२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मच्छेगाउँमा राष्ट्रिय लाखे नाच हुने

Nada
२०८२ साउन ३० गते २०:२१
Shares
मच्छेगाउँमा राष्ट्रिय लाखे नाच हुने

काठमाडौं : नेपालको मौलिक धर्म, संस्कृति र परम्पराको सम्वद्र्धन तथा संरक्षणका लागि विभिन्न संस्था र समूह निरन्तर लागिरहेका छन् । विशेषगरी युवा पुस्तालाई देशको संस्कृति, मौलिकता, नैतिकता र राष्ट्रियताको महत्वबारे जानकारी गराउने जिम्मेवारी सबै सचेत नागरिकको हुने मान्यता राख्दै, आयतित संस्कार र संस्कृतिमा रमाइरहेका युवाहरूलाई आफ्नो मौलिक कला, संस्कृति र पहिचानबारे अवगत गराउने मात्र नभइ प्रत्यक्ष अनुभव दिलाउने उद्देश्यले चन्द्रागिरी–९, मच्छेगाउँमा हरेक वर्ष लाखे नाचको आयोजना हुँदै आएको छ । यसैक्रममा, यो वर्ष पनि लाखेनाच कार्यक्रम हुने भएको छ ।

ncell

चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरी र नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले शुक्रबार आयोजित एक कार्यक्रममा ‘राष्ट्रिय लाखे नाच प्रदर्शन सांस्कृतिक तथा सम्मान कार्यक्रम २०८२’ को ब्यानर उद्घाटन गर्दै आगामी भदौ १४ गते मच्छेगाउँको भलिबल ग्राउन्डमा कार्यक्रम आयोजना हुने जानकारी गराए ।

नेपाल सांस्कृतिक कला मन्दिरका संस्थापक अध्यक्ष रमेश शाहीका अनुसार आफ्नो कला र संस्कृतिको संरक्षणका लागि वार्षिक रूपमा आयोजना हुँदै आएको लाखे नाच यस वर्ष पनि भव्य र सभ्य रूपमा सम्पन्न गरिनेछ । संस्थाले कला, संस्कृति र परम्परागत सम्पदा जगेर्नाको लक्ष्यसहित २०७३ सालबाट प्रमुख लाखे नाचको आयोजना सुरु गरेको थियो । निरन्तरतास्वरूप २०७४ सालमा ‘लाखे नाच सांस्कृतिक तथा सम्मान’ कार्यक्रम आयोजना गरिएको थियो, जसमा धादिङ, नुवाकोट, चरिकोट, भोजपुर, ओखलढुंगा, चितवन, गोरखा, भक्तपुर, ललितपुर र काठमाडौंसहित १४ जिल्लाबाट उल्लेखनीय सहभागिता जनाइएको थियो । 

गत वर्षका कार्यक्रमहरूमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्ने परम्परा पनि संस्थाले कायम राखेको छ। यसअन्तर्गत अभिनेता राजेश हमाल, निखिल उप्रेति, हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, केदार घिमिरे, शैलेन्द्र सिंखडा, उत्तम केसी, दिपाश्री निरौला, नृत्य निर्देशक कमल राई, कविराज गहतराज, वीरेन्द्र हमाल, कोरियोग्राफर कृष्ण रसाल, पत्रकार सानु श्रेष्ठ, गीता अधिकारी, विष्णु सुवेदी, गायिका सहिमा श्रेष्ठ, गायक पदम राईलगायत दर्जनौं व्यक्तित्व सम्मानित भइसकेका छन् । 

यस वर्षको कार्यक्रम पनि सांस्कृतिक विविधता प्रदर्शन गर्ने, परम्परागत लाखे नाचको महत्व उजागर गर्ने र प्रतिष्ठित व्यक्तित्वलाई सम्मानित गर्ने उद्देश्यका साथ सम्पन्न गरिने बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर