काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैंमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण आपूर्ति व्यवस्था अन्योलमा परेपछि कम्पनीले बिक्री नहुने जनाएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सूचना अधिकारी माधव मिश्रले जेनजी आन्दोलन र सडक अवराधका कारणले यस वर्ष खसी, बोका र च्याङ्ग्रा ल्याउन नसकिएको बताए । देशमा देखिएको परिवर्तित राजनितिक घटनाक्रमले खसी, बोका र च्याङ्ग्रा ल्याउने तयारी चरणमा असहज अवस्था सिर्जना गरेको उनको भनाइ छ ।
जेनजी आन्दोलनपछि पनि खसी, बोका र च्याङ्ग्रा ल्याउन कोसिस गरिएको भएपनि नसकेको उनले बताए । हाल सडक ३६ घण्टासम्म सडक अवरुद्ध भएको उल्लेख गर्दै उनले लामो समय खसी, बोका र च्याङ्ग्रालाई गाडीमा स्टक गरेर राख्दा समस्या हुने बताए ।
खसी, बोका र च्याङ्ग्रा मरेर झन ठूलो नोक्शानी हुने र त्यसको सन्देश पनि नराम्रो जाने भएकोले यो वर्ष नबेच्ने निर्णय गरेको सूचना अधिकारी मिश्रले बताए । उनले यसबाट आम उपभोक्तालाई केही असर पर्ने देखिएपनि निजी क्षेत्रले जटिल अवस्थामा सहयोग गर्ने विश्वास व्यक्त गरे ।
उनले मूल्यवृद्धि नगरी सुपथ मूल्यमा सेवा दिन पनि निजी क्षेत्रलाई आग्रह गरे । यो वर्ष खाद्यले खसी, बोका र च्याङ्ग्रा नबेचे पनि मूल्यवृद्धि नियन्त्रणका लागि अनुगमन भने गर्ने उनले बताए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खरिद विभागका विभागीय प्रमुख अनन्तराज पौडलले कम्पनीको वार्षिक कार्यक्रम अनुरुप चाडपर्वका बेलामा खसी, बोका र च्याङ्ग्रा बिक्रीका लागि सम्पूर्ण तयारी गरिएको भएपनि रोकिएको बताए ।
खरिदका लागि सम्बन्धित कार्यलयमार्फत स्थानीय तहहरुमा पत्राचार समेत भइसकेको अवस्थामा रद्द गरिएको उनले जानकारी दिए । उनकाअनुसार खाद्य कम्पनीले यस वर्ष अनलाइन प्रणालीमार्फत पनि खसीबोका बिक्री गर्ने योजना बनाएको थियो । अनलाइन पोर्टलमा आफूले चाहेको तौल, समूह, आफूले चाहेको खसी, बोका अथवा च्याङ्ग्रा सेलेक्ट गरेर डेलिभरी लिने मिति समेत राखेर लैजान मिल्ने गरी तयारी गरिएको उनले बताए । अनलाइन बुकिङमार्फत करिब ३० वटा अर्डर आएको उनले जानकारी दिए । तर जेनजी आन्दोलनका कारण सबै कार्यक्रम स्थगित गर्नुपरेको उनले बताए ।
कम्पनीले यसअघि करिब १ हजार ५ सय खसी, बोका र ३ सय च्याङ्ग्रा आपूर्ति गरी सुपथ मूल्यमा बिक्री गर्ने तयारी गरेको थियो ।