काठमाडौं : नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताएका छन् ।
काठमाडौंमा शुक्रबार ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरुको भएको बताए ।
उनले सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ ? भन्ने सकारात्मक सोचका साथ अघि बढ्न जरुरी रहेको बताए । नेता डा. कोइरालाले कनिका छरेको जस्तो अनुदान दिएर विद्यालय विकास हुन नसक्ने बताए ।
उनले लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै शिक्षित समाज बनाउन जरुरी रहेको बताए ।
नेता डा. कोइरालाले राज्यमा भएका सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउने भन्नेमा सरकार जानुपर्ने बताए । शिक्षाले नै विश्वलाई चिनाउनसक्ने भएकाले शिक्षामा पहिलो जोड दिनुपर्ने उनले उल्लेख गरे ।