२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

स्वदेशी ब्रान्ड संसारभर

Nada
रोजिना प्रधान राई
२०८३ वैशाख २ गते १२:४५
Shares
स्वदेशी ब्रान्ड संसारभर

म पढ्नका लागि बेलायत गएकी हुँ । अहिले स्वदेशमै लगानी गर्ने मनसाय लिएर यहाँ सक्रिय भएकी छु । यो अवस्थामा आइपुग्नका लागि लामो संघर्ष र उतारचढाव व्यहोरेकी छु । विदेशमा पुगेका अधिकांश नेपालीले त्यस्तै उतारचढाव व्यहोरेका हुन्छ । अर्थात् निकै दुःख गरेर विदेशमा आफूलाई उभ्याउँछन् । त्यसपछि कतै लगानी गर्नका लागि थप दुःख गर्नुपर्ने त छँदै छ । 

ncell

बेलायत पुगेपछि अधिकांश नेपालीको जस्तै पढ्ने, बस्ने र खाने खर्च त्यहीँ काम गरेर जुटाउनेतर्फ लागेँ । सुरुका पाँच/छ महिना सजिला भए पनि त्यसपछिका दिन अत्यन्त संघर्षमय थिए । अहिलेभन्दा नि त्यतिबेला त विदेश जाने भनेपछि पैसा टिप्न नै गएजस्तो बुझिन्थ्यो । घरबाट पैसा माग्ने कुरा पनि सधैं सम्भव हुँदैन । त्यसैले जेजस्तो काम पाइन्छ गर्ने हो । 

सुरुमै एक वर्षको शैक्षिक शुल्क बुझाएका कारण त्यसको चिन्ता भएन । तर अरू खर्च गर्नका लागि भने काम नै नगरी उपाय थिएन । त्यसकारण सुरुमा नर्सिङ होममा काम गरियो । लन्डनको अत्यन्त चिसोमा गाडी धुने कामसमेत गरियो । यी र यस्तै अनेक कामहरू सातामा २० घन्टासम्म गर्न पाइन्थ्यो । त्यस्तो सुविधालाई पूरै उपयोग गरियो । पारिश्रमिकबाट बचेको थोरै–थोरै रकम जम्मा गरेर त्यहीँ लगानी गर्न थालेकी थिएँ । त्यो व्यवसाय बिस्तारै बढ्दै गयो । अर्कोतर्फ मेरो मास्टर्स तहको पढाइ पनि पूरा भयो । 

त्यतै काम गर्न थालियो, विवाह पनि उतै गरियो । मेरो श्रीमान् हीराधन राई, जो ब्रिटिस गोर्खा हुनुहुन्छ, उहाँ पनि एकदमै सहयोगी भइदिनुभयो । उद्यम गर्दा हरेक विषय समाधान गर्न मद्दत गर्नुभयो । आज मेरो सफलतामा उहाँ एउटा प्रमुख कारक हुनुहुन्छ । उहाँ र छोरा रोहिजबाट अभिभावकले जस्तै साथ र सहयोग पाइयो । उहाँहरूले अघि बढ्न हौसला दिनुभयो ।

विवाहपछि पनि एसियाली महिला संगठनलगायत थुप्रै ठाउँमा काम गर्न र सक्रिय हुन उहाँकै कारणले सकियो । त्यो फोरममा नेपाल र नेपालीका लागि काम गर्दागर्दै गैरआवासीय नेपाली संघ(एनआरएनए)मा सक्रिय हुन थालेँ । अहिले त्यो संस्थाको उपाध्यक्ष छु । एनआरएनएमा काम गर्न थालेपछि थाहा भयो, संसारभरि छरिएका नेपालीका त्यहीँ जन्मिएका सन्तान अर्थात् दोस्रो पुस्तालाई नेपाली भूमि र नेपाली भावनासँग कसरी जोड्ने भन्ने प्रमुख मुद्दा रहेछ । त्यसैगरी नागरिकता र सम्पत्तिसम्बन्धी मुद्दा रहेछ भन्ने पनि थाहा भयो । 

त्यस्ता मुद्दा मनपरेर एनआएएनएसँग जोडिएकी हुँ । भूकम्पका बेला स्वदेशी दिदीबहिनी दाजुभाइलाई सहयोग गर्ने काममा सक्रिय भएँ । बाढी–पहिरोका बेला पनि त्यतै बसेर सहयोग गरिरहेको थिएँ । 

त्यसपछि कोरोना महामारीका बेला पनि एकैपटक तीन–चार सयजना नेपाली विद्यार्थी बेलायत जानुभएको थियो । एक ढंगले त्यहाँ बिजोग देखिन्थ्यो । आफू पनि बिरामी नै थिएँ । महामारीका कारण दुई वर्षसम्म उतै बस्नुप¥यो, नेपाल आइएन । त्यसबेला ओहो देशमा के भइरहेको होला ? भन्ने मनमा लाग्थ्यो । त्यो नेपालप्रतिको प्रगाढ माया थियो ।

त्यतिबेलै आफूले जानेको सीप र सामथ्र्यलाई नेपालका लागि किन प्रयोग नगर्ने भन्ने दिमागमा आयो । अनि २०२१मा लगानीका सम्भावना खोज्दै नेपाल आएँ । विदेश गएपछि पहिलोपटक सात महिना नेपाल बसेर लगानीका सम्भावना अध्ययन गर्न थालेको थिएँ ।

सो क्रममा कोशी प्रदेशस्थित सुनसरीको बर्जु गाउँपालिका ६मा रहेको बर्जु ताल फेला प¥यो । कुल १ सय ५२ देखि १ सय ६५ बिघा क्षेत्रफलमा फैलिएको यो ताल प्राकृतिक र ऐतिहासिक सिमसार क्षेत्र रहेछ । महाभारतकालमा पाण्डवहरूले विराट राज्यमा गुप्तवास बस्दा यस तालको छेउमा समय बिताएको मानिने यो ताल पिकनिक (वनभोज), नौकाविहार, र चरा अवलोकनका लागि निकै प्रसिद्ध रहेछ । त्यहाँ हामीले कुल ११ अर्बको लगानी परियोजना तय ग¥यौं । पहिलोपटक ४ अर्ब ९९ करोड लगानी हुँदै छ । कफीमा नेपालकै सुपर ब्रान्ड मानिने हिमालयन जाभामा पनि लगानी गरेकी छु । त्यसलाई विदेशमा समेत फैलाउने ध्येय छ । उताबाट केएफसी आदि ब्रान्ड आउँछन् भने म हिमालयन जाभाजस्ता नेपाली ब्रान्डलाई विश्वभर पु¥याउन चाहन्छु । 

लगानीका थप क्षेत्र पहिल्याउन एनआरएनए लागिपरेको छ । भर्खरै म यो संस्थाको कल्याण शाखाको प्रमुखसमेत भएकी छु । त्यसभित्र पनि थुप्रै विधाका शाखा छन् । नागरिकताको मुद्दा हेर्न अलग शाखा छ । त्यस्तै, गोर्खा सिपाहीसम्बन्धी संस्था क्रियाशील छ । नेपाली मूलका नागरिकसम्बन्धी अभियान चलेको छ, हामीले त्यसलाई पनि मद्दत गर्नुपरेको छ । 

अर्को कुरा, म आफैं ट्वेक्सबरी काउन्सिलअन्तर्गत बेलायती सरकारको एक स्थानीय जनप्रतिनिधि हुँ । त्यहाँका नागरिकप्रति पनि मेरो जिम्मेवारी छ । म अब त्यता जाँदै छु । नेपालीका सन्तानलाई नेपाली पढाउन विद्यालय चलाउने योजना हाम्रो छ । यसरी सांसद हुँदै अझ उच्चस्तरीय जिम्मेवारीमा पुग्ने हो । 

एनआरएनएको लगानीका लागि नेपालका बाधाहरू भनिसाध्य नै छैन । फाइल बोकेर मन्त्रालय धाउनुपर्ने, एउटा कामबारे बुझायो, अर्को हाकिम आउँदा ठिक त्यसैगरी बुझाउनुपर्ने आदि समस्या छन् । अबको सरकारले त्यस्ता बाधा पन्छाउला भन्ने आशा छ । हामीले नयाँ सरकारका विभिन्न मन्त्रीसँग एनआरएएले भोग्नुपरेका अप्ठ्याराबारे पनि कुरा गरेका छौं । 

(राई एनआरएनएका उपाध्यक्ष हुन् ।) 

uae

सम्बन्धित खबर