२०८२ भदौ २ गते सोमवार / Aug 18 , 2025 , Monday
२०८२ भदौ २ गते सोमवार
Ads

अनेसास नवोदित कतारको १६१औं डबलीमा गुन्जिए सर्जकहरू

shivam cement
तिलु शर्मा पौडेल
२०८२ भदौ २ गते १७:३८
अनेसास नवोदित कतारको १६१औं डबलीमा गुन्जिए सर्जकहरू

दोहा, कतार : विभिन्न रचना वाचन गर्दै विगत १६० महिनादेखि लगातार गुन्जिएको डबली १६१औं महिना अर्थात् डबलीमा सर्जकहरू गुन्जिएका छन्  । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा हरेक महिना सम्पन्न हुने रचना वाचन डबलीमा सर्जकहरू गुन्जिएका हुन् । यस पटकको डबलीमा कतारमा रहेका सर्जकसहित लामो समयदेखि अमेरिकामा बस्दै आएका अनेसास केन्द्रका महासचिव तथा सर्जक राजु सिटौला समेत गुन्जिएका छन् ।

मुन्ताजास्थित गोर्खाली रेस्टुरेन्टको सभा हलमा सिटौला नै विशिष्ट स्रोता रहेको डबलीमा गजलकार गोविन्द उदासीको गजलबाट डबलीको शुभारम्भ गरिएको थियो । क्रमशः सर्जकहरू खिम पुन- गजल, खेम राज सुवेदी- कविता, लिलानाथ घिमिरे- कविता, योगी कमल पुष्कर- कविता, चन्द्र दाहाल- गजल, पवन गुरुङ- गजल, मीन सागर थापा- गजल, पाण्डव थापा- गजल, सुजाता डीसी- गजल, सानु थपलिया- गजल, लुरी थपलिया- गजल, पूर्ण कान्छा गुरुङ- गजल, दीपक पुडासैनी- कविता, विकास भुजेल- कविता, चक्र कार्की- गजल, मणि पौडेल- गजल, दीपेन्द्र क्षेत्री- गजल, शोभाराम ओली- गजल र दिलीप पराजुली- गजलमार्फत गुन्जिए ।

अपवादबाहेक प्रत्येक महिनाको दोस्रो शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म चल्ने डबली समयमै सुरु हुने र समयमै सकिने खास विशेषता बोकेको डबलीको यस शृंखलाको संयोजन सर्जक सिताराम थापाले गरेका थिए भने उनले कविता समेत वाचन गरेका थिए । आयोजक संस्थाका तर्फबाट विशिष्ट श्रोता सिटौलालाई नेपाली साहित्य कला र संस्कृतिको क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको मूल्यांकन गर्दै दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो ।

आफ्नो रचना वाचन गर्ने क्रममा डबलीका पूर्वविशिष्ट स्रोता विमल सुवेदीले अनेसासलाई मध्यपूर्वका विभिन्न देशहरूमा विकास र विस्तार गर्न विधान संशोधन गरी पदाधिकारी तहको पद निर्माण गर्न आवश्यक रहेको धारणा राखे । सुवेदीको धारणालाई अनेसास र नवोदित दुवै संस्थाका सल्लाहकार प्रेमप्रसाद भट्टराईले आफ्ना रचना वाचन गर्दै गर्दा समर्थन जनाए । डबलीको अन्त्यमा विशिष्ट स्रोता सिटौलाले आफूलाई विशिष्ट स्रोता बनाएर सम्मान गरेकोमा दुवै संस्थालाई आभार व्यक्त गर्दै मध्यपूर्वमा उपाध्यक्ष पदका लागि केन्द्रमा पनि कुरा चलिरहेको हुँदा चाँडै नै टुंगोमा पुग्ने विश्वास व्यक्त गरे ।

ADV

सम्बन्धित खबर

Advertise