बझाङ : प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्यमा बझाङको केदारस्यूँ गाउँपालिकाका दुई वटा विद्यालयमा सुविधा सम्पन्न शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ ।
शौचालयहरू केदारस्यूँ गाउँपालिका–३ को केदार आधारभूत विद्यालय र वडा नं. ६ को भूमिदेव आधारभूत विद्यालयमा निर्माण गरिएको हो । यी संरचनाहरू भूकम्प प्रतिरोधी, अपांगमैत्री र बालमैत्री हुने गरी तयार पारिएका छन् ।
परियोजना व्यवस्थापक यज्ञराज जोशीका अनुसार करिब १५ लाख रुपैयाँ लागतमा बनेका शौचालयमा टायलसहित धारा जडान गरिएको छ । मंगलबार आयोजित कार्यक्रममा शौचालय भवनको चाबी प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामीलाई हस्तान्तरण गरेका थिए ।
केसीले दुर्गम विद्यालयमा बालबालिकाको सरसफाइ र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सुविधा सम्पन्न संरचना निर्माण गरिएको बताए । साथै, भविष्यमा शिक्षा क्षेत्रमा थप लगानी गर्न स्थानीय सरकारसँग सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
गाउँपालिकाकी उपाध्यक्ष धामीले विद्यालयमा शौचालय बनेपछि बालबालिकाको स्वास्थ्य र अध्ययन वातावरणमा सुधार आउने विश्वास व्यक्त गरिन् । उनका अनुसार, विगतमा विद्यार्थीहरू विद्यालय आउन हिच्किचाउने अवस्था रहे पनि अहिले शिक्षा क्षेत्रमा परियोजनाको सहकार्यले सकारात्मक परिवर्तन ल्याएको छ ।