२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सत्यनारायणलाई ३ लाख रुपैयाँ सहयोग

Nada
मनु यादव निरज
२०८२ पुष १५ गते २१:३६
Shares
सत्यनारायणलाई ३ लाख रुपैयाँ सहयोग

सिरहा : दैनिक मजदुरी गर्दै परिवार पाल्नेदेखि चिकित्सा शिक्षा प्राप्त गर्ने सपना पछ्याइरहेका सिरहा–बरियारपट्टीका २१वर्षीय सत्यनारायण साफी पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि छनोट भएका छन् । विपन्न पृष्ठभूमिबाट उठेका साफीका लागि गरिबी नै ठूलो चुनौती बनेको थियो, तर अहोरात्र परिश्रम र लक्ष्यप्रतिको समर्पणले अब उनको अध्ययन यात्रा केही सहज भएको छ ।

ncell

बरियारपट्टी गाउँपालिका–२, श्रीपुरका साफी बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म निर्माण मजदुरी गर्दै गिट्टी, बालुवा, सिमेन्ट बोकेर आम्दानी गर्छन् । सोही कमाइबाट घर खर्च, कर्जा किस्ता तिर्ने र अध्ययन तयारी—यिनैमा उनको समय बित्थ्यो । रातिको समय भने उनी प्रवेश परीक्षाको तयारीमा बिताउँथे । यस्तै संघर्षकाबीच दोस्रो प्रयासमै उनले यस वर्ष पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर सुरक्षित गरेका हुन् । 

छात्रवृत्ति प्राप्त गर्नु अघि साफीले नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र पाएको नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडबाट कर्जा लिएर तयारी अघि बढाएका थिए । मजदुरीबाट आएको सीमित आम्दानीले कर्जा चुक्ता गर्दै पढाइलाई निरन्तरता दिँदै आएका साफी परिवार र समाजका लागि उदाहरण बनेका छन् । 

उनीप्रति संस्थाले देखाएको विश्वास र कदरस्वरूप सोही संस्थाको शाखा कार्यालय बरियारपट्टी, सिरहाले मंगलबार आयोजित वित्तीय साक्षरता तथा सम्मान कार्यक्रममार्फत साफीलाई ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । सहयोगले साफीको एमबीबीएस अध्ययन यात्रा थप सहज हुने अपेक्षा गरिएको छ ।

सम्मान ग्रहण गर्दै साफीले भने,‘अब पढाइमा अझ सहजता मिल्नेछ । भविष्यमा विपन्न र संघर्षरत परिवारका लागि उपचारमा सहयोग गर्ने चिकित्सक बन्ने लक्ष्य छ ।’

कार्यक्रममा प्रमुख अतिथि बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष महतोले व्यक्तिगततर्फबाट ३१ हजार ५०० रुपैयाँ सहयोग घोषणा गर्दै गाउँपालिकाबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । विशिष्ट अतिथिमा उपाध्यक्ष ममता देवी यादव उपस्थित थिइन् ।

नेशनल लघुवित्तका सीइओ रामबहादुर यादवको अध्यक्षतामा भएको कार्यक्रममा नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादव, बरियारपट्टी गाउँपालिका–३ का वडाध्यक्ष विनोद यादव, नवराजपुर–२ का वडाध्यक्ष सुरेशकुमार यादव लगायत अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर