डोल्पा : डोल्पामा जंगली च्याउ खाँदा ६ जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बुधबार बिहान करिब साढे ५ बजे डोल्पाको ठुली भेरी नगरपालिका–३ सदरमुकाम दुनैमा बस्दै आएका रोल्पा घर भएका व्यक्तिहरू जंगली च्याउ खाएपछि बिरामी भएका हुन् ।
बिरामीमध्ये ३० वर्षीय लाल कुमार रोका, ३७ वर्षीया सिमा रोकाया, ५० वर्षीय गौरे रोका, ६० वर्षीया रुपी रोका, ७० वर्षीया विमला घर्ती मगर र ३५ वर्षीय प्रेम घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । रोल्पा घर भएका उनीहरू रोजगारीको सिलसिलामा डोल्पा बस्दै आइरहेका थिए ।
विषालु जंगली च्याउ सेवन गरी बिरामी परेक सबैको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।