काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताएका छन् ।
सचिवालय बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पहिलादेखि नै सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको, तर अहिले हस्ताक्षर नै गरिरहेको भन्दै यो गल्ती नगर्न आग्रह गरे ।
सरकार बनेदेखि नै गल्ती भइरहेको उनको आरोप छ । आदिवासी, जनजाति महिला, सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत भएको उनको भनाइ छ ।
उनले भने, ‘उहाँहरुको उपसभामुख हटाउने कुरा धेरै पहिलादेखिको हो । तर त्यो गलत गर्दै हुनुहुन्छ । गल्ती गरी नै रहनुभएको छ । यो सरकार बनेदेखि नै गल्ती त गरिरहनुभएको छ । एउटा महिला, आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत छ । यसको हामी विरोध गर्छौं । उहाँले गरेको भन्ने केही प्रमाण छैन, खालि त्यो कपोलकल्पित हो ।’
अध्यक्ष प्रचण्डले उपसभामुखविरुद्ध कुनै नराम्रो काम गरेको प्रमाण नरहेको बताए । उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो । तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन ।