डोल्पा : हिमाली जिल्ला डोल्पामा बाढीले एक बालकको ज्यान लिएको छ । डोल्पाको माथिल्लो क्षेत्र शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोका अन्दाजी ९ वर्षीय बालक सोमबार दिउँसो बाढीमा बग्दा मृत्यु भएको हो ।
अविरल वर्षापछि गाउँ नजिकैको खोलामा आएको बाढीमा परेर ग्याल्छेन लामा र उनकी श्रीमती कार्साङ गुरुङका ९ वर्षीय छोरा बगेका थिए । घटनाबारे जानकारी दिँदै शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमावाङ्छेन गुरुङले दुखद घटना भएको पुष्टि गरे ।
केही दिनदेखि लगातार परेको वर्षाले माथिल्लो डोल्पाका विभिन्न खोलानाला र बस्ती क्षेत्रमा बाढी–पहिरोको जोखिम बढिरहेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुकबहादुर खड्काका अनुसार घटनाबारे विस्तृत विवरण लिन कठिनाइ भइरहेको छ । ‘माथिल्लो डोल्पामा रहेका टावर अवरुद्ध भएकाले सञ्चार सहज छैन’ उनले भने ।
स्थानीयका अनुसार अन्य समयमा पानीको थोपा समेत नदेखिने सुख्खा खोलामा अचानक बाढी आएपछि बालक बगेका हुन् । डोल्पाको उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तन र अनिश्चित मौसमका कारण मानवीय तथा भौतिक क्षतिको जोखिम निरन्तर बढिरहेको स्थानीयहरूले बताएका छन् ।