काठमाडौं : एनआईसी एसिया क्यापिटलले ‘एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ ल्याउने भएको छ । क्यापिटलले साउन २९ गतेदेखि निष्काशन गर्न लागेको यो योजना दोस्रो खुल्लामुखी योजना हो ।
‘एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ नेपालमा सञ्चालित खुलामुखी म्युचुअल फण्डहरु मध्ये पहिलो पटक ‘मिनी एसआइपी’ तथा सिस्टमेटिक ट्रान्सफर प्लान जस्ता विशेषताहरू समावेश छ । यस योजनाको संकलित रकम मध्ये अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचिकृत कम्पनीहरू मध्ये भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरू छनौट गरी लगानी गरिने जनाइएको छ ।
यस योजनामा संकलित रकम लगानी गर्दा २० देखि ७५ प्रतिशतसम्म प्राथमिक शेयर निष्काशन गरेका कम्पनी र धितोपत्रको दोस्रो बजारमा सूचिकृत कम्पनीहरूमा, योजना आकारको बढीमा १५ प्रतिशत रकम स्थिर आय हुने उपकरणहरूमा तथा १५ प्रतिशत रकम माग तथा अल्प सूचनामा आय हुने उपकरणहरूमा लगानी गरिने जनाइएको छ ।
एनआईसी एसिया क्यापिटलले हाल सञ्चालन गरिरहेका म्युचुअल फण्ड योजनाहरूको नियमित रूपमा उचित प्रतिफल वितरण गर्न सफल भएको छ । यस योजनामा व्यवस्थित तथा नियमित रूपमा लगानी गरी उचित प्रतिफल चाहने व्यक्तिहरूका लागि लगानीको लागि उपयुक्त विकल्प रहेको क्यापिटलले जनाएको छ ।
यसका मुख्य विशेषताहरूमा लगानीकर्ताहरूले नियमित रूपमा निश्चित समयसम्म लगानी गरी पावर अफ कम्पाउण्डिङको लाभ लिन सकिनेछ । नेपालमै पहिलो पटक मिनी एसआइपी पाँच सय रुपैयाँ गर्न मिल्ने सुविधा रहेको एनआईसी एसिया क्यापिटलले जनाएको छ ।