
नयाँ वर्ष केवल पात्रो परिवर्तनको औपचारिकता मात्र होइन, यो नयाँ सोच, नयाँ संकल्प र नयाँ सम्भावनाको प्रारम्भ पनि हो । २०८३ सालको आगमनसँगै हामी फेरि एकपटक उही प्रश्नसँग जुधिरहेका छौं– नेपालको अर्थतन्त्रलाई कसरी सबल बनाउने ? युवालाई देशमै अवसर कसरी दिने ? र समृद्धिको सपना कसरी व्यवहारमा उतार्ने ?
विगतका वर्षहरूलाई फर्केर हेर्दा, हामीले धेरै आशा र नारा सुनेका छौं, तर व्यवहारमा अपेक्षित परिवर्तन अझै पनि अधुरै देखिन्छ । गाउँदेखि सहरसम्मका सामान्य नागरिकको जीवनस्तरमा देखिने सुधार अझै सन्तोषजनक छैन । यसले स्पष्ट संकेत गर्छ– अब केवल योजना होइन, परिणाममुखी कार्यान्वयन आवश्यक छ ।
नेपालको अर्थतन्त्र लामो समयदेखि विभिन्न संरचनागत समस्याबाट प्रभावित हुँदै आएको छ । वैदेशिक रोजगारीमा बढ्दो निर्भरता, उत्पादनमुखी क्षेत्रको कमजोर अवस्था, राजनीतिक अस्थिरता र नीति कार्यान्वयनमा ढिलासुस्तीले आर्थिक विकासलाई अपेक्षित गति दिन सकेको छैन । तर, यी चुनौतीबीच अवसरहरू पनि प्रशस्त छन्, प्रश्न केवल ती अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने हो ।
नयाँ सरकारले साना र मझौला उद्यमीलाई महत्व दिनुपर्छ । कुनै पनि अर्थतन्त्रको मेरुदण्ड यिनै उद्यम हुन् । नेपालमा कृषि, पर्यटन, सूचना प्रविधि र ऊर्जाजस्ता क्षेत्रहरूमा सानो लगानीले पनि ठुलो परिवर्तन ल्याउन सक्छ । यदि राज्यले स्पष्ट नीति, सहज प्रशासनिक प्रक्रिया र लगानीमैत्री वातावरण तयार गर्न सक्छ भने निजी क्षेत्र आफैं सक्रिय हुन्छन् ।
विशेषगरी कृषि क्षेत्रको आधुनिकीकरण अपरिहार्य छ । उत्पादन बढाउन प्रविधिको प्रयोग, बजारको सुनिश्चितता र सहुलियतपूर्ण ऋणको पहुँच अत्यन्त आवश्यक छ । कृषि पेसालाई सम्मानजनक र आम्दानीमुखी बनाउन सकियो भने वैदेशिक रोजगारीतर्फको आकर्षण स्वतः घट्न सक्छ ।
पर्यटन नेपालको अर्को महत्वपूर्ण सम्भावना हो । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाले नेपाललाई विश्वमै चिनाउने क्षमता राख्छ । तर, पूर्वाधारको कमी, सेवा गुणस्तरमा कमजोरी र दीर्घकालीन योजनाको अभावले यो क्षेत्रले पूर्ण सम्भावना देखाउन सकेको छैन । यदि पर्यटनलाई योजनाबद्ध रूपमा विकास गर्न सकियो भने यसले व्यापक रोजगारी सिर्जना गर्न सक्छ ।
ऊर्जा क्षेत्रमा पनि नेपालले ठुलो सम्भावना बोकेको छ । जलस्रोतमा धनी देश भएर पनि हामीले यसको पूर्ण उपयोग गर्न सकेका छैनौं । स्पष्ट नीति, पारदर्शी प्रक्रिया र निजी क्षेत्रसँगको सहकार्यमार्फत जलविद्युत्मा लगानी बढाउन सकियो भने नेपाल आत्मनिर्भर मात्र होइन, ऊर्जा निर्यात गर्ने देशका रूपमा स्थापित हुन सक्छ ।
कुनै पनि आर्थिक रूपान्तरण केवल नीति र योजनाले मात्र सम्भव हुँदैन, त्यसका लागि नागरिकमा विश्वास र उत्साह पनि उत्तिकै आवश्यक हुन्छ । जब नागरिकले राज्यप्रति भरोसा गर्छन्, तब उनीहरू लगानी गर्न, जोखिम लिन र नयाँ काम सुरु गर्न प्रेरित हुन्छन् । तर नीतिगत अन्योल, भ्रष्टाचार र प्रशासनिक जटिलताले यो विश्वास कमजोर बनाएको छ ।
त्यसैले, नयाँ वर्ष २०८३ लाई ‘विश्वास पुनस्र्थापना’को वर्षका रूपमा लिनुपर्छ । सरकार पारदर्शी बन्नुपर्छ, प्रशासन उत्तरदायी हुनुपर्छ र नीतिहरू स्थिर हुनुपर्छ । यी आधारहरू बलिया भए मात्र लगानीकर्ताहरू विश्वस्त भएर लगानी गर्न सक्छन् ।
नेपालको सबैभन्दा ठुलो शक्ति युवाशक्ति हो । तर यही शक्ति विदेश पलायन भइरहेको छ । यदि देशमै रोजगारी, अवसर र सम्मान सुनिश्चित गर्न सकियो भने यही युवाशक्तिले अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउन सक्छ । स्टार्टअप, नवप्रवर्तन र डिजिटल अर्थतन्त्रमा युवालाई प्रोत्साहन दिनु आजको आवश्यकता हो ।
समृद्धि कुनै एकैपटक प्राप्त हुने उपलब्धि होइन । यो निरन्तर प्रयास, स्पष्ट दृष्टिकोण र साझा जिम्मेवारीको परिणाम हो । सरकार, निजी क्षेत्र र नागरिकबीच सहकार्य भए मात्र दिगो विकास सम्भव हुन्छ । नयाँ वर्ष २०८३ ले हामीलाई फेरि एकपटक अवसर दिएको छ– अतीतका कमजोरी सुधार्ने, वर्तमानलाई सुदृढ बनाउने र भविष्यलाई उज्यालो बनाउने । अब आवश्यकता छ केवल नारा होइन, कार्यान्वयनको; केवल आशा होइन, परिणामको ।