काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई संसदीय गतिविधिमा सहभागी हुन आग्रह गरेका छन् ।
सभामुखसँग शुक्रबार सिंहदरबारमा भदौ महिनाको कार्यसूचीबारे छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले सभामुखसँग कार्यसूचीका बारेमा छलफल भएको र १५ दिनको कार्यसूची तयार पारेको जानकारी दिए । सभामुखसँगकै छलफलका क्रममा रास्वपालाई संसद्को गतिविधिमा सहभागी हुन आग्रह गरेको उनले बताए ।
संसद्ले बैठक बहिष्कार गर्दा पनि रास्वपा सांसदहरुलाई भत्ता दिइरहेको भन्दै नैतिकता देखाउन पनि संसदीय गतिविधिमा सरिक हुन आग्रह गरिएको बताए । संसदको सदस्य भइसकेपछि संसदीय गतिविधिमा भाग लिनु दायित्व र जिम्मेवारी भएको उनले बताए ।
संसदीय गतिविधिमा नैतिक जिम्मेवारी लिएर पनि भाग लिन आग्रह गरेको उनले बताए ।