२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम

Nada
२०८२ भदौ ९ गते १२:०६
Shares
धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम

काठमाडौंः धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण रु. ४६ खर्ब ५६ अर्व ९९ करोड कायम गरिएको हो ।

ncell

२०८१ असार मसान्तमा बजार पुँजीकरण रु. ३५ खर्ब ५३ अर्ब ६८ करोड रहेको थियो । ०८१ असार मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ६२.२५ प्रतिशत रहेकोमा २०८२ असार मसान्तमा ७६.२५ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा २२४०.४१ रहेको नेप्से सूचकाङ्क २०८२ असार मसान्तमा २७९४.७९ कायम भएको छ । २०८२ असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ७२ पुगेको छ ।

सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका रहेका छन् । २०८१ असारमा सूचीकृत कम्पनीहरूको संख्या २७० रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५४.१ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.८ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ असार मसान्तमा सूचीकृत ८ अर्ब ८२ करोड शेयरको चुक्ता मूल्य रु. ८ खर्ब ६९ अर्ब ८६ करोड रहेको छ । आर्थिक वर्ष २०८१/८२ मा रु.४० अर्ब २१ करोड बरावरको साधारण शेयर, रु.२४ अर्ब ४२ करोड बराबरको बोनस शेयर, रु. १३ अर्ब २३ करोड बराबरको हकप्रद शेयर, रु. १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु. ११ करोड २० लाख बराबरको एफपीओ र रु. ३ अर्व ९६ करोड बराबरको अन्य शेयर गरी कुल रु. ८३ अर्ब १९ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१५ अर्व ४१ करोड बराबरको हकप्रद शेयर, रु.१५ अर्ब २० करोड बरावरको म्युचुअल फण्ड, रु. १० अर्ब ६२ करोड बराबरको डिबेन्चर र रु. ३ अर्ब ९३ करोड बराबरको साधारण शेयर गरी कुल रु. ४५ अर्ब १६ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर