काठमाडौँ : म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन–१७) का बान्टमवेट च्याम्पियन, नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
भारतलाई हराउँदै उपाधि जितेका ढाँटलाई प्रोत्साहनस्वरूप ५ लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई ५ लाख र उनका प्रशिक्षकलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको बताए ।
पहिलोपटक नेपाललाई यो उपाधि दिलाउन सफल ढाँटलाई प्रधानमन्त्री ओलीले बधाई दिएका छन् । यसअघि मंगलबार काठमाडौं महानगरले उनलाई २ लाख रुपैयाँ प्रदान गरेको थियो । यस्तै, बझाङका विभिन्न स्थानीय तहहरूले समेत नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेका छन् ।
साउन १७ गते राति भारतको नोयडामा भएको प्रतिस्पर्धामा भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै ढाँट एमएफएन बान्टमवेट च्याम्पियन बनेका थिए ।