
‘नाच्न नजान्ने आँगन टेढो’ भन्ने उखान नेपाली राजनीतिक यथार्थ बुझ्न आज पनि उत्तिकै सान्दर्भिक छ । विचारधाराको नाममा ठुलो दाबी गर्ने, तर व्यवहारमा परिणाम दिन नसक्ने प्रवृत्ति अहिलेको नेपाली वामपन्थको सबैभन्दा ठुलो समस्या बनेको छ । वामपन्थ आफैंमा कुनै खोक्रो अवधारणा होइन, यसको जरा गहिरो ऐतिहासिक र दार्शनिक पृष्ठभूमिमा गाडिएको छ । सन् १७८९को फ्रान्सेली क्रान्तिपछि फ्रान्सको राष्ट्रिय सभामा देखिएको ‘बायाँ’ र ‘दायाँ’को विभाजनले राजनीतिक विचारधाराको नयाँ युग सुरु गर्यो । त्यहीँबाट वामपन्थ भन्ने शब्दले परिवर्तन, समानता र सामाजिक न्यायको प्रतीकको रूपमा अर्थ पायो ।
वामपन्थको सैद्धान्तिक जग निर्माणमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सको योगदान निर्णायक छ । उनीहरूले वर्गसंघर्ष, उत्पादनका साधनमाथिको नियन्त्रण र श्रमिक वर्गको मुक्तिको सवाल उठाए । वामपन्थको मूल मर्म भनेको समाजमा विद्यमान असमानता घटाउनु, श्रमिक र सीमान्तकृत वर्गलाई सशक्त बनाउनु र राज्यलाई कल्याणकारी दिशामा उन्मुख गराउनु हो । तर, सिद्धान्त र व्यवहारबीचको दूरी जब अत्यधिक बढ्छ, त्यहीँबाट संकट सुरु हुन्छ ।
नेपालको सन्दर्भमा आफूलाई वामपन्थी दाबी गर्ने शक्तिहरूको इतिहास लामो छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले एक दशक लामो जनयुद्धमार्फत राज्य पुनःसंरचनाको नारा उठायो भने नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संसदीय राजनीतिमार्फत समाजवादको बाटो समात्ने दाबी गर्यो । तर, यिनै शक्तिहरू पटक–पटक सत्तामा पुग्दा पनि जनताले अपेक्षा गरेको संरचनात्मक परिवर्तन हुन सकेन । ‘हात्ती आयो, हात्ती आयो, फुस्सा भयो’ भन्ने उखान यहाँ ठ्याक्कै मेल खान्छ ।
यो असफलताको कारण केवल बाह्य परिस्थिति होइन, आन्तरिक विचलन पनि हो । वामपन्थी भनिएका दलहरू क्रमशः सत्ताकेन्द्रित, अवसरवादी र आसेपासे पुँजीवादका संरक्षक बन्दै गए । वर्गसंघर्षको नारा दिनेहरू आफैं सत्ताको संरक्षणमा रमाउन थालेपछि विचारधाराको विश्वसनीयता कमजोर हुनु स्वाभाविक थियो । परिणामस्वरूप, वामपन्थको नाममा राजनीति गर्नेहरू र वास्तविक वामपन्थी मूल्यबीच ठुलो खाडल सिर्जना भयो ।
यसैबीच, नयाँ पुस्ताले उठाएको आन्दोलनहरूले एउटा गम्भीर प्रश्न खडा गरेका छन्– राज्य किन आफ्नै नागरिकप्रति यति कठोर हुन्छ ? जब निहत्था युवाहरू सडकमा उत्रिन्छन्, उनीहरूमाथि गोली किन चलाइन्छ ? राज्यले प्रयोग गर्ने हिंसा ‘वैध’ र जनताले गर्ने प्रतिरोध ‘अवैध’ कसरी हुन्छ ? यी प्रश्नहरूको उत्तर खोज्दै जाँदा पुनः फ्रेडरिक एंगेल्सका लेखनहरू सान्दर्भिक देखिन्छन्, जसले राज्यलाई शासक वर्गको उपकरणका रूपमा व्याख्या गरेका थिए ।
नेपालको वर्तमान राजनीतिक संरचना हेर्दा, औपचारिक रूपमा लोकतन्त्र भए पनि व्यवहारमा यो ‘अभिजात लोकतन्त्र’जस्तो देखिन्छ, जहाँ निर्णय प्रक्रियामा सीमित वर्गको प्रभाव बढी हुन्छ । यस्तो अवस्थामा वामपन्थी शक्तिहरूको भूमिका अझ महत्वपूर्ण हुनुपर्ने हो– जनताको चेतना विस्तार गर्ने, वर्गीय मुद्दाहरू उठाउने र वैकल्पिक राजनीतिक कार्यक्रम प्रस्तुत गर्ने । तर विडम्बना के छ भने, चुनावी राजनीतिभन्दा बाहिर रहेका कथित ‘कट्टर’ वामपन्थी समूहहरू नै सबैभन्दा निष्क्रिय देखिन्छन् ।
आन्दोलनका महत्वपूर्ण क्षणहरूमा उनीहरूको अनुपस्थिति गम्भीर प्रश्न हो । जनताको स्वतःस्फूर्त आन्दोलनलाई संगठित र दिशानिर्देश गर्ने काम नै ‘अगुवा दस्ताको’ हो । भ्लादिमिर लेनिनले पनि क्रान्तिका लागि सचेत, संगठित र अनुशासित पार्टीको आवश्यकता औंल्याएका थिए । तर, नेपालको सन्दर्भमा यस्ता समूहहरू न त जनतामाझ पुग्न सकेका छन्, न त कुनै ठोस वैकल्पिक कार्यक्रम दिन सकेका छन् ।
बरु, उनीहरू जनतालाई नै दोष दिने प्रवृत्तिमा देखिन्छन् । जनताले नयाँ विकल्प रोजे भने ‘अचेत’, ‘प्रभावित’ वा ‘दक्षिणपन्थी’ भन्ने आरोप लगाइन्छ । यस्तो दृष्टिकोणले राजनीतिक दूरी अझ बढाउँछ । यदि तपाईं जनतालाई नै तिरस्कार गर्नुहुन्छ भने उनीहरूको प्रतिनिधित्व गर्ने दाबी कसरी गर्न सक्नुहुन्छ ? विचारधारा केवल किताबमा सीमित रह्यो भने त्यसको कुनै अर्थ हुँदैन, त्यो जनजीवनमा उतार्नुपर्छ ।
अर्कोतर्फ, नयाँ राजनीतिक शक्तिहरूको उदयलाई ‘फाँसीवाद’ भन्दै खारेज गर्ने प्रवृत्ति पनि बौद्धिक आलस्यको उदाहरण हो । कुनै पनि नयाँ शक्ति स्वतः प्रगतिशील वा प्रतिक्रियावादी हुँदैन; त्यसको मूल्यांकन व्यवहार, नीतिहरू र कार्यशैलीका आधारमा गर्नुपर्छ । अन्धाधुन्ध लेबलिङले विश्लेषणलाई कमजोर बनाउँछ ।
नेपालमा विगतमा भएका घटनाहरूले पनि देखाएको छ कि शक्ति केन्द्रीकरण, संस्थामाथि हस्तक्षेप र असहमतिको दमन जस्ता प्रवृत्तिहरू केवल एउटा दल वा विचारधारामा सीमित हुँदैनन् । जब केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटनजस्ता कदम चाल्यो, त्यसले लोकतान्त्रिक संस्थामाथि प्रश्न उठायो । त्यस्ता प्रवृत्तिको विरोध गर्नु नै वास्तविक वामपन्थी चेतना हो, चाहे त्यो जुनसुकै दलबाट आएको किन नहोस् ।
आजको सबैभन्दा ठुलो प्रश्न भनेको– नेपालमा वास्तविक वामपन्थी शक्ति छ कि छैन ? यदि छ भने त्यो कहाँ छ ? जनताको बिचमा कि सामाजिक सञ्जालका बहसमा ? यदि वामपन्थले आफ्नो ऐतिहासिक भूमिका पुनः स्थापित गर्न चाहन्छ भने उसले आत्मसमिक्षा गर्नैपर्छ । विचारधारालाई पुनः परिभाषित गर्नु, संगठनलाई पुनः निर्माण गर्नु र जनतासँग सम्बन्ध पुनः स्थापित गर्नु अपरिहार्य छ ।
नत्र, नयाँ पुस्ताले फेरि शून्यबाट सुरु गर्नुपर्ने हुन्छ । इतिहासले देखाएको छ– जब स्थापित शक्तिहरू असफल हुन्छन्, नयाँ शक्ति जन्मिन्छ । त्यो शक्ति कस्तो हुन्छ भन्ने कुरा पुराना शक्तिहरूको असफलताले निर्धारण गर्छ । यदि वामपन्थले आफ्नो ठाउँ खाली छोड्छ भने त्यो ठाउँ अरूले भरिदिन्छन् । वामपन्थ कुनै नारा मात्र होइन, यो एउटा जिम्मेवारी हो । समानता, न्याय र मानव मर्यादाको पक्षमा उभिने जिम्मेवारी । त्यो जिम्मेवारीबाट पन्छिनेहरूलाई इतिहासले माफ गर्दैन । अहिलेको नेपाली वामपन्थीहरूको अगाडि यही परीक्षा छ– उनीहरू इतिहासको पाठ सिकेर अघि बढ्छन् कि फेरि उही गल्ती दोहोर्याउँछन् ।