२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

४० वर्षमा ४०९ मूर्ति हराए

shivam cement
२०८२ साउन ३० गते ०६:३५
४० वर्षमा ४०९ मूर्ति हराए

काठमाडौं : नेपालबाट विगत ४० वर्षमा ४ सय ९ मूर्ति हराएको आधिकारिक तथ्यांक छ । पुरातत्व विभागको सूचना अभिलेखमा २०४२ सालदेखि गत २०८१ सालसम्म नेपालबाट ४ सय ९ वटा मूर्ति हराएको भनेर निवेदन परेको उल्लेख छ । मूर्ति हराए तापनि निवेदन नदिने वा नपर्ने अवस्था कायमै रहेकाले कति समयमा कति मूर्ति हराए यकिन भन्न नसकिने पुरातत्व विभागका अधिकारी बताउँछन् । 

नागरिकहरूले स्थानीय सरकार, जिल्ला प्रहरी कार्यालयमा समेत मूर्ति हराएको उजुरी दिने गरेका छन् । कतै उजुरी नगरेर बसेकाको संख्या एकातिर धेरै हुन सक्छ भने अर्कातिर पुरातत्व विभागसम्म उजुरी र निवेदन नपुग्ने अवस्थासमेत छ । तथापि, ४० वर्षमा ४ सय ९ वटा मूर्ति हराएको तथ्यांक भने आधिकारिक र यकिन तथ्यांक हो । 

सरकारी अधिकारीहरूका अनुसार नेपालमा बेलाबेला राजनीतिक परिवर्तन र अस्थिरता हुँदा थुप्रै मूर्ति विदेश लगेर बेचिएको हुन सक्ने शंका गर्छन् । 

पुरातत्व विभागले प्रमाणसहित हराएका मूर्तिको उजुरी लिएर त्यसको खोजी गर्ने गरेको छ । खोजीका लागि परराष्ट्र मन्त्रालयमार्फत राजदूतावास कार्यालय पठाउने र फिर्ताको पहल लिने कार्य हुँदै आएको छ ।

पुरातत्व विभागको सूचना अभिलेखमा उल्लेख भएअनुसार नेपालबाट विदेशमा बेचिएका १ सय ९८ मूर्ति फिर्ता भएका छन् । यी मूति विभिन्न देशमा चोरी तस्करी भएर पुगेका हुन् । यकिन तथ्यांकमा उल्लेख भएअनुसार नेपालबाट हराएका ४ सय ९ मूर्तिमध्ये १ सय ९८ मूर्ति फिर्ता भएका हुन् । 

परराष्ट्र मन्त्रालयका अनुसार सूचना प्रविधिको विकाससँगै नेपालका मूर्ति विदेशमा रहेको पत्ता लाग्न थालेको र फिर्ताको पहल लिनमा समेत सहजता भएको छ । नेपालबाट बेचिएका मूर्ति युरोप, अमेरिकालगायतका देशमा अध्ययन, भ्रमण र कामको सिलसिलामा पुगेका नेपालीहरूले देखेपछि नेपाल सरकारलाई जानकारी गराउन थालेपछि फिर्ताको पहल सहज भएको हो ।

विगतमा नेपालीहरू विदेश कमै जान्थे । पछिल्लो तीन दशकमा नेपालीहरू काम गर्न र पढ्न विदेश जाने क्रम बढेको छ । यससँगै विदेशमा बेचिएका नेपाली मूर्ति भेटिन थालेका हुन् । नेपालबाट बेचिएका मूर्तिहरूमा ऐतिहासिक र प्राचीन रहेका छन् । विदेशमा रहेका नेपालीहरूले देखेका नेपालबाट बेचिएका मूर्तिको फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने गरेका छन् । यसले पनि नेपाल सरकारलाई नेपालबाट बेचिएका मूर्ति फिर्ताका लागि पहल लिन सहज भएको छ । 

पुरातत्व विभागको अभिलेखमा उल्लेख भएअनुसार फ्रान्स, स्विट्जरल्यान्ड र सिंगापुरलगायतका देशबाट मूर्ति फिर्ता भएका छन् । फिर्ता भएका १ सय ९८ मूर्तिहरूमा पत्थर, काठ, धातुका मूर्ति, टुँडाललगायत रहेका छन् । जो लिच्छविकालीन, मल्लकालीन, शाहकालीन रहेका छन् । 

गत चैत १७ गते विदेशबाट फर्काइएका २१ वटा मूर्ति पाटन संग्रहालय र राष्ट्रिय कला संग्रहालयलाई हस्तान्तरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालबाट चोरी भएका मूर्ति जहाँ भए पनि फिर्ता ल्याउन पहल लिने प्रतिबद्धता जनाएका थिए ।

नेपालको सम्पदा संसारको जुनसुकै कुनामा पुगे तापनि नेपालीले हाम्रा आफ्ना सम्पदा चिन्ने उल्लेख गर्दै उनले भनेका थिए, ‘ नेपालीले आफ्ना सम्पदाको महत्व जान्दछन् र त्यसलाई फर्काएर ल्याउने कुरामा संसारभरि फैलिएका नेपालीले योग्यता राख्छन् ।’ 

मन्त्री पाण्डेका अनुसार नेपालको सम्बन्ध विश्वव्यापी छ । नेपालको कूटनीतिक सम्बन्ध पनि अधिकांश देशमा छ । यसकारण मूर्ति फिर्ताका लागि थाहा पाएपछि सरकारले नै पहल लिने मन्त्री पाण्डेको प्रतिबद्धता छ । 

पुरातत्व विभाग पर्यटन मन्त्रालय मातहत छ । जसले बेलायत, अस्ट्रिया, अमेरिका, चीन, तिब्बत, भारत, जर्मनी, अस्ट्रेलिया र इटालीलगायतका देशमा नेपालबाट मूर्ति पुगेको हुन सक्ने भनेर अध्ययनसमेत गरेको छ । 

ADV

सम्बन्धित खबर

Advertise