काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा निर्मित ‘यात्रु सहायता कक्ष’को उद्घाटन गरिएको छ ।
सोमबार जिल्ला होटल व्यवसायी संघले आयोजना गरेको एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित संघीय संसद्का सभासद नगेन्द्र कुमाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक हंशराज पाण्डेले संयुक्त रूपमा सहायता कक्षको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले विमानस्थलबाट आउने विदेशी र स्वदेशी यात्रुहरूका लागि सहायत कक्षले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताए । उनले भने, ‘हामीले यात्रुहरूलाई भित्र्याउने र एक पटक आएका यात्रुलाई पटकपटक आउने वातावरण बनाउने, नेपाली यात्रुहरू विदेशबाट आउँदा राम्रो इम्पे्रसन दिने, नेपालमा राम्रो हुँदै गएको रहेछ भन्ने सन्देश सुरुमा विमानस्थलले दिने भएकाले यसको महत्व ठुलो छ ।’
उनले विमानस्थलका कर्मचारीमा विभिन्न अन्तर्राष्ट्रिय भाषाको ज्ञान भए विदेशी यात्रुलाई अझ सहज हुनेमा जोड दिँदै भने, ‘विदेशीहरूसँग बोल्ने भाषामा कति सहजता दिन सकिन्छ वा आफू कति जानकार हुन सकिन्छ, होटल, यातायातलगातका कुराहरू कसरी बुझाउन सकिन्छ त्यसका लागि यहाँ बसेको व्यक्तिले बताउन सक्नुपर्यो ।’
कार्यक्रममा प्राधिकरणका महाप्रबन्धक पाण्डेले पिपिपी मोडेलको नमुना भएको आगमन क्षेत्रमा निजी क्षेत्रको सहयोगमा सहायत कक्ष बन्नु उदाहरणीय रहेको बताए ।
यस्तै होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष शेरु थापाले विमानस्थलमा सहायता कक्षका लागि धेरै पहिलेबाट पटकपटक सरकारी निकायसँग पहल गरेको स्मरण गर्दै आज यसले पूर्णता पाएकोमा खुसी व्यक्त गरे ।
जिल्ला होटल व्यवसायी संघका अध्यक्ष सुरेश बरालले नेपालको व्यवसाय र पर्यटन क्षेत्रलाई थप सबल बनाउन होटलहरु २४सैँ घण्टा खोल्नसक्ने वातारण मिलाउन सरकारसँग माग गरे । उनले विमानस्थलको अवस्था प्रत्यक्ष रुपमा अन्तर्राष्ट्रिय बजारसँग जोडिने भएकाले पर्यटनमा पर्ने असरलाई न्यूनीकरण गर्ने हेतुले संघले सहायता कक्ष निर्माण गरेको उल्लेख गरे ।
कार्यकममा मन्त्री पाण्डेले यात्रु सहायता कक्ष सञ्चालक समिति संयोजक तथा इकाइ अध्यक्षहरूलाई सञ्चालनको सम्पूर्ण अख्तियारीसहित सहायता कक्षको साँचो हस्तान्तरणसमेत गरेका थिए ।