
विश्व स्वास्थ्य संगठनको सर्वेक्षणअनुसार विश्वमा अहिले २८ करोड ६० लाख मानिसहरू दृष्टिविहीन छन् । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष पर्दछन् । सोही सर्वेक्षणअनुसार नेत्ररोगसम्बन्धी उपयुक्त स्वास्थ्य ज्ञानको अभावमा हरेक ५ सेकेन्डमा एकजना व्यक्ति दृष्टिविहीन बन्न पुग्दछन् । यसैगरी नेपालको हकमा, नेपाल आँखा अस्पतालको तथ्यांकअनुसार झन्डै दुई लाख १० हजार मानिसहरू पूर्ण दृष्टिविहीन छन् । जसमा दैनिक एक सय २५ जना दृष्टिविहीन थपिने गरेका छन् । यसको अलावा झन्डै चार लाख मानिस एउटा आँखा मात्र देख्न सक्ने अवस्थामा छन्, जसमा दुई लाख वयस्क र ९० हजार बालबालिका यस किसिमको अल्पदृष्टि समस्याबाट पीडित छन् । समयमा उपचार नपाउँदा, मोतियाविन्दु, जलविन्दु, रतन्धो, ट्रकोमालगायत रोगहरू तथा दुर्घटना, चोटपटक आदिजस्ता कारणबाट समेत नेपालमा दृष्टिविहीन अपांगताको समस्या जटिल बन्दै गइरहेको देखिन्छ ।
नेपाल सरकारले गरेको अपांगताको परिभाषा र वर्गीकरण २०६३ अनुसार ‘दृष्टिसम्बन्धी समस्याका कारण व्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रङको ज्ञान नहुने स्थिति दृष्टिसम्बन्धी अपांगता हो ।’ सोही वर्गीकरणअन्तर्गत दृष्टिसम्बन्धी अपांगतालाई दृष्टिविहीन र अल्पदृष्टियुक्त गरी दुई वर्गमा विभाजित गरिएको छ । जसअनुसार कुनै व्यक्ति यदि औषधि, शल्यचिकित्सा अथवा चस्मा प्रयोगजस्ता उपचारबाट पनि दुवै आँखाले हातको औंला १० फिटको दूरीबाट छुट्याउन सक्दैन भने त्यस्तो व्यक्तिलाई दृष्टिविहीन मानिनेछ । त्यस्तै, कुनै व्यक्तिले कुनै पनि औषधि, शल्यचिकित्सा उपचारबाट पनि २० फिटको दूरीबाट हातको औंला छुट्याउन सक्दैन भने त्यस्तो व्यक्तिलाई अल्प वा न्यून दृष्टियुक्त भनी परिभाषित गरिएको छ ।
त्यसो त दृष्टिविहीन अपांगता कुनै जातजाति, लिंग, समुदाय वा क्षेत्रमा मात्र सीमित हुँदैन । यो सबै वर्ग वा समूहमा हुन सक्छ । तर, दृष्टिविहीन भयो भन्दैमा ऊ सबै क्षेत्रमा क्षमताविहीन हुन्छ भन्ने होइन । दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिहरूले ब्रेल लिपिको सहायताले अन्य साधारण व्यक्तिसरह पढ्न, लेख्न र काम गर्न सक्छन् र गरिरहेका पनि छन् । अझ कतिपय दृष्टिविहीन व्यक्तिहरूले त सबलांग व्यक्तिहरूले पनि गर्न नसक्ने उदाहरणीय कार्यहरू गरेका अनेकौं दृष्टान्तसमेत हाम्रासामु छन् ।
त्यसो त दृष्टिविहीनका लागि सबैभन्दा महत्वपूर्ण सामग्री भनेको ब्रेल लिपि नै हो । तर, ब्रेल लिपि उपयोगी भईकन आर्थिक दृष्टिले अलिक महँगो पर्ने भएको हुँदा वर्तमान सन्दर्भमा उनीहरूको क्षमता अभिवृद्धिका लागि सूचना प्रविधिमा पहुँच पु¥याउनु अति नै आवश्यक देखिन्छ । दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिहरू विशेषगरी अडियो सामग्रीहरू सुन्न सक्ने भएकाले उनीहरूले अध्ययन गर्ने पाठ्यसामग्रीलाई अडियो, सिडी वा पेनड्राइभमा रूपान्तरण गरिदिएमा उनीहरूको अध्ययन कार्यलाई सहज र सुगम बनाउन सकिन्छ । त्यस्तै, वेबसाइटमा महत्वपूर्ण पाठ्यसामग्री राखिदिएको खण्डमा पनि उनीहरूले दृष्टिवाचक सफ्टवेयरको माध्यमबाट अध्ययन गर्न पनि सक्छन् । त्यसैगरी सूचना प्रविधिमा भएको बोल्ने दृष्टिवाचक सफ्टवेयर विकासका कारण दृष्टिविहीन व्यक्तिहरूले पनि अब देख्न सक्ने व्यक्तिहरूकै सरह कम्प्युटरमा माइक्रोसफ्ट वर्ड, एक्सेल, पावरप्वाइन्ट, इमेल, इन्टरनेट आदि चलाएर काम गर्न सक्ने भइसकेका छन् । यसबाहेक विद्युतीय ब्रेल मेसिनको सहायताले आफूले अरूबाट सुनेका कुराहरू नोट गरेर राख्ने अथवा उक्त मेसिनमा टाइप गरेर सबैको अगाडि प्रस्तुती गर्न सक्ने अवस्थामा पनि उनीहरू पुगिसकेका छन् । त्यस्तै, मोबाइलमा विभिन्न किसिमका टकिङ सफ्टवेयरहरू जडान गरेर यसलाई दृष्टिविहीन व्यक्तिहरूका लागि उपयोगी बनाउन सकिन्छ । कतिपय मोडेलका मोबाइलहरूमा यस्ता सुविधाहरू उपलब्ध पनि छन् ।
सूचना प्रविधिकै प्रसंगमा चर्चा गर्दा अपांगता भएका व्यक्तिहरूका लागि सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय अभिसन्धि संयुक्त राष्ट्रसंघीय अभिसन्धि, २००६को धारा २०मा उल्लेख भएअनुसार नेपालले अपांगता भएका व्यक्तिहरूलाई उपयुक्त पद्धति र प्रविधिमार्फत सूचना प्रविधिमा पहुँच पु¥याउनुपर्ने हुन्छ । खासगरी ब्रेल पद्धति, सांकेतिक भाषा तथा सञ्चारका अन्य ढाँचाहरूमा प्रविधिलाई उपयोग गरी उनीहरूका लागि पहुँचयुक्त तुल्याउनुपर्दछ । त्यसपछि सोही अभिसन्धिको धारा २१ले प्रविधि र अन्य सहयोगी उपकरणहरूको उपयुक्त प्रयोगद्वारा उनीहरूको सूचना प्रविधिमा पहुँचसम्बन्धी स्पष्ट व्यवस्था गरिएको पाइन्छ । त्यसो त नेपालको अपांगतासम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजना, २०६३ले पनि अपांगता भएका व्यक्तिहरूका लागि विभिन्न १७ वटा प्राथमिक क्षेत्रहरूको पहिचान गरी अपांगता भएका व्यक्तिहरूलाई सूचना र आधुनिक प्रविधिबारे तालिम दिने तथा अपांगता भएका व्यक्तिहरूले प्रयोग गर्ने सूचना प्रविधिको सामग्रीमा कर छुट गर्ने व्यवस्था गरेको छ ।
विकसित मुलुकमा राज्यले ठुलो लगानी गरेर सूचना प्रविधिमा विकास भएका विद्युतीय उपकरणहरू अपांगता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी बनाएका हुन्छन् । खासगरी मोबाइल फोनमा अत्याधुनिक मानिने स्मार्टफोनमा विभिन्न एप्लिकेसन बनाएर अपांगता भएका व्यक्तिले प्रयोग गर्न सक्ने बनाइएको हुन्छ । त्यसैले दृष्टिविहीन अपांगता भएका व्यक्तिहरूलाई प्रविधिले ल्याएको सुविधा यथोचित उपयोग गर्न सक्ने व्यवस्था मिलाइदिने हो भने उनीहरूले पनि अब अरूमा निर्भर रहनुपर्ने अवस्था देखिँदैन ।
(लेखक दृष्टिविहीन अभिभावक संघ, नेपालका अध्यक्ष हुन् ।)