२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

सर्लाहीको चुरे क्षेत्रमा यातायात ठप्प, दैनिकी कष्टकर

shivam cement
घनश्याम बलम्पाकी
२०८२ साउन ३० गते २०:१९
सर्लाहीको चुरे क्षेत्रमा यातायात ठप्प, दैनिकी कष्टकर

सर्लाही : केही दिनको लगातार वर्षाका कारण सडकहरू क्षतबिक्षत भएपछि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौं बस्तीका नागरिक कष्टकर जीवन जिउन बाध्य भएका छन् । 

वर्षाले जिल्लाको इश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरे क्षेत्रमा पर्ने सडकहरू बिग्रँदा एक बस्तीबाट अर्को बस्तीसम्म आवत–जावत गर्न पनि मुस्किल परेको स्थानीयवासीको गुनासो छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका धेरै गाउँका बासिन्दाले पैदल मात्र हिँड्न सक्ने भएपनि मोटरसाइकल, जीप, बसलगायतका सवारी साधन भने चल्न नसकेको स्थानीयले बताएका छन् । 

दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न मानिसले नै बोकेर ढुवानी भइरहेको लालबन्दी–१३ का वडाध्यक्ष शिवकृष्ण वैधले जानकारी दिए । सडक सञ्जाल नै नजोडिएको सर्लाहीको लालबन्दी नगरपालिका–१२, १३, १४, १५, इश्वरपुर–१२, हरिवन–१ र बागमती–१ मा तीन महिनादेखि यातायात साधन नचल्दा त्यस क्षेत्रका बासिन्दाको दैनिकी झनै कष्टकर भएको छ ।

लालबन्दी नगरपालिकामा पर्ने लखन्देही र बाहुनी खोलामा आएको बाढीले बाटो बिगारेपछि गएको जेठ महिनादेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । खोलामा पानी कम भएको बेला व्यवसायीहरूले मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामाग्री ढुवानी गर्दै आएका छन् । तर यात्रुवाहक बस भने जेठ महिनादेखि पूर्ण रूपमा ठप्प छ । चाडपर्व नजिकिँदै गर्दा वर्षाले बाटो बिगारेपछि चुरेवासीको यस वर्षको चाडबाड खल्लो हुने हो कि भन्ने चिन्ता रहेको लालबन्दी–१४ नारायणखोलाका स्थानीय पर्ण लुंगेलीले बताए ।

लालबन्दी नगरपालिका–१४ नारायणखोलाबाट पत्थरकोटसम्म आउँदा खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता छ । सवारी साधन नचल्दा नारायणखोलाको माथिल्लो भेगका बासिन्दाले लालबन्दी बजारसम्म पुग्न चार–पाँच घण्टा पैदल हिँड्नु्पर्ने अवस्था छ । पत्थरकोटबाट लालबन्दीसम्म अटोरिक्सा लगायतका सवारी साधन चले पनि गाउँबाट पत्थरकोटसम्म आइपुग्न पनि चार–पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको लालबन्दी–१२ का हरी गुर्मछानले बताए । 

चुरे भेगमा अहिले दिनहुँजसो पानी पर्नुका साथै खोलामा बाढी आउँदा बजारसम्म किनमेल गर्न पत्थरकोटसम्म पैदल हिँडेर आउन पनि समस्या भइरहेको छ । गाडी नचल्दा विद्यार्थीलाई विद्यालय जान, बिरामी पर्दा उपचारका लागि लालबन्दी आउन तथा अन्य आवश्यक कामका लागि आउजाउ गर्न गाह्रो भएको छ । खोलामा बाढीले गर्दा नारायणखोलासम्म मोटरसाइकल समेत लिएर जान सक्ने अवस्था नरहेको स्थानीय आरएन सिंतनले बताए । यिनै कारणले जिल्लाको चुरे क्षेत्रका सर्वसाधारणको दैनिकी अहिले निकै कष्टकर बनेको स्थानीयवासीको गुनासो छ ।

ADV

सम्बन्धित खबर

Advertise