२०८२ भदौ ७ गते शनिवार / Aug 23 , 2025 , Saturday
२०८२ भदौ ७ गते शनिवार
Ads

साथ नपाएपछि ओलीकै समीक्षा गर्दै विद्या

shivam cement
जीवन शर्मा
२०८२ भदौ ७ गते ०६:२५
साथ नपाएपछि ओलीकै समीक्षा गर्दै विद्या

काठमाडौं : पूर्वराष्ट्रपतिबाट एमालेको कार्यकर्ता बन्न सडकमा ओर्लिएकी विद्यादेवी भण्डारीले आगामी राजनीतिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सामिप्यता खोजेकी थिइन् । पार्टी कमिटीका विभिन्न जिम्मेवारी हुँदै दुई कार्यकाल राष्ट्रपतिका रूपमा बिताउँदासम्म ओलीको विश्वास पात्रका रूपमा रहेकी भण्डारीले पार्टी राजनीतिमासमेत ओलीको आशीर्वाद पाउने आशा गरेकी थिइन् ।

तर आशा गरेकै व्यक्तिबाट पार्टी सदस्यतासमेत खोसिएपछि भण्डारी झस्किन पुगिन् । २०८१ साल वैशाखमा पार्टीको संगठित सदस्यता नवीकरण गरे पनि उनी यतिबेला वैधानिक हिसाबले एमाले सदस्य छैनन् । पार्टी नेतृत्वको दाबीसहित राजनीतिमा सक्रियता बढाएकी भण्डारीको पार्टी सदस्यता एमालेको गत साउन ५–६ गते बसेको पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकले स्थगन गर्ने निर्णय गरेको थियो । यद्यपि विद्याले आफू एमालेको संगठित सदस्यता कायमै रहेको दाबी छाडेकी छैनन् । 

पार्टीले सदस्यता नवीकरणमा रोक लगाएपछि नेतृत्वप्रति आक्रोशित बनेकी भण्डारीले बिहीबार नयाँ बानेश्वरस्थित थापागाउँमा सम्पर्क कार्यालय खोलेर ओलीलाई चुनौती दिएकी छन् । बिहीबार आफू निरन्तर नेकपा एमालेको कार्यकर्ता भएर संघर्षरत रहने बताइन् । मदन भण्डारी फाउन्डेसनको हीरक जयन्ती आयोजक समितिको नाममा सम्पर्क कार्यालय खोलेर राजनीति गतिविधि अघि बढाउन थालेकी उनले एमाले मुख्यालय च्यासलले सदस्यतासम्बन्धी उठाएको प्रश्नको जवाफसमेत दिएकी थिइन् । ‘मैले २०३७ सालमै मालेको सदस्य लिएँ, एमालेको सदस्यता लिएको नै ३५ वर्ष भयो । म अझै पनि एमालेकै कार्यकर्ता हुँ,’ उनले भनिन् । 

राष्ट्रपति रहँदा देशले गौरव गर्नेगरी भूमिका निर्वाह गरेको दाबी गर्दै उनले आफू आलोचनाबाहिर नरहेको बताइन् । ‘जनताको बहुदलीय जनवादको मर्मअनुसार एमालेले काम गर्न सक्यो कि सकेन भन्ने अब समीक्षा हुनुपर्छ,’ उनले भनिन् । पार्टी राजनीतिमा ओलीको पूर्ण असहयोग भएपछि रन्थनिएकी विद्याले निरन्तर पार्टीका नेताकार्यकर्तासँग संवाद गरिरहेकी छन् । २०५० सालदेखि निरन्तर सरकारमा सहभागी हुँदै आएको एमालेले पार्टीको नीति र जनअपेक्षाअनुसार काम गर्न सके–नसकेको आत्ममूल्यांकन र समीक्षा गर्नुपर्ने उनको दाबी छ । एमालेको आगामी महाधिवेशनमा पार्टी नेतृत्वको विकल्पसहित राजनीतिमा हाम फालेकी भण्डारीले अवको विकल्पबारे के सोचेकी छन् ? भन्ने अझै प्रस्ट छैन । यद्यपि उनले एमालेभित्रै अन्तरसंघर्ष चलाउने बताएकी छन् । ‘पार्टीभित्रका विकृति र विसंगतिविरुद्ध म निरन्तर लडिरहन्छु,’ नेपालमा चन्द्रसूर्य रहुन्जेल म सक्रिय रहन्छु,’ भण्डारीले भनेकी छन् । उनको यो तहको अभिव्यक्तिले ओलीलाई चुनौतीपूर्ण सन्देश दिन खोजे पनि पार्टी सदस्यता नै नभएको व्यक्तिले पार्टीभित्रै अर्को समूहलाई सक्रिय बनाएर वर्तमान नेतृत्वप्रति चुनौती दिने कुरा सहज नदेखिएको विश्लेषक बताउँछन् । 

एमालेमा समानान्तर गतिविधि बढाउनेगरी सम्पर्क कार्यालय खालेसँगै प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली उनीप्रति थप आक्रोशित बनेका छन् । भण्डारीले झुक्याएर पार्टी सदस्यता नवीकरण गर्न खोजेको जिकिर गर्दै उनको पार्टी सदस्यता कायम हुन नहुनेबारे एमाले केन्द्रीय कमिटीको साउन ५–६ गतेको निर्णयबारे ओलीले स्पष्ट हुन आग्रह गरे । ‘अहिले पूर्वराष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुरा आएका छन्,’ उनले भने, ‘खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो । हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन ।’ पूर्वराष्ट्रपतिले बाहिर बोल्दै हिँडे पनि पार्टीमा सदस्यता नवीकरणका लागि निवेदन नदिएको उनको जिकिर छ । पार्टीमा असन्तुष्ट र जनसंगठनमा हारेकालाई बोकेर हिँडेको भन्दै ओली थप आक्रोशित बनेका छन् ।  उनले नवौं महाधिवेशनमा उपाध्यक्ष बनेकी भण्डारीले राष्ट्रपति पदमा गएपछि पार्टी सदस्यता त्यागेको दाबी गरे । भण्डारीले शीतल निवासबाट बाहिरिएपछि यसअघि त्यागेको पार्टी सदस्यता नवीकरण या नयाँका लागि निवेदन नै नदिएको उनले जिकिर गरे । पार्टी अध्यक्ष ओलीले पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकालाई जम्मा गरेर भण्डारीले पार्टी एकतामा असहयोग गरेको भन्दै कटाक्ष गरे ।  

नेता भण्डारीको अभियानलाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरले, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य विनोद ढकालसहितका नेताहरूले साथ दिएका छन । भण्डारीलाई साथ दिने नेताहरू आमनिर्वाचन, पार्टीको महाधिवेशन र जनवर्गीय संगठनमा चुनाव हारेकाहरू मात्रै रहेको देखिएका छन् । सात वर्ष मुलुकको राष्ट्रपति बनेर बिदा भएकी भण्डारी १४ असारदेखि सक्रिय राजनीतिमा फर्किएकी हुन् । सयौं नेताकार्यकर्ताको साथ सहयोग र सहभागिताले भण्डारीलाई आगामी राजनीतिक यात्रामा थप बल पुग्ने देखिन्छ । तर आधिकारिक रूपमा पार्टी सदस्यताबाटै वञ्चित भएकी भण्डारीकोे हैसियत के हुने भन्ने उनीनिकटका नेता कार्यकर्ताको चिन्ता व्यक्त गरेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise