काठमाडौं : पाँच फरक खेल विधाका खेलाडी ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०८१’को पिपल्स च्वाइसको मनोनयनमा परेका छन् । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको लोकप्रिय विधा पिपल्स च्वाइसको मनोनयनमा फुटबलकी रेखा पौडेल, उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, क्रिकेटकी पूजा महतो र भलिबलका हिमाल सुनारी परेका हुन् ।
२०६० सालदेखि आयोजना हुँदै आएको अवार्डको २२औं संस्करण आगामी भदौ २९ गते पोखरामा हुँदैछ । पहिलोपटक उपत्यका बाहिर हुन लागेको अवार्डको पिपल्स च्वाइस विधा सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर पिपल्स च्वाइसमा परेका पाँच जना खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।
क्रिकेटकी पूजा, टेबल टेनिसकी इभाना र भलिबलका हिमाल भने उक्त कार्यक्रममा उपस्थित हुन सकेनन् । पूजा भारतमा क्रिकेट प्रशिक्षण गरिरहेकी छन् भने इभाना र हिमाल प्रतियोगितामा व्यस्त छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चका सचिव अनिल मल्ल ठकुरीको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले नेपाली खेलकुदका चर्चित पाँच खेलाडीलाई यस विधामा छनोट गरेको हो । पछिल्ला समय नेपाली खेलकुदमा सफलतासँगै चर्चामा रहेका खेलाडीलाई यस विधामा समावेश गर्ने गरिन्छ ।
उसुका विजयले जापानमा सम्पन्न तेस्रो थाउलु विश्वकपमा काँस्य पदक जितेका थिए । इभाना भने दक्षिण एसियाली टेबलटेनिसमा चार पदक विजेता हुन् । पूजाले आफ्नो कप्तानीमा आइसिसी यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोटमा नेपाललाई च्याम्पियन बनाउँदै यु–१९ विश्वकपको यात्रा तय गराएकी थिइन् । फुटबलकी रेखा एएफसी महिला च्याम्पियन्स लिग खेल्ने नेपालकी पहिलो खेलाडी र साफ महिला च्याम्पियनसिप २०२४ को सर्वाधिक गोलकर्ता हुन् । नेपालको राष्ट्रिय खेल भलिबलका समर्थकमाझ हिमाल सबैभन्दा लोकप्रिय खेलाडीका रूपमा चिनिन्छन् । अवार्ड आयोजनाको एक महिनाअघि यो विधाको घोषणा गर्ने परम्परा छ ।
सो अवसरमा रेखाले पिपल्स च्वाइसको मनोनयनमा पर्दा एकदम खुसी लागेको र आफ्नो सपना पूरा भएको बताइन् । विजयले उसु खेल अन्य खेलजस्तै लोकप्रिय नभए पनि आफूले यस खेललाई चर्चित बनाइराख्न मिहिनेत गरिरहेको बताए । उनले यो अवार्ड आयोजना हुँदा धेरै वर्ष मञ्चमा पर्फमेन्स गरेको उल्लेख गर्दै यसपटक फरक भूमिकाबाट अवार्डमा जोडिन पाउँदा धेरै खुसी लागेको बताए ।
पिपल्स च्वाइसको विजेता चयन आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका प्रमुख प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आइएमइ खल्तीमा प्राप्त मतका आधारमा हुनेछ । ५० प्रतिशत मतभार रहने डिजिटल वालेट आइएमइ खल्तीमा भोटिङ आइतबार नै सुरु भइसकेको छ ।
सामाजिक सञ्जाल फेसबुकको मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र पल्सर नेपालको आधिकारिक फेसबुक पेज गर्नुपर्नेछ), राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ । यो विधाका विजेताले पल्सर मोेटरबाइक जित्नेछ ।
आइतबार नै नेपाल खेलकुद पत्रकार मञ्च र विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी आइएमइ खल्तीबीच भोटिङ पार्टनरका रूपमा प्रायोजन सम्झौता भएको छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र आइएमइ खल्तीका चिफ कमर्सियल अफिसर आशिष गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
सो अवसरमा गौतमले स्पोर्ट्स अवार्ड पोखरामा हुनुसँगै खल्तीसँगको सम्झौतालाई अवार्डको नयाँ र फरकपन रहेको बताएका छन् । गौतमले आइएमइ खल्तीले स्पोर्ट्स अवार्डमा मनोनयनमा परेका र विजेता सबैलाई खल्ती प्रोको प्याकेज उपलब्ध गराउने जानकारी पनि दिए । मञ्चका अध्यक्ष अधिकारीले यस सम्झौताले स्पोर्ट्स अवार्डलाई थप उचाइमा लैजाने विश्वास लिएका छन् ।
गत वर्ष सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा कुल १० विधामा अवार्ड प्रदान गरिनेछ ।
अन्य विधामा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड छन् । यस अवार्डका लागि गोल्छा ग्रुपले मुख्य प्रायोजकका रूपमा १७औं वर्ष सहकार्य गरिसकेको छ । अवार्ड कार्यक्रमको प्रवर्धकको रूपमा रहेको पोखरा महानगरपालिका र मञ्चबीच पनि सम्झौता भइसकेको छ ।