
अहिले नेपाल राजनीतिक दृष्टिकोणबाट नयाँ अध्यायमा प्रवेश गरेको छ । तीन दशकभन्दा बढी समयदेखि शासनमा रहेका पुराना दललाई फाल्गुन २१को निर्वाचनबाट मतदाताले बिदाइ गरे । नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले लगभग दुईतिहाइ नजिकको सांसद संख्या पुर्याएको छ । निर्वाचनअघि मात्रै रास्वपामा प्रवेश गरेका युवानेता बालेन्द्र शाहको नेतृत्वमा एकल सरकार बनेको छ । पुराना राजनीतिक दलले जनअपेक्षाअनुसार काम गर्न नसकेका कारण जनताले रास्वपालाई नयाँ शक्तिका रूपमा स्थापित गराए ।
नयाँ सोच भनेको पुरानो सोचलाई पूर्ण रूपमा मेट्नु होइन, बरु त्यसलाई सुधार गर्दै समयानुकूल रूपान्तरण गर्नु हो । नयाँ शक्तिको अर्थ केवल राजनीतिक शक्ति मात्र होइन, सामाजिक न्याय, समान अवसर र समानताको मिश्रण हो । बाराक ओबामाले भनेजस्तै, हाम्रो देशका पुराना राजनीतिक दलको प्रयासले व्यवस्था बदलियो । पुरस्कारस्वरूप जनताले उनीहरूलाई बारम्बार सत्ताको बागडोरमा पठाए ।
पुराना दलहरूले देश र जनताको अवस्था परिवर्तन गर्न नसक्दा असन्तुष्टि बढ्यो । भाद्र २३को जेनजी आन्दोलन र २४ गतेको विध्वंसपछि पुरानो सत्ताको पत्तासाफ भयो । पुराना दल जनताबाट तिरस्कृत भए । सुशीला कार्कीको नेतृत्वमा बनेको गैरराजनीतिक सरकारले मध्यावधि निर्वाचन गर्यो । निर्वाचनमा लामो राजनीतिक पृष्ठभूमि नभएको रास्वपाले नयाँ दलको रूपमा जनसमर्थन पायो ।
नयाँ नेपालको परिभाषा
त्यसो त, नयाँ नेपाल बनाउने कुरा नयाँ होइन । इतिहासका विभिन्न कालखण्डमा देशले नयाँ दलहरू नपाएको पनि होइन । कांग्रेस र एमालेहरू २०४६ सालपछि नयाँ सोचका साथ उदाएका थिए । १० वर्ष जनविद्रोह गरेको माओवादी २०६२/०६३को जनआन्दोलनपछि नयाँ दलको रूपमा उदायो । बहुदलीय प्रजातान्त्रिक समयमा दर्जनौं नयाँ दल बने । कतिपय ठुला दलबाट चोइटिएर त कतिपय नयाँ दलका रूपमा उदाए । निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या दर्जनौं छन् । उनीहरूले पनि नयाँ सोचका साथ नयाँ नेपाल बनाउने उद्देश्य राखेका थिए । तर, जतिसुकै दलको उदय भए पनि जनताले साँचो परिवर्तनको अनुभूति पाएनन् ।
अहिले केवल राजनीतिक दल फेरिएका छन्, व्यवस्था परिवर्तन भएको छैन । संविधानअनुसार नै देश सञ्चालन हुनेछ । नयाँ नेपाल बनाउन हरेक क्षेत्रको व्यवस्थापनमा नयाँपन हुनु आवश्यक छ । सुशासन र विकास निर्माणको बाटोमा देशलाई अगाडि बढाउनुपर्छ । यसका लागि राज्यसँग स्पष्ट दृष्टिकोण आवश्यक छ । भिजन, मिसन र एक्सन स्पष्ट भए मात्रै सरकार बलियो बन्छ र देशले विकास र सुशासनको बाटो लिन थाल्दछ ।
सकारात्मक सोच र राम्रो हृदयको संयोजन
दक्षिण अफ्रिकाका महान् नेता तथा स्वतन्त्रताका सेनानी नेल्सन मन्डेलाले भनेका छन्, ‘राम्रो सोच र राम्रो हृदयको संयोजन सधंै शक्तिशाली हुन्छ ।’ देश निर्माणका लागि सकारात्मक सोच र विशाल हृदय चाहिन्छ । आत्मकेन्द्रित सोच र प्रतिशोधको राजनीतिले समाजमा असहमति, द्वन्द्व र कलह निम्त्याउँछ । हामीलाई द्वन्द्व, हिंसा र असुरक्षाको छायामा विकास होइन, सामाजिक सद्भावयुक्त, मेलमिलापयुक्त, शान्तिपूर्ण र विकसित देश चाहिन्छ ।
भ्रष्टाचार नियन्त्रण, सार्वजनिक खर्चमा पारदर्शिता, व्यावहारिक, प्रविधिमैत्री तथा रोजगारमूलक शिक्षा, आधुनिक कृषि प्रणाली, विश्वलाई आकर्षित गर्ने पर्यटन क्षेत्रको विकास, ग्रामीण अर्थतन्त्रमा सुधार, उद्योगहरूको स्थापना, युवाहरूलाई स्वदेशमै रोजगारी, गाउँदेखि सहरसम्म सबैलाई सुलभ स्वास्थ्य सेवा, ग्रामीण क्षेत्रमा बाटो, बिजुली, खानेपानीजस्ता क्षेत्रको विकासले मात्र नयाँ नेपालको झल्को दिन सक्दछ ।
संविधानको परिमार्जनको आवश्यकता
देश अहिले नेपालको संविधान २०७२को मार्गचित्रमा अघि बढ्दै छ । संविधानमा धेरै कुरा संशोधन गर्न आवश्यक छ भन्ने जानकारहरूको मत रहेको छ । राज्यको संरचना र शासकीय स्वरूपमा फेरबदल गर्नुपर्ने विषय पनि बहसमा छ । देशमा तीन तहको संघीय प्रणाली छ । तीन तहमध्ये प्रदेश सरकारका बारेमा समाजमा तीव्र असन्तुष्टि छ । नेपालजस्तो सानो र सीमित स्रोतसाधन भएको देशमा प्रदेश सरकार अनावश्यक भएको तर्क बलियो बन्दै गएको छ । प्रदेश सरकार सञ्चालनमा ठुलो बजेट, जनशक्ति र संरचना खर्च भएकाले दलहरू बीचको राष्ट्रिय सहमतिमा यसलाई खारेज गर्नु नै सान्दर्भिक हुने विकासवादीहरूको तर्क छ ।
आगामी मार्ग
अस्ट्रेलियाका विद्वान् तथा विचारक पिटर ड्रकरले भनेका छन्, ‘जुन काम गर्नैपर्दैन, त्यसलाई कुशलतापूर्वक गर्नुजस्तो निरर्थक कुरा अरू केही हुँदैन ।’ यो भनाइजस्तै प्रदेश सरकारमा गरिने लगानी र राजनीतिक व्यवस्थापन निरर्थक देखिन्छ । यसर्थ, प्रदेश सरकार खारेज गरेर केन्द्रीय र स्थानीय दुईतहको संघीय व्यवस्था कायम गर्न राष्ट्रिय सहमतिको खोजी गर्नुपर्छ । केन्द्रीय र स्थानीय तहको व्यवस्था दूरदर्शी, व्यावहारिक तथा मितव्ययी हुने देखिन्छ । बरु गाउँ सरकारलाई अझ बलियो र अधिकारसम्पन्न बनाउनुपर्दछ ।
निष्कर्ष
अहिले नयाँ सरकारका बारेमा विभिन्न कोणबाट विचारहरू आउने गरेका छन् । राजनीतिक बजारमा यस सरकारबाट देशले काँचुली फेर्ला कि अझै भद्रगोलको अवस्था सिर्जना होला भन्ने भिन्न मत छन् । आजको आवश्यकता केवल सरकार परिवर्तन मात्र होइन, देशका हरेक क्षेत्रमा आवश्यक परिवर्तनको अपेक्षा हो । जबसम्म राजनीति विचारशील, जिम्मेवार, दूरदर्शी र जनताको सेवक हुँदैन, तबसम्म नयाँ सरकारहरू त बन्दै जालान्, तर जनताले चाहेको विकास र सुशासनका अपेक्षा पूरा हुन सक्दैन ।
नेतृत्वको मति र विकासको गतिमा तालमेल हुन सक्छ कि सक्दैन भन्ने विषयको समीक्षा गर्ने बेला आएको छैन । देशको राजनीति अत्यन्त आत्ममन्थनको मोडमा छ । नयाँ दलहरूमा देश बनाउने रहर देखिन्छ । विकासका निम्ति कुनकुन क्षेत्रलाई प्राथमिकतामा राख्ने हो तय गर्नुपर्छ । परम्परागत कृषि क्षेत्रलाई बदलेर आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्नुपर्छ । हरेक पालिकाको हावा, पानी, माटो तथा उब्जनीबारे अनुसन्धान गरेर त्यसअनुसारको आधुनिक कृषि फार्मको विकास गर्न आवश्यक छ ।
अन्तमा, सरकारले समाजका समस्या सम्बोधन गर्दै जनतालाई सुनाउने काम बन्द गर्नुपर्छ । राज्य सञ्चालनमा पुरानै ढाँचा, सीमित दृष्टिकोण र स्वार्थ हाबी भएमा समाजका लागि ‘कागलाई बेल पाके’जस्तै स्थिति हुनेछ । जनताले समाधान गर्ने राज्य चाहेका छन् । सफल सरकार चाहेका छन् । यसका लागि राज्य पारदर्शी, जवाफदेही र जनमुखी भएर अघि बढ्नुपर्दछ ।