काठमाडौं : तामाङ समुदायले प्रत्येक वर्ष भदौ ६ गतेलाई तामाङ पहिचान दिवसका रूपमा मनाउँदै आएको छ । यही अवसर पारेर आयोजना गरिँदै आएको तामाङ ज्ञान महोत्सव यसपालि आफ्नो एक दशक पूरा गर्दैछ ।
महोत्सव मूल आयोजक समितिका संयोजक निष्णु थिङका अनुसार यस वर्षको महोत्सव भदौ ५ गते बिहीबार र ६ गते शुक्रबार बिहान साढे १० बजेपछि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने भएको छ । कार्यक्रममा भाषा आयोगका पूर्वसदस्य अमृत योन्जन तामाङ र अमेरिकी कर्णेल विश्वविद्यालयकी प्राध्यापक डा. क्याथरिन एस. मार्चले विद्वत प्रवचन दिनेछन् । साथै, १८ वटा कार्यपत्र, तीन वटा समूह छलफल र एक विशेष अन्तरवार्ता प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा तामाङ र गैर तामाङ विद्वानहरुको प्रस्तुतिका साथै विविध विषयमा प्यानल छलफल हुने र ताम्बा र झाँक्री (बोम्बो)हरूले लोकगीत (सेराप) पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
तामाङ पहिचान दिवसको ऐतिहासिक पृष्ठभूमि अनुसार भदौ ६ गते, तत्कालीन प्रधानमन्त्री भीम शमशेरले सुवेदार जङ्गवीर मोक्तान तामाङको अनुरोधपछि नेपालभित्र ‘तामाङ’ नाम प्रयोग गर्ने आदेश जारी गरेका थिए । यसअघि तामाङ समुदायलाई भोटे, मुर्मी, इसाङ, जाँडे, सें, कागते, लामाभोटे जस्ता विभिन्न नामले अपमानपूर्वक सम्बोधन गर्ने चलन रहेको थियो ।
यसअघिका महोत्सवमा प्रा. महेन्द्र पी. लामा, बैरागी काइँला, सिके लाल, आहुति, डा. मुक्त सिंह लामा, युग पाठक, दिनेशराज पन्तलगायतका विद्वानले विचार राखिसकेका छन् । त्यस्तै, पूर्वमन्त्री शेरबहादुर तामाङ, हितबहादुर तामाङ, गिरिराजमणि पोखरेल र प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पनि सम्बोधन गरेका थिए ।