माउन्टेन भ्यु, क्यालिफोर्निया : अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका ३७ वर्षीय राम (छिरिङ) तामाङ स्टेज ४ क्यान्सरसँग संघर्षरत छन् । हाल उनी स्ट्यानफोर्ड अस्पताल, पालो आल्टोमा उपचाररत छन् ।
नेपाली र बहुसांस्कृतिक समुदायमा सक्रिय र सहयोगी व्यक्तित्वका रूपमा चिनिएका तामाङ अहिले जीवन–मरणको कठिन यात्रामा छन् । पाँच वर्षअघि आमा गुमाइसकेका उनले श्रीमती चाँदनी लामा र दुई सन्तान ६ वर्षीय छोरा रोमिन र २ वर्षीया छोरी जस्मिनसहित परिवारको भविष्य सुरक्षित बनाउन संघर्ष गर्दै आएका थिए ।
तर सन् २०२४ मा स्वास्थ्य समस्या देखिएपछि क्यान्सरको निदान भयो । प्रारम्भिक उपचारबाट रोग नियन्त्रणमा नआएपछि हाल उनी गम्भीर अवस्थासहित स्टेज ४ मा पुगेका छन् । विगत एक वर्षदेखि उनी किमोथेरापी, इम्युनोथेरापी र अन्य महँगा उपचार गराइरहेका छन् ।
उपचारका क्रममा श्रीमतीले जागिर छोड्नुपरेको छ । घरको मोर्टगेज, गाडी, बालबालिकाको शिक्षा तथा दैनिकी खर्चसँगै बीमा नलेखिएका उपचार खर्चका कारण परिवार गम्भीर आर्थिक दबाबमा परेको छ । बचत सकिएको र क्रेडिट कार्ड ऋण बढ्दै गएको परिवारले दीर्घकालीन उपचारका लागि लाखौं डलर आवश्यक पर्ने अनुमान गरेको छ ।
यस कठिन घडीमा समुदायका साथीभाइ, आफन्त र अभियन्ताहरूले 'गो फन्ड मि'मार्फत सहयोग संकलन अभियान सुरु गरेका छन् । उनीहरूले तामाङ परिवारलाई आर्थिक सहयोग पुर्याउन सबैलाई आह्वान गरेका छन् ।