२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

महिलाले नेतृत्व गरेका उद्योग

Nada
भावना पाठक
२०८३ वैशाख २ गते १२:४९
Shares
महिलाले नेतृत्व गरेका उद्योग

नेपालमा पछिल्लो केही वर्षयता महिलाहरूले नेतृत्व गरेका उद्योगहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ । परम्परागत रूपमा घरायसी भूमिकामा सीमित महिलाहरू अहिले उद्यमशीलता, नवप्रवर्तन र आर्थिक विकासमा महत्वपूर्ण भूमिकामा देखिँदै आएका छन् । साना तथा मझौला उद्योगदेखि प्रविधि, कृषि, पर्यटन र सेवा क्षेत्रमा महिलाहरूको सक्रियता उल्लेखनीय छ ।

ncell

शिक्षा र वित्तीय सेवामा पहुँच विस्तार हुनुका साथै महिला सशक्तीकरणसम्बन्धी नीति तथा कार्यक्रमले महिलालाई उद्यमी बनाउन सहज वातावरण बनाएको छ । अहिले धेरै महिलाहरू आफ्नै व्यवसाय सुरु गरेर आत्मनिर्भर बन्ने मात्र होइन, अरूलाई पनि रोजगारी दिन सक्ने अवस्थामा छन् । 

विशेषगरी हस्तकला, कपडा उद्योग, जैविक कृषि, होटल तथा पर्यटन क्षेत्रमा महिलाको नेतृत्व उल्लेखनीय देखिन्छ । कतिपय महिलाहरूले स्थानीय स्रोत र सीपलाई प्रयोग गरेर अन्तर्राष्ट्रिय बजारसम्म आफ्नो उत्पादन पुर्‍याएका छन् ।

नेपालका विभिन्न जिल्लामा महिलाले सुरु गरेका सहकारी, घरेलु उद्योग र स्टार्टअपहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । ग्रामीण क्षेत्रमा महिलाहरूले सञ्चालन गरेका कृषि समूहहरूले उत्पादन, प्रशोधन र बजार व्यवस्थापनमा नयाँ आयाम थपेका छन् । सहरी क्षेत्रमा भने प्रविधि र सेवा क्षेत्रमा महिला उद्यमीहरूको उपस्थिति बढ्दो छ ।

पूर्वमिस नेपाल तथा हालकी प्रतिनिधिसभा सांसद अनुष्का श्रेष्ठ महिलालाई उद्यमी बन्न प्रेरित गर्ने पात्र हुन् । उनी आफैं पनि मक्कुसे ब्रान्डमार्फत नेपाली परम्परागत मिठाइलाई आधुनिक रूपमा प्रस्तुत गर्दै व्यवसायमा अघि बढेकी छन् । मिस नेपाल बनेपछि चलचित्र र म्युजिक भिडियोमा काम गर्ने प्रशस्त अवसर हुँदाहुँदै पनि उनी उद्योग व्यवसायमा लागिन् जसले धेरै महिलालाई उद्यमी बन्न प्रेरणा दियो । 

श्रीनगर एग्रो ग्रुपकी निर्देशक मौसुमी श्रेष्ठ कृषि क्षेत्रमा आधुनिकीकरण र महिला किसान सशक्तीकरणमा सक्रिय छिन् । कृषिलाई आधुनिकीकरण गर्न उनले खेलेको भूमिका महत्वपूर्ण छ । नेपाल नट क्राफ्टकी सञ्चालक श्याम बदन श्रेष्ठको पनि महिलालाई व्यवसायी र आत्मनिर्भर बनाउन उल्लेखनीय भूमिका छ । उनी हस्तकलामार्फत नेपाली उद्योगलाई  प्रवद्र्धन गर्दै आइरहेकी छन् । शिलशिला आचार्य प्लास्टिक रिसाइकल गर्ने अभ्नी भेन्चर्सकी संस्थापक हुन् । उनी वातावरण र सामाजिक उद्यममा चर्चित छिन् । 

दिवंगत अम्बिका श्रेष्ठ होटल द्वारिकाज समूहकी नेतृत्वकर्ता थिइन् । उनी पर्यटन तथा होटल क्षेत्रमा प्रतिष्ठित रहिन् । नेपालको सफल महिला उद्यमीमा उनको नाम अग्रसथानमा आउँछ । धेरै महिला उनीबाट प्रभावित भएर व्यवसायमा लागेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा महासंघको इतिहासमै पहिलो र एक मात्र महिला अध्यक्ष हुन् । उनी नेपालको चर्चित महिला उद्यमी हुन् । उद्योग क्षेत्रमा प्रभावशाली महिला भनेर उनलाई चिनिन्छ । विशेषगरी पर्यटन व्यवसायमा रहेकी राणा होटेल स्नेहाकी प्रबन्ध निर्देशक तथा स्नेहा ग्रुपकी अध्यक्ष हुन् ।

गोल्डस्टारलाई अन्तर्राष्ट्रिय सुपर ब्रान्ड बनाउने विदुषी राणा नेपालकी चर्चित महिला व्यवसायी हुन् । उद्योग व्यवसाय क्षेत्रमा आउन चाहने नयाँ पुस्ता र अझ विशेषगरी महिलाका लागि उनी प्रेरणा हुन् । हाल उनी प्रतिनिधिसभाकी सांसदसमेत हुन् । 

यी त केही प्रतिनिधि पात्र भए । यस्ता धेरै पात्र छन् जो आफू मात्र सफल नभई देशलाई नै योगदान गरिरहेका छन् । 

नेपाल सरकारले महिला उद्यमशीलता प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सहुलियतपूर्ण ऋण, सीप विकास तालिम, र बजार पहुँचका अवसर विस्तार गरिएका छन् । साथै, विभिन्न गैरसरकारी संस्थाले पनि महिला उद्यमीहरूलाई मार्गदर्शन, नेटवर्किङ र वित्तीय सहयोग प्रदान गर्दै आएका छन् ।

नेपालमा महिला नेतृत्वमा रहेका उद्योगहरूको भविष्य उज्ज्वल देखिएको छ । डिजिटल प्रविधिको प्रयोग, अनलाइन बजारको विस्तार र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरूले महिलाहरूलाई अझ ठूलो बजारमा पहुँच दिलाउन सक्छ । साथै, युवा पुस्तामा उद्यमशीलताको चाहना बढ्दै जाँदा महिलाहरूको सहभागिता अझ सशक्त हुने अपेक्षा गर्न सकिन्छ ।

नेपालमा महिलाद्वारा नेतृत्व गरिएका उद्योगहरू केवल व्यवसायिक सफलता मात्र होइन, सामाजिक परिवर्तनको प्रतीक पनि हुन् । उनीहरूको साहस, लगनशीलता र नवप्रवर्तनले देशको समृद्धिमा नयाँ मार्ग प्रशस्त गरिरहेको छ । महिला उद्यमीहरूका यी कथाहरूले भविष्यका पुस्तालाई प्रेरणा दिनुका साथै समावेशी र दिगो विकासतर्फ नेपाललाई अगाडि बढाउने आधार तयार पारिरहेका छन् ।

नेपालको ग्रामीण क्षेत्रमा महिलाहरूले कृषि क्षेत्रमा ठूलो भूमिका खेलेका छन् । जैविक तरकारी खेती, मौरीपालन, च्याउखेती, दुग्ध उत्पादन र पशुपालनमा  महिलाले आफूलाई अब्बल साबित गरेका छन् । हस्तकला क्षेत्रमा महिलाहरू विशेष सक्रिय छन् । ढाका कपडा, ऊनी सामग्री, हातले बनाइने गहना र सजावट सामग्री, काठ तथा धातुका कलात्मक वस्तु आदि बनाउने काममा महिलाहरूले आफूलाई सफल प्रमाणित गरेका छन् । 

त्यस्तै, साना होटल तथा रेस्टुरेन्ट, ट्रेकिङ गाइड तथा पर्यटन व्यवसाय, बुटिक, ब्युटीपार्लर, खाद्य उद्योग, खुद्रा पसल र सेवा व्यवसायमा पनि महिलाहरूको सक्रियता उत्तिकै छ ।  हालका वर्षहरूमा महिलाहरू आइटी र डिजिटल व्यवसायमा पनि अगाडि बढिरहेका छन् ।

यी सबैका बाबजुद पनि ऋण र लगानीमा पहुँचको कमी, व्यावसायिक तालिमको अभाव, सामाजिक र पारिवारिक दबाब, कमजोर बजार व्यवस्थापन आदिले महिला उद्यमीहरू सोचेजसरी सफल हुन सकेका छैनन् । यद्यपि घरायसी काममा सीमित महिलाहरूको उद्योग व्यवसायमा पछिल्लो समय देखिएको बलियो उपस्थिति सकारात्मक छ । सरकारले ल्याएको महिला उद्यमीलक्षित कार्यक्रम पूर्णपालना गर्न सके उद्योग व्यवसायमा महिलाको सहभागिता अझ सशक्त हुनेमा दुई मत छैन ।

uae

सम्बन्धित खबर