२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

बैंकहरूले गरे नयाँ ब्याजदर निर्धारण, भदौमा औषत ब्याजदर झनै घट्यो

shivam cement
मध्यान्ह
२०८२ भदौ १ गते १२:१८
बैंकहरूले गरे नयाँ ब्याजदर निर्धारण, भदौमा औषत ब्याजदर झनै घट्यो

काठमाडौं : भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर निर्धारण गरेका छन् । बैंकहरुले जारी गरेको  विवरणअनुसार साउनको तुलनामा भदौमा औषत ब्याजदर घटेको छ । साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषत ५.६० प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरूले भदौमा अधिकतम औषत ५.५७ प्रतिशत बिन्दुका दरले ब्याज दिने भएका छन् ।

यसैगरी साउन महिनामा संस्थागत मुद्दति निक्षेपमा ४.११ प्रतिशत बिन्दुले ब्याज दिएका बैंकहरूको अधिकतम औषत ब्याजदर भदौ महिनामा ३.९६ प्रतिशत बिन्दुमा झरेको छ ।

बैंकहरुले दिएको जानकारीअनुसार एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास, स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज र नेपाल एसबिआई बैंकले भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्रभु बैंकको भने त्यस्तो ब्याजदर बढेको छ । 

साउन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिइरहेको स्ट्यान्डर्ड चार्टर्डले भदौमा अधिकतम ५.१३ प्रतिशत ब्याज दिँदैछ । प्रभु बैंकले भने यस्तो निक्षेपको अधिकतम ब्याजदर १.१ प्रतिशत बिन्दु बढाएर ५.३५ प्रतिशत पुर्‍याएको छ । व्यक्तिगत मुद्दति निक्षेपमा भदौ महिनामा एनआईसी एशिया बैंकले सबैभन्दा बढी ब्याज दिने भएको छ । यो बैंकले अधिकतममा ६.२५ प्रतिशतसम्म ब्याज दिने भएको हो । बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई स्थिर राख्नेमा सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोवल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, माछापुच्छ्रे र नेपाल बैंक छन् ।

यस्तो निक्षेपमा सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकको अधिकतम ५ प्रतिशत रहेको छ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले नै ब्याजदर घटाउन बैकहरुलाई नीतिगत रुपमै दबाब दिँदै आएको छ । बजारमा लगानी बढाउन भन्दै राष्ट्र बैंकले लिएको नीतिले पुँजी पलायनको खतरा बढिरहेको विज्ञहरुले बताउँदै आएका छन् । 

वाणिज्य बैंकहरुले मात्रै नभइ विकास बैंकहरुको ब्याजदर भने स्थिर देखिन्छ । अधिकांश विकास बैंकले साउनकै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई भदौमा निरन्तरता दिएका छन् । गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक र महालक्ष्मी विकास बैंकले साउनकै ब्याजदरलाई भदौमा निरन्तरता दिएका छन् । साउनमा गरिमाले ६.११ प्रतिशत, मुक्तिनाथले ६.२५ प्रतिशत, कामना सेवाले ६.१५ प्रतिशत र महालक्ष्मीले ६.११ प्रतिशत ब्याजदर कायम गरेका थिए । अन्य विकास बैंकले समेत साउनकै ब्याजदरलाई निरन्तरता दिने संकेत देखाएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise