२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पर्वतारोहण संघमा शेर्पा टिमको उम्मेदवारी घोषणा

Nada
२०८२ साउन ३० गते २०:२४
Shares
पर्वतारोहण संघमा शेर्पा टिमको उम्मेदवारी घोषणा

काठमाडौं : नेपाल पर्वतारोहण संघ (एनएमए)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि फुर गेल्जे शेर्पाले आफ्नो पूर्ण टिमसहित उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार लाजिम्पाटमा रहेको होटल शंकरमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदका उम्मेदवार शेर्पाले आफ्नो समूहको परिचय गराएका हुन् ।

ncell

‘मैले हिमाललाई नजिकबाट चिनेको छु, पर्यटनको विकास र पर्यावरणको परिवर्तनलाई मैले नजिकबाट देखेको छु, त्यसकारण मैले यस क्षेत्रको समृद्धिमा गर्न सक्ने धेरै काम छन्, जसलाई हाम्रो समूहले पूर्णता दिनेछ, प्रत्येक वर्ष सुनिने हिमपहिराको घटना न्यूनीकरण गर्नुका साथै हामीले हाम्रो पर्यटकीयस्थलाई प्रवर्धन गर्नु दायित्व छ, हाम्रो पेसागत हकहितका लागि गर्नुपर्ने काम धेरै छन्, जसलाई क्रमबद्ध रूपमा पूरा गर्नुपर्नेछ,’ उनले भने ।

अध्यक्ष पदका उम्मेदवार शेर्पाले ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्धनका लागि उम्मेदवारी’ भन्ने मूल नारासहित कार्ययोजना सार्वजनिक गरे । अध्यक्षका उम्मेदवार शेर्पाको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पिडकाजी), द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा छन् । यसैगरी, सदस्य पदमा केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, माधवकुमार धमला, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डंगोल, डोल्मा लामा र निशा भोटेले उम्मेदवारी दिएका छन् ।

सो समूहले नेपालको पर्वतीय पर्यटन र आरोहीहरूको हितलाई मुख्य प्राथमिकतामा राख्दै नेपालमै ‘माउन्टेन टुरिजम युनिभर्सिटी’ स्थापना गर्ने, आरोहीहरूको सुरक्षाका लागि आपतकालीन उद्धार कोष व्यवस्थित गर्ने र अन्तर्राष्ट्रियस्तरको आरोहण तालिम केन्द्र विकास गर्नेजस्ता महत्वपूर्ण योजनाहरू अगाडि सारेका छन् ।

यी योजनाहरूले पोखरामा पर्यटकको बसाइ अवधि बढ्ने अपेक्षा गरिएको छ । नेपाल पर्वतारोहण संघको निर्वाचन आगामी भदौ ७ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर