
निश्चित समयका लागि एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने कार्यलाई सामान्यतया पर्यटन भनिन्छ । पर्यटनका उद्देश्य विविध हुन्छन् । पर्यटकहरू विभिन्न स्थानमा पुगेर त्यहाँको आर्थिक, सामाजिक, भौगोलिक, वातावरणीय अवस्था, राजनीतिक परिवेश तथा सांस्कृतिक विविधताबारे जानकारी आदानप्रदान गर्ने, रमाइलो गर्ने तथा खानपिनलगायत विभिन्न गतिविधिमा सहभागी हुने गर्छन् ।
बिदाको समयको सदुपयोग, सूचनाको पहुँच विस्तार तथा सकारात्मक परिवर्तनका लागि व्यक्तिगत र सार्वजनिक हितमा प्रयोग गर्न सकिने प्रभावकारी माध्यमका रूपमा पनि पर्यटनलाई लिइन्छ । विश्व पर्यटन संगठन (युएनडब्लुटिओ)का अनुसार, बिदा मनाउने, व्यापार गर्ने वा अन्य कुनै उद्देश्यले २४ घण्टाभन्दा बढी र एक वर्षभन्दा कम समय आफ्नो नियमित बासस्थानबाट बाहिर रहने व्यक्तिलाई पर्यटक भनिन्छ । यस्ता पर्यटकलाई सशुल्क घुमाउने, यातायात र आवासको व्यवस्था मिलाउने तथा सम्बन्धित स्थानको जानकारीसहित दृश्यावलोकन गराउने कार्य पर्यटन व्यवसाय हो ।
पर्यटनलाई उद्योगका रूपमा विकास गरिएको छ, र यसमा संलग्न व्यक्तिहरू पर्यटन व्यवसायी कहलिन्छन् । प्राचीन कालदेखि नै सम्पन्न वर्गका मानिसहरू नयाँ ठाउँ हेर्न, कला–संस्कृतिको अनुभव लिन, भाषा सिक्न, सामाजिक तथा आर्थिक परिवेश बुझ्न र स्वादिष्ट भोजनको आनन्द लिन यात्रामा निस्कने गर्थे । समयक्रमसँगै यिनै व्यक्तिहरूलाई पर्यटक भनिन थालियो ।
इतिहास हेर्दा, सन् १७७२मा ‘पर्यटक’ र सन् १८११मा ‘पर्यटन’ शब्दको प्रयोग सुरु भएको पाइन्छ । औद्योगिक क्रान्तिपछि बेलायतलगायत पश्चिमी देशहरूमा फुर्सदको समयलाई बाहिरी वातावरणमा बिताउने चलन बढ्यो र पर्यटन विस्तारै ठुलो उद्योगका रूपमा विकास भयो । थोमस कुकले सन् १८४१मा समूहगत भ्रमण सञ्चालन गर्दै आधुनिक ट्राभल एजेन्सीको आधारशिला राखे । उनले यातायात, होटल र भ्रमण कार्यक्रमलाई एउटै प्याकेजमा समेटेर व्यावसायिक पर्यटनको सुरुआत गरेका थिए ।
आज विश्वका इन्डोनेसियाको बाली, ब्राजिल, क्युबा, मलेसिया, थाइल्यान्ड, अस्ट्रेलियालगायत स्थानहरू वर्षैभरि लोकप्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित छन् । नेपाल पनि पर्यटन विकासको दृष्टिले विस्तारै अघि बढ्दै छ, तर अझै सम्भावनाअनुसारको प्रगति हुन सकेको छैन ।
नेपालको सन्दर्भ
नेपाल पर्यटनको अथाह सम्भावना बोकेको देश हो, तर अपेक्षित रूपमा यसको विकास हुन सकेको छैन । सन् १९५० भन्दाअघिको राणाशासनकालमा विदेशी पर्यटकलाई स्वागत गर्ने नीति थिएन । १९७०को दशकमा राजमार्ग निर्माणसँगै पर्यटनले व्यावसायिक स्वरूप लिन थालेको हो । सन् १९९०को राजनीतिक परिवर्तनपछि पर्यटन विकासप्रति राजनीतिक नेतृत्वमा केही सचेतना देखिएको थियो ।
तर, बहुदलीय व्यवस्थाको सुरुआतसँगै पर्यटन क्षेत्रमा आएको सुधार राजनीतिक अस्थिरता, बन्द–हडताल र द्वन्द्वका कारण प्रभावित हुँदै गयो । सन् २०००को आसपास इन्डियन एयरलाइन्सको जहाज अपहरण, दरबार हत्याकाण्ड, माओवादी सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा मधेस आन्दोलनले देशमा पर्यटनमैत्री वातावरण निर्माण हुन दिएन ।
सन् २००६को शान्ति सम्झौतापछि पर्यटन क्षेत्र पुनः लयमा फर्किन थाले पनि आवश्यक पूर्वाधार, नीति निर्माण र लगानीमैत्री वातावरण अझै सुदृढ हुन सकेको छैन । भारतको नाकाबन्दी र कोभिड–१९ महामारीले पर्यटन क्षेत्रमा गम्भीर असर पारे । पछिल्लो समय विभिन्न आन्दोलन र अस्थिरताले लगानीकर्तामा निराशा पैदा गरेको छ, जसका कारण विदेशी लगानीसमेत प्रभावित भएको छ ।
विगत तीन दशकभन्दा बढी समयदेखि राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा पर्यटनका महत्वाकांक्षी योजना उल्लेख गरे पनि ती अधिकांश कागजमै सीमित छन् । नीतिगत स्थिरता, लगानीको वातावरण र दीर्घकालीन योजना अभावकै कारण पर्यटन क्षेत्रले अपेक्षित गति लिन सकेको छैन ।
सम्भावनाका क्षेत्र
विश्व अर्थतन्त्रमा पर्यटन प्रमुख उद्योगका रूपमा विकसित भइरहँदा नेपालले यसबाट ठुलो फाइदा लिन सक्छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, अतिथिप्रति सम्मान गर्ने नेपाली संस्कार तथा चीन र भारतजस्ता विशाल बजारबीचको भौगोलिक अवस्थिति नेपालका प्रमुख विशेषता हुन् ।
नेपालका विभिन्न भूभागमा फरक–फरक जातजाति, भाषा, संस्कृति, रहनसहन र परम्परा पाइन्छन् । हावापानी, भूगोल, जडीबुटी, जंगल र जलस्रोतको सदुपयोग गरी पर्यटक आकर्षित गर्न सकिने ठुलो सम्भावना छ । काठमाडौंलाई प्रशासनिक केन्द्रका रूपमा विकास गर्दै पोखरा, चितवन, लुम्बिनी, सोलुखुम्बु, मुस्ताङ, मनाङ, इलामलगायत क्षेत्रलाई पर्यटन हबका रूपमा विकास गर्न सकिन्छ ।
पूर्व–पश्चिम, हिमाल–पहाड–तराई तथा कर्णाली क्षेत्रलाई पर्यटन विकासको मेरुदण्डका रूपमा अघि बढाउन सकिन्छ । सुरक्षित आवास, स्तरीय खानपान, यातायात सुविधा तथा पदयात्रा मार्गहरूको संरक्षण र विकासमा विशेष ध्यान दिन आवश्यक छ ।
सगरमाथासहित आठवटा आठ हजार मिटरभन्दा अग्ला हिमाल, अन्नपूर्ण क्षेत्रका उत्कृष्ट पदयात्रा मार्ग, लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथजस्ता धार्मिक स्थल तथा जंगल सफारी, र्याफ्टिङ, पर्वतारोहणजस्ता साहसिक गतिविधिहरू नेपालका महत्वपूर्ण आकर्षण हुन् । प्याराग्लाइडिङ, अल्ट्रालाइट र जिपलाइनजस्ता गतिविधिले पनि पर्यटनलाई थप आकर्षक बनाएका छन् ।
राज्यको दायित्व
पर्यटन क्षेत्र राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको विकासमा राज्यको भूमिका निर्णायक हुन्छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै प्रकारका पर्यटकको योगदानलाई ध्यानमा राख्दै ग्रामीण तथा सहरी पर्यटनको सन्तुलित विकास आवश्यक छ ।
लगानीमैत्री वातावरण सिर्जना गर्नु, राजनीतिक स्थिरता कायम गर्नु, भ्रष्टाचार नियन्त्रण गर्नु तथा सुरक्षा सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व हो । पर्यटन सेवा–आधारित उद्योग भएकाले यसको व्यवस्थापन संवेदनशील र चुनौतीपूर्ण हुन्छ । यसका लागि विज्ञहरूको सुझावमा आधारित दीर्घकालीन योजना आवश्यक हुन्छ ।
सरकारी र निजी क्षेत्रबीच सहकार्य, प्रभावकारी प्रचार–प्रसार, बजार व्यवस्थापन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि निर्माण अत्यन्त आवश्यक छ । विदेशी पर्यटकको सुरक्षा, सुविधा र विश्वास सुनिश्चित गर्न सके मात्र पर्यटन क्षेत्रले गति लिन सक्छ ।
दिगो पर्यटन विकासका लागि होमस्टे, ग्रामीण पर्यटन, स्थानीय प्रविधि र स्रोतमा आधारित कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । नेपाललाई सुरक्षित, शान्त र आकर्षक गन्तव्यका रूपमा विश्वसामु प्रस्तुत गर्न योजनाबद्ध लगानी अपरिहार्य छ ।
निष्कर्ष
नेपालको विशिष्ट भौगोलिक अवस्थिति, सांस्कृतिक धरोहर, धार्मिक स्थल, जैविक विविधता तथा साहसिक पर्यटनका सम्भावनाहरू अत्यन्त व्यापक छन् । यी सम्पदाको संरक्षण, विकास र प्रभावकारी व्यवस्थापनमार्फत पर्यटनलाई राष्ट्रिय समृद्धिको आधार बनाउन सकिन्छ ।
पर्यटक आगमन संख्या, बसाइ अवधि र खर्च वृद्धि गर्न पर्यटन उत्पादनको विविधीकरण, स्थानीय कला–संस्कृतिको संरक्षण तथा अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी बजारीकरण आवश्यक छ ।
यद्यपि पर्यटनसम्बन्धी विभिन्न नीति, योजना र संस्थागत संरचना बनेका छन्, तिनको प्रभावकारी कार्यान्वयनमा अझै कमी देखिन्छ । त्यसैले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी बजेट, नीति र कार्यक्रममार्फत कार्यान्वयनमा जोड दिनुपर्छ ।
यदि राज्य, निजी क्षेत्र र सरोकारवालाहरूले प्रतिबद्धता, इमानदारी र उत्तरदायित्वका साथ काम गर्न सके भने नेपालको भविष्य पर्यटन उद्योगमार्फत उज्ज्वल बनाउन सकिन्छ ।