तारा पौडेल/मध्यान्ह
काठमाडौं : गत वर्षको असार मसान्तसम्म देशको कुल जनसंख्याको ४८ दशमलव ३३ प्रतिशत जनसंख्या जीवन बिमाको दायरामा आएको छ । नेपाल बिमा प्राधिकरणले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्मको तथ्यांकले गत सो अवधिसम्म देशको कुल जनसंख्याको ४८ दशमलव ३३ प्रतिशत संख्या जीवन बिमाको दायरामा आएको देखाएको हो ।
तथ्यांकले म्यादी, लघुम्यादी र वैदेशिक रोजगार बिमालेखसहित ४८ दशमलव ३३ प्रतिशत जनसंख्या बिमाको दायरामा आएको देखाएको छ । अघिल्लो आर्थिक वर्षमा जीवन बिमाको दायरामा ४३ दशमलव २७ प्रतिशत जनसंख्या मात्रै समेटिएको थियो ।
प्राधिकरणले तथ्यांकले वैदेशिक रोजगारमा जाने व्यक्तिहरूको बिमाको संख्या सबैभन्दा धेरै वृद्धि भएको देखाएको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा वैदेशिक रोजगार बिमालेखको संख्यामा २५ प्रतिशतले वृद्धि भएर २५ लाख ८६ हजार ३ सय १३ पुगेको छ । जुन संख्या अघिल्लो आर्थिक वर्षमा २० लाख ६९ हजार ४२ जनालाई जारी भएको थियो ।
गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड ५६ लाख ३० हजार ९ सय ९९ वटा जीवन बिमालेख सक्रिय रहेका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या १ करोड ३८ लाख ८१ हजार ४ सय ९२ रहेको थियो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आव २०८१÷८२ मा नेपालको बिमा व्यवसाय पनि वृद्धि भएको छ । प्राधिकरणको तथ्यांकअनुसार गत आवमा सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बिमा कम्पनीहरूले अघिल्लो आवको तुलनामा १४ दशमलव ७६ प्रतिशत बिमा शुल्क आम्दानी वृद्धि गरेका छन् । तथ्यांकअनुसार गत आर्थिक वर्षमा बिमा कम्पनीहरूले २ खर्ब २७ अर्ब १८ करोड ५९ लाख ५४ हजार रुपैयाँ बिमा शुल्क आम्दानी गरेका छन् । कम्पनीहरूले अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १ खर्ब ९७ अर्ब ९६ करोड ७३ लाख ८४ हजार रुपैयाँ गरेका थिए ।