२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

फोहोरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

Nada
२०८२ भदौ ३ गते १३:४३
Shares
फोहोरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी

तनहुँः यहाँको व्यास नगरपालिकाले नकुहिने फोहोर बिक्री गरी ११ महिनामा रु १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ । नगरपालिकाले गत भदौदेखि फोहोर सङ्कलन गरी व्यवस्थित गर्न थालेको थियो । 

ncell

पहिलो चरणमा नकुहिने फोहोरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको नगरपालिकाको वन, वातावरण तथा सरसफाइ शाखाले जनाएको छ । 

ट्रकलाई ‘टिप’ पुगेपछि बिक्रीका लागि पठाउने गरिएको प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेले जानकारी दिए । उनले भने, ‘व्यास नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने प्लास्टिकजन्य, फलामजन्य र कागजजन्यलाई ठूलो आकारबाट दाबेर सानो आकारमा परिणत गरी  भण्डारण गर्ने गरिएको छ ।’  

उनका अनुसार रेडबुललगायत आल्मुनियम प्रतिकेजी ६०, फलाम प्रतिकेजी ३५, टिन २५, पानीको बोतल तथा अन्य बोतल २३, कपडा पाँच रुपैयाँ ५० पैसा, कपी १६ र किताब १४ दररेट कायम गरिएको छ । 

नगरपालिकाले यसअघि वडा नम्बर ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहोर व्यवस्थापन गर्दै आएको थियो । त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहोर व्यवस्थापन गर्न लागिएको हो । 

‘नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टनको हाराहारीमा कुहिने फोहोर सङ्कलन हुँदै आएको छ’, उनले भने, ‘पछिल्लो समय कबाडीको महत्व बुझ्न थालेपछि अन्य मानिसले पनि सङ्कलन गरी बिक्री गर्न थालेका छन् ।’ 

कुहिने फोहोरलाई नगरले व्यास–१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गर्दै आएको छ । नकुहिने फोहोरको दिगो व्यवस्थापनका लागि वडा नम्बर १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएकामा त्यहाँ पनि स्थानीयले विरोध गरेकाले जग्गा खरिद प्रक्रिया हाललाई रोकिएको छ ।  

नगरपालिकाले सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहोरबाट आम्दानी गर्न थालेको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । रासस 

ताजा खबर

सम्बन्धित खबर