागत तथा मौलिक मूल्य र मान्यतालाई पुस्तान्तरण गर्न आवश्यक हुन्छ । बालबालिकालाई सामाजिक मूल्य, मान्यता, आदर्श, धार्मिक एवं सांस्कृतिक ज्ञान तथा अभ्यास हस्तान्तरण गर्न अभिभावक सक्षम हुनुपर्दछ । यस सन्दर्भमा समयसापेक्ष अभिभावक शिक्षा आवश्यक ठानिन्छ ।
मानवजीवनमा घरपरिवार भनेको विचारहरूको साझा संस्था हो । परिवारका सदस्यहरूको विचार, व्यवहार, भाषिक स्तर, धार्मिक क्रियाकलाप, सांस्कृतिक अभ्यास, सांस्कारिक व्यवहार, खानपान, बोलीवचन, वेशभूषा, चालचलनजस्ता कुराले बालबालिकाको जीवनमा गहिरो प्रभाव पारेको हुन्छ । घरपरिवारले बालबालिकालाई राम्रो शिक्षा, दीक्षा तथा प्रेरणा दिनुपर्दछ । अभिभावकबाट सकारात्मक सोचको विकास गर्ने अवसर नपाएका बालबालिका पढाइ पूरा नहुँदै विद्यालय छाड्ने तथा विभिन्न प्रकारका अपराधजन्य क्रियाकलापमा संलग्न हुने गरेको पाइन्छ । अभिभावक शिक्षाको महत्व झल्काउँदै फ्रान्सका सम्राट नेपोलियन बोनापार्ट भन्छन्, ‘मलाई शिक्षित आमा देऊ, म तिमीलाई सभ्य समाज दिन्छु ।’ बोनापार्टको भनाइले पनि सभ्य समाज निर्माण गर्नको लागि अभिभावक शिक्षाको महत्व प्रस्ट पार्दछ ।
अहिले समाजमा असमझदारी, झै–झगडा तथा असहिष्णुता बढ्दै गएको पाइन्छ । एकातिर मातापितामा श्रवणकुमारजस्ता छोराछोरी अनुभव गर्न नपाएको गुनासो रहेको पाइन्छ भने अर्कोतिर शिक्षकहरू एकलव्यरूपी विद्यार्थी कथामा मात्र भेटिने गरेको बताउँछन् । समाजमा आफ्नै छोराछोरीबाट ज्येष्ठ नागरिक अपहेलित हुनुपरेका खबर आउने गरेका छन् ।
प्रसिद्ध वैज्ञानिक हेलेन केलर भन्छिन्, ‘शिक्षाको उच्चतम सिकाइ सहनशीलता हो ।’ सहनशीलताले मानिसलाई बुद्धरूपी अहिंसात्मक चेतना तथा गान्धीरूपी मानवतावादी व्यक्तित्व निर्माण गर्न ऊर्जाको काम गर्दछ । सहनशीलताले ‘वसुधैव कुटुम्बकम्’मा आधारित चिन्तनको विकास गर्न मद्दत गर्दछ । आचरण तथा व्यक्तित्व विकासको कोणबाट अभिभावकको भूमिका खोज्दा हरेक अभिभावकले आफ्ना छोराछोरीहरूलाई सानैदेखि सहनशील, धैर्यवान्, इमानदार, कर्मशील तथा लोकतान्त्रिक आचरणजस्ता गुणको विकास तथा अभ्यासमा प्रभावकारी भूमिका खेल्नुपर्दछ ।
सानो उमेरमा सिकाइएका बानी, व्यवहार, संस्कार तथा मूल्यहरू नै भविष्यका आधार स्तम्भ हुन् । अहिले समाजमा तडकभडक, देखावटीपन तथा मपाईंत्वको भावना बढ्दो पाइन्छ । सादा जीवन उच्च विचार हराउँदै गएको छ । सरल, सभ्य, शालीन तथा इमानदार व्यक्तिहरूको संख्या पातलिँदै गएको अग्रजहरूको अनुभव छ । आजका बालबालिका नै भोलिका नागरिक हुन् । त्यसैले अभिभावकले छोराछोरीलाई सानैदेखि आफूभन्दा ठुलालाई आदर गर्न, सानोलाई माया गर्न, सहयोगी भावनाको विकास गर्न, आफ्नो काम आफैं गर्न, स्वावलम्बी बन्न र छिमेकी, आफन्तजनसँग सामाजीकरण तथा इमानदार हुन प्रेरणादायी भूमिका खेल्नुपर्दछ ।
अभिभावकले छोराछोरीलाई अधिकार र कर्तव्यबीचको सम्बन्ध राम्ररी बुझाउन सक्नुपर्दछ । बालबालिकाले घरपरिवारको सदस्य भएकोमा गौरवको अनुभूति गर्न, आमा, बुवा र गुरुको महत्व बुझ्न, आदर गर्न, खुसीमा नमात्तिने र दुःखमा नआत्तिने बानीको विकास गर्न परिवारबाट नै सिक्नुपर्दछ । यसका साथै बालबालिकामा उमेरको वृद्धिसँगै आउने शारीरिक, मानसिक, संवेगात्मक तथा बौद्धिक विकासमा अभिभावक सचेत हुनु आवश्यक हुन्छ ।
अहिले हामी विज्ञान र प्रविधिको विकास भएको युगमा बाँचिरहेका छौं । हाम्रा बालबालिका प्रविधिको विकास र यसले उपलब्ध गराएका डिजिटल ज्ञान तथा प्रयोगमा अभ्यस्त छन् । सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिका एकोहोरो भएको र सामाजिक तथा व्यावहारिक ज्ञानमा कमी आएको मनोविद्हरूको भनाइ छ । समाजमा साइबर अपराध, मादकपदार्थ सेवन, धूमपानजस्ता कुलतमा लाग्ने बालबालिकाको संख्या पनि वृद्धि भइरहेको तथ्यांकहरूले बताउँछन् । यी र यस्ता कुलतबाट जोगाउन र उचित मार्गनिर्देशन गर्ने कार्यमा अभिभावक शिक्षा अनिवार्य सर्त हुन आउँछ ।
राज्यले शिक्षाको सुधारका लागि जति नै नीति तथा योजना लागू गरे तापनि अभिभावक सचेत तथा जिम्मेवार नभएसम्म बालबालिकाको सर्वांगीण विकास पूर्ण रूपमा हुन सक्दैन । दार्शनिक एरिस्टोटलले ‘मन (बुद्धि) मात्र होइन, हृदय (संस्कार) शिक्षित नभए त्यो शिक्षा होइन’ भनेका छन् । एरिस्टोटलले भनेजस्तै बालबालिकाको मन र हृदयलाई सकारात्मक, ऊर्जाशील तथा प्रेरणादायी बनाउन अभिभावक शिक्षा वाञ्छनीय ठानिन्छ ।