
नयाँ वर्ष २०८३ लाई पछिल्लो २० वर्षयताकै सबैभन्दा बढी आशावादी वर्षको रूपमा हेरिएको छ । नेपालको राजनीतिक अस्थिरताले देशको अर्थतन्त्रलाई लयमा ल्याउन नसकिरहेको अवस्थामा नयाँ वर्षसँगै दुईतिहाइको सरकारप्रति आमजनमा आशा र उत्साह थपिदिएको छ । राजनीतिक स्थिरता नै अर्थतन्त्रको महत्वपूर्ण आधार हो । अर्थतन्त्रलाई ट्रयाकमा परिचालन गर्नका लागि राजनीतिक नेतृत्वको दृढ इच्छाशक्ति र स्थायित्वले सबैभन्दा धेरै भूमिका निर्वाह गरेको हुन्छ ।
नेपालको प्राकृतिक सम्पदादेखि कृषि, पर्यटन, ऊर्जा, जडीबुटीमा क्षेत्रमा नेपालमा अपेक्षित काम हुन सकिरहेको छैन । राजनीतिक तहबाटै हुने भ्रष्टाचार, दीर्घकालीन रणनीतिको अभाव नै नेपालको अर्थतन्त्रमाथि उठ्न नसक्नुको प्रमुख कारण हो । पछिल्लो सरकारप्रति निजी क्षेत्र र आमनागरिकले विश्वास गरेका छन् । सरकारले पहिलो कदमकै रूपमा जनआकांक्षा र सुशासनकेन्द्रित नीतिमा जोड दिएको छ । पाँचवर्षे स्थिर सरकारलाई काम गरेर देखाउने अवसरसमेत छ । आमनागरिकले देशको मुहार फेर्ने सपना देखिरहेका छन् । नयाँ वर्षको सुरुआतमै आएको सरकारले आगामी पाँच वर्ष त्यसलाई साकार बनाउने रोडम्याप बनाएर अघि बढ्नुपर्छ ।
नयाँ वर्षसँगै देशको शासकीय नेतृत्व नयाँ पुस्ताको हातमा गएको छ । अर्थतन्त्रमा सकारात्मक परिवर्तनका लागि जनताले पुराना पुस्तालाई हटाएर नयाँको जिम्मा दिएका छन् । नयाँ पुस्ताले र आमजनताले देखेको सपना देशको अर्थतन्त्रमा सुधार नै हो । जनतामा व्यक्तिगतभन्दा समग्र देशकै उन्नति–प्रगतिको सोच देखिन्छ । राष्ट्रको समग्र विकास, जनताको जीवनस्तर, रोजगारीको अवस्था, उद्योग–व्यवसायको प्रगति राजनीतिक स्थायित्वले नै अर्थतन्त्रलाई दह्रो बनाउन सक्छ । देशको अर्थतन्त्र सुदृढ र मजबुत हुनेबित्तिकै नागरिकको चाहना सम्बोधन गर्न सकिन्छ ।
यो नयाँ वर्ष अर्थतन्त्रका लागि आशा, उत्साह र सपनाको वर्ष मात्र नभएर पुरानो पुस्ताबाट नयाँ पुस्ताको नेतृत्वको वर्षसमेत हो । हामीभन्दा कमजोर मुलुकले गरेका प्रगति पछ्याउन नयाँ वर्ष २०८३मा तीव्र गतिमा सुशासन, उद्यम र नीतिगत परिर्वतनको आवश्यकता छ । यो वर्ष अरू वर्षजस्तो आउने र जाने मात्र वर्ष बन्नुहुँदैन । यसले देशले खोजेको र चाहेको दृष्टिकोण बनाउन आवश्यक छ । यो वर्षले सकारात्मक अपेक्षा र भविष्यप्रतिको विश्वास खोजेको छ । अर्थतन्त्र बदलाव आउनका लागि सरकारको नीति, गति र इच्छाशक्ति एक भएर जुट्नु आवश्यक छ । स्पष्ट, प्रभावकारी र जनमुखी काम गर्दै गएको खण्डमा नयाँ वर्षलाई अवसरको वर्षको रूपमा हेर्न सकिन्छ ।
लगानी विस्तार र प्रोत्साहन
मुलुकको आर्थिक उन्नतिका लागि लगानीको वातावरण नै प्रमुख हो । लगानीसँगै उत्पादन र रोजगारीको सिर्जना हुँदा लगानी विस्तारका लागि यो वर्ष सरकारले बहार ल्याउनेगरी कार्यक्रम अघि बढाउन आवश्यक छ । नयाँ सरकार बनेसँगै निजी क्षेत्रसमेत उत्साहित भएको छ । लगानीका लागि सरकारले सहजीकरणको वातावरण बनाउने हो भने कोभिडयता खस्किएको निजी क्षेत्रको मनोविज्ञान माथि उठ्न सक्छ ।
लगानीका लागि ठुला उद्योगसँगै साना, घरेलु तथा मझौला उद्योगलाई पनि नीतिगत र बैकिङ सहजता बनाइदिने हो भने मात्र स्वदेशमै रोजगारीको वातावरण बन्ने देखिन्छ ।
उद्योग व्यवसायमा लगानीको वातावरण बनाउन विदेशबाट आयात हुने कृषि उपज र उत्पादनलाई घटाउने र देशभित्रै उत्पादनमुखी उद्योग खोल्ने वातावरण निर्माण गर्नुपर्छ । यो वर्ष आमजनतामा उत्साह जगायो भने आगामी वर्षबाटै देशमा केही गर्न सकिन्छ भन्ने सोचको विकास गर्न सकिन्छ । उद्योगी, व्यवसायी, कृषकदेखि विदेशमा रोजगारीमा गएको व्यक्तिलाई समेत स्वदेशमा ल्याउन सकियो भने अर्थतन्त्रको चक्र नै अगाडि बढ्ने देखिन्छ । विदेश गएका व्यक्ति नयाँ योजनासहित फर्किने वातावरण बन्ने हो भने स्वदेशमै लगानीको क्षेत्रको विस्तार हुनेछ । विदेशबाट आउनेले नयाँ प्रविधि, डिजिटल प्रणाली र अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्ने क्षमता बोकेर आएका हुन्छन् । उनीहरूको क्षमता सदुपयोग गरेर सूचना प्रविधि, पर्यटनलगायत क्षेत्रमा लगानी बढाउन सकिन्छ । अर्थतन्त्र बलियो भएमा आमनागरिकको जीवनमा समेत सुधार ल्याउन सकिन्छ । आगामी आर्थिक वर्ष विकासोन्मुख नेपालको अर्थतन्त्र कता जान्छ भन्ने संकेत देखाउने वर्षसमेत हो ।