काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको विवरण अद्यावधिक गरेको छ । आयोगले बुधबार अद्यावधिक गरेको अभिलेखमा पार्टीको केन्द्रीय समिति ६२ सदस्यीय देखिन्छ ।
अद्यावधिक विवरणअनुसार कविन्द्र बुर्लाकोटी महामन्त्री बनेका छन् भने मनिष झालाई प्रवक्तामा पदोन्नति गरिएको छ । सहमहामन्त्री एक मात्र रहेका छन् । सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएपछि उनी हाल केन्द्रीय सदस्य मात्र छिन् ।
नयाँ सूचीमा योजना आयोगका पूर्व सदस्य अरनिको पाँडे पनि समावेश छन् ।
यसअघि पूर्वमहामन्त्री मुकुल ढकालले आयोगले पदाधिकारी हेरफेर नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, मंगलबार सर्वोच्चले उनको रिट खारेज गरेपछि आयोगले रास्वपाको विवरण अद्यावधिक गरेको हो ।
अद्यावधिक सूचीमा सह-कोषाध्यक्षको जिम्मेवारीबाट दीपक बोहरालाई हटाएर केन्द्रीय सदस्यमा सीमित गरिएको छ । सह-कोषाध्यक्षमा अब बसुमाया तामाङ मात्र रहेकी छन्, जबकि कोषाध्यक्षमा लिमा अधिकारी छन् । बोहोराको नाम सहमहामन्त्रीका लागि प्रस्ताव भएको भए पनि यसबारे निर्णय भइसकेको छैन ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ र नियमावली २०७४ को नियम २५ बमोजिम रास्वपाले पेश गरेको विवरण अभिलेखीकरण गरी पार्टीलाई जानकारी उपलब्ध गराउने निर्णय गरेको हो ।