काठमाडौंः नेकपा (एकीकृत समाजवादी) ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियतासहित वरिष्ठ नेताको जिम्मेवारी दिएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले वामदेवलाई पार्टीको तेस्रो वरियतासहित वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णय सुनाउँदै पार्टीका प्रवक्ता प्रकाश ज्वालाले साथै गौतमलाई केन्द्रीय विभागहरुलाई संयोजन गर्ने जिम्मेवारी समेत दिएको छ । त्यस्तै नेकपा एकता राष्ट्रिय अभियानबाट आएका अन्य तीन जनालाई पोलिटब्युरो सदस्य, ९ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय भएको बताए । वामपन्थी पार्टीहरुसँग भइरहेको एकताको प्रगति, रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भका बारेमा पनि छलफल भएको बताए। बैठकमा अध्यक्ष नेपालले बैठकमा सरकार असफल भएको निष्कर्ष निकालेको बताए ।
समाजवादी मोर्चालाई प्रभावकारी रुपमा सञ्चालन गर्नेबारे छलफल भएको बताए । उनकाअनुसार पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा आत्मालोचना प्रस्ताव पेस गरेको र आगामी दिनमा यस्ता कमजोरी नगर्ने प्रतिवद्धता जनाएको बताए ।
उनले भने, ‘नेकपा (एकीकृत समाजवादी) मा नेकपा एकता राष्ट्रिय अभियान एकीकृत भएपछि उहाँहरुलाई जिम्मेवारी दिने कुराको निर्णय गरियो । वामदेव गौतमलाई पार्टीको तेस्रो नेताको वरिष्ठ नेताको जिम्मेवारी दिने, सम्पूर्ण केन्द्रीय विभागहरुलाई संयोजन गर्ने जिम्मेवारी दिने । तीन जनालाई पोलिटब्युरो सदस्य, ९ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ । समसामयिक राष्ट्रिय विषयहरु, रामकुमारी झाँक्रीको आत्मालोचनाको विषय, विभिन्न वामपन्थी पार्टीहरुसँग रहेको प्रगतिबारे जानकारी, रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भका बारेमा छलफल भएको छ ।
नेकपा (माओवादी केन्द्र) नेकपासँग पनि अन्तर पार्टी सम्बन्ध सुदृढ गर्नेबारे छलफल भएको बताए । स्थायी कमिटी भदौ २५, पोलिटब्युरो भदौ २६ र केन्द्रीय कमिटीको पूर्ण बैठक भदौ २७ र २८ गते बस्ने पनि जानकारी दिए ।