काठमाडौं : उखुको अनुदान भुक्तानीको माग राख्दै आन्दोलनमा उत्रिएका उखु किसानले आन्दोलन जारी राखेका छन् । किसानले काठमाडौंको माइतीघरमा आइतबारदेखि सुरु गरेको आन्दोलनलाई बुधबार पनि निरन्तरता दिएका हुन् ।
उखु उत्पादन महासंघ नेपालका अध्यक्ष श्यामबाबु रायले आर्थिक वर्ष २०८१/८२ मा सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान भुक्तानी पाउनुपर्ने आफूहरुको मुख्य माग रहेको बताए ।
उनका अनुसार गतवर्ष सरकारले उखुको मूल्य प्रतिक्वीन्टल ६ सय ५५ रुपैयाँ तोकेको थियो । उक्त रकममध्ये उद्योगले ५ सय ८५ रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान किसानलाई दिनुपर्नेछ । तर सरकारले ७० रुपैयाँ अनुदान नदिएको अध्यक्ष रायले बताए ।
सरकारले आर्थिक अभाव देखाएर उखु किसानको अनुदानलाई आधा कटौती गरेको छ । प्रतिक्वीन्टल ३५ रुपैयाँले किसानलाई अनुदान उपलब्ध गराउनेगरी अर्थ मन्त्रालयले मंगलबार ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ निकासा गरेको छ । तर सो रकममा किसानले चित्त बुझाएका छैनन् ।
अध्यक्ष रायले ७० रुपैयाँका दरले हुन आउने एक अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान निकासा गर्न सरकारसँग माग गरे । किसानले पाउने अनुदानको रकम घटाउनेगरी सरकारसँग वार्तामा आफूहरु नबस्ने पनि अध्यक्ष रायले बताए ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मंगलबार कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंहको नेतृत्वमा उखु किसानसँग वार्ता गर्नका लागि समिति गठन गरेका छन् ।
उखु किसानले ‘उखु किसानको अनुदान कटौती गर्न पाइँदैन’, ‘उखु कृषक शोषण बन्द गर’, ‘किसानसँग भएका सम्झौता लागू गर’ लगायत माग लेखिएको प्लेकार्ड बोकेका प्रदर्शन गरेका छन् । नेपाल उखु उत्पादक महासंघको नेतृत्वमा किसाहरु सडक आन्दोलनमा होमिएका हुन् । उखु किसानको आन्दोलन भदौ १५ गतेसम्म चल्ने उखु उत्पादन महासंघका अध्यक्ष रायले बताए । उक्त बेलासम्म पनि सरकारले आफ्नो माग पूरा नगरे दोस्रो चरणको आन्दोलन घोषणा गर्ने अध्यक्ष रायले जानकारी दिए ।