२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

करुणा र शान्तिको मार्ग

Nada
डा. उद्धव पुरी
२०८३ वैशाख २ गते ०७:५४
Shares
करुणा र शान्तिको मार्ग

बौद्धदर्शन व्यावहारिक ज्ञानको सागर हो । यसका सिद्धान्तहरू विज्ञानसम्मत छन् । गौतम बुद्ध आफैंले पनि ‘मलाई भगवान् मानेर मेरा कुरालाई स्वीकार नगर, त्यसलाई अनुभव गरेर चित्त बुझेमा मात्र मान’ भनेका थिए । विज्ञानका सूत्रहरू सिद्ध गर्न सकिने मात्र हुन्छन्, त्यस्तै गौतम बुद्धका उपदेशलाई पनि मानिन्छ । ती कुराहरूलाई धेरै बौद्ध आचार्य वा भिक्षुहरूले विभिन्न कालखण्डमा प्रमाणित गरेका छन् । वास्तवमा बौद्ध शिक्षा वा गौतम बुद्धको ज्ञानको मूल धेय दुःख निवारण हो । जसबाट आफू, अरू र विश्व चराचर जगत्मा शान्ति मिलोस् भन्ने हो । जसका लागि अभ्यासको जरुरत पर्दछ, त्यसमा हामी अभ्यस्त भइरहँदैनौं र बुद्धको पञ्चशीललाई निम्नतम रूपमा पनि पालना गर्न सकिरहेका छैनौं । त्यसैले हामी रिसले भरिएका छौं । जुन बुद्धमा शून्य थियो । 

ncell

बौद्धदर्शनमा बुद्धका वचनलाई सूत्र वा मन्त्रको रूपमा पनि मानिन्छ । तिनका सम्बन्धमा थप पुष्टिपूर्ण ग्रन्थहरू बनेका छन् । जुन बुद्धको मूल देशनासँग भिन्न हुँदैनन् । बरु अरू धर्ममा र बौद्धदर्शनमा धर्म, भगवान्, सूत्र र मन्त्रको अर्थ फरक व्याख्यामा रहेको देखिन्छ । जनउपयोगी प्रसंग रिसलाई कसरी जित्न सकिन्छ वा आफ्नो बहसमा ल्याउन सकिन्छ र दुःखबाट कसरी मुक्त हुन सकिन्छ भन्ने विषय हरेक मानिसको लागि महत्वपूर्ण हुन्छ । बौद्ध विद्यमान आचार्य शान्तिदेवले आठौं शताब्दीमा यही सिद्धान्तका लागि बोधिचर्यावतार नामक ग्रन्थ तयार पारेका थिए । यसलाई महायानी बौद्धहरू आफ्नो जीवनचर्याको उत्तम सूत्र वा मन्त्र मान्दछन् । जसका बारेमा सामान्य चर्चा पनि आजको सन्दर्भका लागि उपयोगी बन्न सक्दछ । आचार्य शान्तिदेव सन् ६९१ देखि ७४३ तिरका हुन् । उनी हालको गुजरातका राजपरिवारका सन्तान थिए । उनी आफ्नो राज्यारोहणको अघिल्लो दिन घर छोडी हिँडेका थिए । महायान बौद्ध धर्मका ठूला ज्ञाता वा गुरु वर्गमा रहेका उनी त्यस बेलाको नालन्दा विश्वविद्यालयमा सूत्र र तन्त्रको शिक्षक पनि बने । उनले बोधिचर्यावतार लगायत अन्य दुई विशिष्ट ग्रन्थ पनि तयार पारेका थिए । हालको चीन–तिब्बत क्षेत्रमा उनको दर्शन वा वोधिसत्व आचरणका कुराहरू पाठ्यक्रममा नै समावेश गरिएको छ । यसले मानिसमा करुणा उत्पन्न गराई शान्त बनाउन सघाउँदछ ।

मानिसमा उत्पन्न हुने रिस वा घमन्डले नै संसारमा दुःख वा विनाशहरू निम्त्याएको छ । अझ सत्ताको नजिक हुने, शासक हुने वा राजनीति गर्नेहरूमा उत्पन्न रिस र त्यसपछिको बदलाको भावनाले अरू मात्र हैन आफू पनि सिद्धिएको वा बदनामी भोग्न परेको उदाहरणहरू जति पनि पाइन्छन् । नेपालको हालको आन्दोलन र राजनैतिक परिवर्तनमा पनि यस्तै दृश्य परिदृश्य बढिरहेको अनुमान गर्न सकिन्छ । रिसका कारणले बदला र घृणालाई शिरमा चढाएको हुन्छ । प्रतिशोधको क्रियाकलापले थप समस्या वा कठिनाइहरू थपिँदै जान्छ । त्यसैले आजको विश्वमा बुद्धको चार आर्य सत्यको महत्व र अपरिहार्य देखिएको हो र बुद्धको शिक्षालाई जीवन उपयोगी मानिएको हो । यसै विषयमा आचार्य शान्तिदेवले रिसलाई कसरी जित्ने भन्ने सम्बन्धमा एकदमै सरल उपायहरू सुझाएका छन् । उनका सुझाव वा सूत्र सामान्य, चिन्तनयोग्य र व्यावहारिक छन् । 

यहाँ अर्थात् बौद्ध सिद्धान्तमा अरूलाई सुधार्ने वा ज्ञान दिने क्षमता कुनै स्वार्थमा हैन आफूले अनुभव गरेर मात्र सफल भएका छन् । शान्तिदेवको जीवन र दिनचर्या पनि त्यस्तै छ । त्यसैले विशेषगरी महायान बौद्ध धर्मलाई मान्ने सबै देश वा अनुयायीहरूले आदर्श आचार्य मान्दछन् । उनको हरेक ग्रन्थहरूको सबैभन्दा पहिले तिब्बती भाषामा अनुवाद भएको थियो । तिब्बतमा बौद्ध धर्म व्यापक भएका कारण भारतमा भएको मुसलमानी आक्रमणबाट धेरै बौद्ध ग्रन्थहरू जोगाउन सकिएको देखिन्छ । त्यसबेलाका विश्व प्रख्यात विश्वविद्यालय भनेकै नालन्दा, तक्षशिला, विक्रमशिलालगायत थिए । जसमा बौद्ध धर्मसँगै अरू धर्महरूका सम्बन्ध र दर्शनका बारेमा पनि तार्किक अध्ययन हुन्थ्यो । तिनीहरूमा लगाइएको आगोमा बौद्ध र सनातनका धर्म, सूत्र र तन्त्रका ग्रन्थहरू करिब आधा वर्षसम्म जलिरहेको ऐतिहासिक विवरण पाइन्छन् । रिस, घमन्ड र प्रतिशोधका यस्ता भावनाले मानव सभ्यताका विगतका उपलब्धि, वर्तमान र भावी पुस्तासम्म हस्तान्तरण हुनै दिँदैनन् । हामीले पनि विगतमा यस्तै भोग्दै आएका छौं । बौद्ध ज्ञानीहरू परिवर्तनको आन्दोलन हिंसामा देख्दैनन् बरु विचार र सिद्धान्तमा देख्दछन् । त्यसैले आफूसँगको सिरलाई जित्नु वा अरूको रिसलाई शान्त पार्नु आवश्यक ठानिन्छ । 

रिसलाई कसरी जित्ने भन्ने सम्बन्धमा शान्तिदेवले तीन उपाय वा सूत्र सुझाएका छन् । उनको दृष्टिकोणअनुसार सामान्य मानिसको स्वभाव रिसमुक्त हुँदैन । त्यसैले पहिलो कुरा भनेको रिस कति तर्कहीन हुन्छ भन्ने बुझ्नुपर्दछ र कुनै पनि कुराको वा समस्याको समाधान हुन्छ भन्ने पनि ठान्नुपर्छ । त्यसैले किन थप रिसाउने बरु समाधान खोज्नतिर लाग्नुपर्दछ । मानौं यदि कतै समाधान देखिँदैन भने त्यस विषयमा रिसाउनु झन् व्यर्थ हुन्छ । त्यहाँ रिसको समाधान रिस नै बनाउन खोज्नु विनाश मात्रै हुन्छ । मुख्यतः रिसको समाधान वा अन्त्य समाधानको उपायबाटै हुन्छ । जुन कतै न कतैबाट सम्भव हुन्छ भन्ने ठानी प्रयास गर्नुपर्दछ । शान्तिदेवले रिसलाई शान्त पार्ने वा समाधान गर्न दोस्रो सूत्रको रूपमा शत्रुलाई नै गुरु मान्न भनेका छन् । किनभने जसबाट वा जसले हामीलाई दुःख दिन्छ उसले हामीलाई धैर्य र सहनशीलताको मार्ग देखाउँछ । यसलाई अर्को शब्दमा शान्तिको बाटो खोज्न निर्देश गर्दछ वा यही मानिसको रिसले नै शान्ति खोजेको हो भन्ने ठान्नुपर्दछ । त्यसैले रिसलाई मानिसले शान्ति खोज्ने एउटा मौका हो भनी शान्त रहनुपर्दछ । 

शान्तिदेवले रिसलाई शान्त पार्ने तेस्रो सूत्रको रूपमा रिसलाई करुणामा बदल्न सिक्नुपर्दछ भन्नुभएको छ । अर्थात् यहाँ तार्किक अर्थ छ, उनको विचारमा रिसाएको मान्छे वास्तवमा एक किसिमको बिरामीजस्तै हो । उसको भावना वा सोच उसकै काबुमा हुँदैन । त्यसैले ऊसँग थप रिसाउनुको कुनै समाधानको मौका नै होइन । जस्तो कि हामी बिरामीसँग रिसाउँदैनौं । उसलाई पनि त्यही अर्थमा हेरिनुपर्दछ । त्यसैले रिसप्रति वा रिसाएको मानिसप्रति करुणा र दया राख्नुपर्दछ । यसले रिस बढाउँदैन, घटाउनतिर लाग्दछ । त्यसैले रिसलाई समस्याको रूपमा नलिएर आफ्नो विवेक र करुणा बढाउने एउटा माध्यम वा अवसरको रूपमा लिन सक्नुपर्दछ । किनभने रिस जोसुकैका लागि पनि एउटा यस्तो खराब भावना हो जसले त्यसअघिका सबै पुण्य कार्य र भावी खुसीका सबै कुरालाई समाप्त पारिदिन्छ । जसलाई हामीले देश र देशबाहिरका गतिविधिमा देख्दै र भोग्दै आएका पनि छौं । 

गौतम बुद्ध र उनको जीवनकालमा रिसलाई कसरी शान्त पार्न सकिन्छ र रिसाएको व्यक्ति कसरी शान्तिमार्गमा लाग्न सक्दछ भन्ने उदाहरणयोग्य केही घटना पनि छन् । जस्तो कि अंगुलीमाल जसले मानिसको हत्या गर्दै प्रमाणका लागि औंलाको माला लगाउँदै हिँड्दथ्यो । ऊ यति रिसाहा थियो कि उसको अगाडि पुगेका कोही पनि बाँच्न पाउँदैन थियो । उसलाई त्यस बेलाको कुख्यात डाँका मानिन्थ्यो । तर बुद्धसँगको जम्काभेटमा बुद्धको करुणा भाव देखेर उसले आफ्नो स्वभावलाई नै परिवर्तन गरी भिक्षु बन्यो । बुद्धको प्रख्यातिसँग जलन भएर बुद्धको विरुद्धमा लागेका केही भिक्षुहरूकै त्यसरी नै परिवर्तन भएका छन् । त्यसो त बुद्धको महापरिनिर्माणको लामो समयपछि सम्राट अशोक पनि एउटा बालक भिक्षुको स्वभावबाट त्यसरी नै परिवर्तन भएर पछि संसारभर बौद्ध धर्मप्रचारक बने । त्यसैले रिस समस्याको समाधान होइन बुद्धको शिक्षाको मूल मार्गमा आधारित भएर शान्तिदेवले सुझाएका सूत्र वा उपाय अहिलेको मानव जीवनलाई रिसका कारण उत्पन्न हुने दुःखबाट करुणा वा शान्ति मार्गमा लैजाने असल र उत्तम उपाय हुन सक्दछ । यसलाई बौद्धमार्गीहरू बोधिसत्व आचरण मार्ग पनि भन्दछन् । 

uae

सम्बन्धित खबर