२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एमालेलाई जिम्मेवार र सशक्त लोकतान्त्रिक पार्टीका रूपमा प्रस्तुत गर्न आग्रह 

Nada
प्रदीप ज्ञवाली
२०८२ भदौ ७ गते २२:५२
Shares
एमालेलाई जिम्मेवार र सशक्त लोकतान्त्रिक पार्टीका रूपमा प्रस्तुत गर्न आग्रह 

रुपन्देही : नेकपा एमालेले शनिबार रुपन्देहीमा तिज मिलन तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दै ३ सय जनालाई पार्टीमा भित्र्याएको छ ।  रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ मा पर्ने शुद्धोधन गाउँपालिका र रोहिणी गाउँपालिकामा छुट्टाछुट्टै कार्यक्रममार्फत पार्टी प्रवेश गराइएको हो ।

ncell

एमाले जिल्ला उपसचिव बाबुराम पन्थीका अनुसार दुबै गाउँपालिकामा गरी करिब ३०० जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गरेका छन् । 
शुद्धोधनमा मात्रै राप्रपा गाउँ कमिटी सचिव वासुदेव चौधरी, राप्रपा वडा नं. ५ का अध्यक्ष बुद्धिबहादुर बगालेसहित १५६ जना एमाले प्रवेश गरेका थिए ।

शुद्धोधनमा आयोजित कार्यक्रममा पार्टी प्रवेशकर्तालाई स्वागत गर्दै एमाले पोलिटब्युरो सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीले पार्टी प्रवेशले एमालेलाई जनताको भरोसाको केन्द्र बनाउन मद्दत गर्ने बताए ।  उनले सबै कार्यकर्ताले जिम्मेवार, सशक्त र लोकतान्त्रिक पार्टीका रूपमा एमालेलाई जनसमक्ष प्रस्तुत गर्न सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

गिरीले भने, ‘एमालेलाई जनताले आशा र विश्वासका साथ हेरिरहेका छन् । हामीले यही विश्वासलाई संरक्षण गर्दै विकास, समृद्धि र सुशासनको अभियानलाई निरन्तर अघि बढाउनुपर्छ ।’ मुलुकभर पार्टी प्रवेशको लहर बढ्नु एमालेप्रति जनताको आकर्षण र विश्वासको सूचक भएको उनको भनाइ थियो ।

त्यस्तै, अर्का पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा एमालेको जित सुनिश्चित हुने गरी कार्यकर्तालाई जुट्न आह्वान गरे । उनले भ्रममा नपरी सत्यको जगमा टेकेर एमालेलाई जिताउने गरी सबैले योगदान गर्नुपर्नेमा जोड दिए ।

शुद्धोधनमा भएको कार्यक्रममा एमाले नेताहरू तुलसीप्रसाद चौधरी, रामहरि मरासिनी, विश्वप्रकाश मरासिनी, बुद्धिबहादुर बगाले, हितराज पन्थी, राजेन्द्र कंडेल, नरबहादुर घर्ती, छविलाल श्रेष्ठ, कोपिला काफ्ले, बैजनाथ गुप्ता, वासुदेव चौधरी, शान्ता ज्ञवाली, गोविन्द चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । पार्टी प्रवेशसँगै नेताहरूले संगठन थप सुदृढ हुने र जनताको विश्वासलाई व्यवहारमा उतार्ने संकल्प व्यक्त गरे । 

यस्तै, रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि विभिन्न पार्टी परित्याग गरेका १३० जनालाई एमालेले स्वागत गरेको थियो । त्यस अवसरमा एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले पार्टी प्रवेशले संगठनलाई थप सशक्त बनाउने बताए । उनले आउँदो उपनिर्वाचनलाई लक्षित गरी कार्यकर्तालाई जनताका काममा खटिन आग्रह गरे ।

उपनिर्वाचन नजिकिँदै गर्दा ३०० बढी नेता–कार्यकर्ताको प्रवेशलाई एमालेले विशेष महत्वका साथ लिएको छ । एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले मुलुकको विकास एमालेबाहेक कुनै दलबाट सम्भव नभएको दाबी गर्दै जिल्लाको विकासका लागि एमालेको जित अपरिहार्य भएको बताए ।

कार्यक्रम शुद्धोधन गाउँपालिकामा पालिका अध्यक्ष राजेन्द्र कंडेलको अध्यक्षता, पोलिटब्युरो सदस्य तथा इन्चार्ज लिला गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा  पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, दधिराम न्यौपाने, लुम्बिनी प्रदेश सांसद तुलसीप्रसाद चौधरी, प्रदेश सदस्य जानकी अर्याल, किरण नेपाल, जिल्ला अध्यक्ष यज्ञ गैरे, उपाध्यक्ष हितराज पन्थी, जिल्ला सचिव चित्रबहादुर कार्की, उपसचिव बाबुराम पन्थी, प्रदेश सल्लाहकार विश्वराज बराल लगायत पार्टीका अन्य नेता–कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रममा नवप्रवेशीहरूलाई बधाई ज्ञापन गर्दै एमाले नेताहरूले संगठनलाई थप बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । 
 

ताजा खबर

सम्बन्धित खबर