रौतहट : रौतहटका स्थानीय तहहरुमा सरुवा भएर कार्यभार सम्हाल्न आउने प्रमुख प्रशासकीय अधिकृतहरूले जिम्मेवारी सम्हाल्नु अघि कुनै पनि खाता निमित्तको नाममा नखुल्ने भएको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोद खड्काले सम्भावित अनियमितता रोक्नका लागि यस्तो निर्णय गरिएको बताए ।
प्रजिअ खड्काका अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटका प्रमुख देवीप्रसाद गौतमलाई यसबारे जानकारी गराइसकिएको छ । उनले शनिबार गौरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनुअघि निमित्तको नाममा खाता खोल्दा पछि आएका अधिकृतहरूको काममा समस्या पर्न सक्छ । त्यसैले यस्तो खाता खोल्न दिइँदैन ।’
प्रजिअ खडकाले थपे, ‘कोष प्रमुखले आफ्नो विवेकमा वा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार खाता खोलेमा त्यसको जिम्मेवारी म लिँदिनँ ।’
यसैबीच, नागरिक समाजका प्रतिनिधिहरूले पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको नाममा खाता खोल्दा भ्रष्टाचार बढ्ने सम्भावना रहेको भन्दै कोष तथा लेखा नियन्त्रण कार्यालय र प्रमुख जिल्ला अधिकारीसमक्ष चासो व्यक्त गरेका छन् ।
यो निर्णयले स्थानीय तहमा पारदर्शिता र जवाफदेहितालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।